बडादशैँ सुरु, आज घर घरमा जमरा राखिँदै, साइत कति बजे ?

बडादशैँ सुरु, आज घर घरमा जमरा राखिँदै, साइत कति बजे ?

बुटवल – नेपालीहरुको महान चाड बडा दशैँ सुरु भएको छ । बडा दशैँको पहिलो दिन आज आइतबार घर घरमा जमरा राखिँदैछ ।

जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।

विज्ञापन

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौँ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलको रूपमा प्रयोग गर्ने चलन छ ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ । त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ ।

घटस्थापनाको पहिलो दिन झिसमिसेमै आत्माशुद्धि पछि नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट वालुवा या माटो ल्याई जमरा राखिन्छ । जमरा राख्नुपूर्व पूजा कोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ । नेपाल पञ्चाङ्ग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थपना गर्ने साइत बिहान ११ बजेर २९ मिनेटमा परेको छ ।

यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली महालक्ष्मी, महासरस्वती लगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ ।

घटस्थापनाका दिन दुर्गापूजासँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन छ। विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रीको भनाइ छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

विजयादशमीको साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा

नवरात्र भनेर समेत चिनिने दसैँ नौ रात र दश दिनको हुन्छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक ७ गते गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गर्ने गरिन्छ ।

कात्तिक ७ गते देवी विसर्जनको साइत बिहान १० बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहणका लागि साइत खोज्नेका लागि भने ११ बजेर २ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद लगाउने चलन छ ।

विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रीमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ ।

यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धन धान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा विसर्जन गरिन्छ ।