जनयुद्ध’को पहिलो सहिद रम्तेलको सम्झनामा बुटवलमा स्मृती सभा

जनयुद्ध’को पहिलो सहिद रम्तेलको सम्झनामा बुटवलमा स्मृती सभा

 

बुटवल – तत्कालीन नेकपा (माओवादी )द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका दिलबहादुर रम्तेलको २९ औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा बुटवल सहित देशभर विभिन्न कार्यक्रम सम्पन्न भएको छ ।

विज्ञापन

आज भन्दा २९ वर्ष अगाडि गोरखाको पुन्द्रुङ स्थित ब्रम्हाचारिणी निमाविको कक्षा ४ मा पढ्ने ११ वर्षीय विद्यार्थी रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाता भित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको रुपमा सम्मान गर्ने गरेको छ ।
यसै विच नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालीकाको आयोजनामा सोमवार २९ औं दिलबहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको अवसरमा पार्टी कार्यालयमा स्मृती सभा कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले सहिद रम्तेलको सम्झना र योगदानको चर्चा गरेका थिए ।सहिदहरुको बलिदानीले नै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन सफल भएको भन्दै जनयुद्धबाट प्राप्त भएका उपलव्धीहरुलाई रक्षा गर्न माओवादी पार्टी नै चनाखो हुनुपर्ने बताए । सहिदको सपना पुरा नभएकाले फेरी एकपटक परिवर्तनकारी क्रान्तिकारीहरु एउटै छातामुनी संगठित हुनु पर्ने भन्दै सामाजिक न्याय,सुशासन र संमृद्धिका लागि माओवादी पार्टीले आफनो एजेण्डालाई स्थापित गर्न सडक,सदन र कलम मार्फत जनताका आवाजलाई बुलन्द पार्न कन्जुसाई गर्न नहुनेमा जोड दिए ।

सोही कार्यक्रममा प्रदेश सदस्यहरु सुजित विक , दिपा विक पुष्पराज ढकाल, मणि भटटराई ,गोपाल रेस्मी ,खड्क कौशल, लिलाधर खनाल लगाएत नेता कार्यकताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै सहिद सप्ताहको अवधिमा उपमहानगरपालीका भित्र रहेका सहिद परिवारलाई भेटघाट गर्ने तथा विविध रचनात्मक कार्यक्रम गरि २१ गते जनयुद्धका उपलव्धि विषयक अन्तरक्रिया गर्ने माआवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुषालले जानकारी दिए ।

जनयुद्धका प्रथम सहिद र झापा विद्रोहका योद्धाहरु नेत्र घिमिरेसहित ४ जनालाई सुखानीको जंगलमा लगेर गोली हानी हत्या गरेकोे २०२९ फागुन २१ गतेको सम्झनामा फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने गरिन्छ । जनयुद्धकै क्रमबाट यो दिवस मनाउन थालिएको हो । माओवादीले झापा विद्रोह, जनयुद्ध लगायत परिवर्तनको आन्दोलनमा बलिदान गर्ने सबै सहिदहरुको सम्झनामा यस अवधिमा विभिन्न कार्यक्रम गर्ने गरेका छन् ।

कार्यक्रम नेकपा माआवादी केन्द्र बुटवलका अध्यक्ष महेन्द्र भुषालको अध्यक्षता तथा लाल ब थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।