सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारलाई बुटवलमा क्षमता विकास सम्बन्धि ३ दिने तालिम शुरु
बुटवल – सहिद स्मृति प्रतिष्ठान नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहयोगमा सहिद बेपत्ता तथा घाइते, अपाङ्ग परिवारलाई क्षमता विकास तालिम बिहीबारदेखि बुटवलमा सुरु भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष वामदेव क्षेत्रीले बोल्दै शान्ति प्रक्रिया, सत्य निरुपण, मेलमिलाप र बेपत्ता आयोगका कतिपय मुद्दाहरु राज्य पक्षले अझै पनि टुङ्याउन नसकेको बताए । उनले राज्य पक्षबाट र विद्रोही पक्षबाट भएका घटनाहरुलाई सहकार्य गर्न आग्रह गरें । उनले जनयुद्ध तत्कालीन अवस्थामा राज्य पक्षसंग गणतन्त्र ल्याउनका लागि भएको बताउँदै टिआरसी टुङ्गिएन भने देश कम्बोडिया हुने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व सदस्य दीपा विश्वकर्माले बोल्दै सहिद परिवारका सदस्यहरुलाई तालिमपश्चात प्राप्त गरेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न आग्रह गरिन् ।
नेकपा माओवादी केन्द्रका रुपन्देही अध्यक्ष निर्मल जिसीले जनयुद्धमा अपाङ्ग तथा घाईतेहरुको बलिदानीबाट परिवर्तन आएको बताउँदै तालिम लिन आउने सबै सहभागीहरुलाई जनयुद्धको विचार, संकल्प र लक्ष्यलाई पछ्याउँदै अगाडि बढ्न सुझाव दिए ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा युवा नेता सुजित विकले पछिल्लो समय कानूनलाई दुरुपयोग गर्ने वातावरण बढेकोले सुक्ष्म तरिकाले पाठ्यक्रममा नै कानूलाई समावेश गरियो भने समस्या तथा अपराधको सजाय कम भई राज्यका कैयौ दुर्घटनाहरु नहुने बताए ।
सहिद परिवार रुपन्देहीका अध्यक्ष शिवप्रसाद घिमिरे, द्वन्द्व पीडित समाज लुम्बिनी प्रदेशका अध्यक्ष जानकी घिमिरे लगायतले बोलेका थिए भने तीन दिन सम्म सञ्चालन हुने कार्यक्रममा सहिद, वेपत्ता तथा घाइतेका परिवारको क्षमता विकास तालिममा ६० जना सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम प्रतिष्ठानका अध्यक्ष हरि प्रसाद घिमिरेको अध्यक्षता , उपाध्यक्ष मनोज कुमार रानाको स्वागत मन्तव्य तथा सचिव दामोदर घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्