सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट

सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर आठ घर गोठ जलेर नष्ट

सल्यान, १९ बैशाख

सल्यानमा जंगलमा लागेको आगो नियन्त्रण बाहिर रहँदा  आठ घर गोठ जलेर नष्ट भएका छन।

जिल्लाको  छत्रेश्वरी गाउँपालिका वडा नं ५  लेखपोखराको  सामुदायिक  बनमा लागेको आगो  नियन्त्रण भन्दा बाहिर आएपछि  बस्तीमा पस्दा ८ घरगोठ जलेर नष्ट भएका हुन।

सामुदायिक वनमा  फैलिएर आगो  बस्तीमा पुग्दा जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ५ दियार गाउँमा ५ घर र ३ गोठ  जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दिउँसो महेन्द्र बहुमुखी सामुदायिक बनमा  भएको आगलागी  सल्कदै गाउँसम्म पुग्दा स्थानीयहरुको घर तथा गोठहरुमा क्षति पुर्याएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका  अनुसार छत्रेश्वरी ५ दियारगाउँ बस्ने थल बहादुर घर्तिको कच्ची घर, मोहन वलीको २ वटा कच्ची घर, टोकाराम वलीको कच्ची घर, प्रेम वलीको कच्ची घर तथा सर–सामानहरु जली पूर्ण रुपमा नष्ट भएकाे जानकारी दिएको छ।

यस्तै सोही ठाउँ निवासी धन बहादुर घर्ती, शेर बहादुर वली र खुम बहादुर वलीको गोठ पनि जलेर पूर्ण रुपमा नष्ट भएका छन ।आगलागीका कारण केही बस्तुभाउ समेत जलेर मरेका छन् ।

जिल्लाका अरु वनक्षेत्रमा लागेको आगो पनि अझै नियन्त्रणमा आउन सकेको छैन् ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता