लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्र विज्ञान सप्ताह, विश्व रेकर्ड राख्ने दाबी

लुम्बिनीमा ५ हजार जनाको सहभागितामा विराट चक्र विज्ञान सप्ताह, विश्व रेकर्ड राख्ने दाबी

 

बुटवल – अन्तरनिहीत शक्तिलाई जगाउँदै मानवमा आध्यात्मिक जागरण ल्याउने उद्देश्यसहित लुम्बिनीमा यही चैत तेस्रो साता विराट चक्र विज्ञान सप्ताह आयोजना गरिएको छ ।

विज्ञापन

जीवन विज्ञान प्रतिष्ठान लुम्बिनीले चैत १७ गतेदेखि २३ गतेसम्ममा विराट चक्र विज्ञान सप्ताह तथा लुम्बिनी जागरण उत्सव गर्न लागेको हो ।

सप्ताह ध्यान तथा साधनामुखी कार्यक्रम हो । सप्ताहमा विश्वका १५ राष्ट्रसहित देशका ७७ वटै जिल्ला र ७५३ स्थानीय तहका गरी ५ हजार १ जनाको सहभागिता रहनेछ ।

कार्यक्रम महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा बनेको अन्तर्राष्ट्रिय ध्यान कक्षमा सञ्चालन हुनेछ । कार्यक्रमका लागि तीव्रताका साथ तयारी भइरहेको छ ।

सम्मेलनको बारेमा जानकारी दिन आइतबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जीवन विज्ञान परिषद् लुम्बिनीका संयोजक केशव खनालले अहिलेसम्मकै धेरै एकसाथ ५ हजार जनाको सहभागिता हुने सप्ताह पहिलो रहेको बताए ।

सप्ताहले विश्व रेकर्ड राख्ने समेत खनालको दाबी छ । सातवटा ध्यान ऊर्जासहित प्रयोगात्मक कक्षा सञ्चालन हुनेछन् ।जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ एलपी भानु शर्मा र रमेश नेपालबाट प्रशिक्षण हुनेछ । कार्यक्रममा सहभागीहरूलाई खानाको व्यवस्था आयोजकले गरेको छ भने बस्ने व्यवस्था आफैं मिलाउनुपर्ने हुन्छ ।

चक्र विज्ञान योगाभ्यासमा सहभागी हुने ५ हजार मध्ये ५९ प्रतिशत महिला र ४१ प्रतिशत पुरुष हुने परिषद्की नवलपरासी संयोजक इन्दिरा विश्वकर्माले जानकारी दिइन् । आर्थिक अभावमा कार्यक्रममा सहभागी हुन नसक्नेलाई सहुलियत वा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको जीवन विज्ञानका शिक्षा विकास संयोजक हरि पोखरेलले बताए ।