संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

संघीयता कार्यान्वयनमा समस्या : नेता पुन

 

बुटवल — नेकपा माओवादी केन्द्र रुपन्देही इन्चार्ज गणेशमान पुनले संघीयता कार्यान्वयनको आठ वर्ष पुग्दासम्म पनि मर्मअनुसार काम गर्न नसकेको बताएका छन् । यसले नागरिकमा निराशा पैदा भएको र परिवर्तनको आभास गर्न नसकिएको उनले दाबी गरे । संघीयतालाई सुदृढीकरण गरी नेपाली विविधता अनुसारका प्रक्रिया अपनाउनुपर्ने उनको सुझाव छ ।

विज्ञापन

नेकपा माओवादी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै इन्चार्ज पुनले संघीयता सुधारका लागि सबैभन्दा पहिले राजनीतिक उत्तरदायित्व र स्थिरता आवश्यक रहेकोे जनाए । उनले संविधानले व्यवस्था गरेका विकेन्द्रित विषय प्रदेश र स्थानीय तहसम्म ल्याउने उपलब्धिलाई संस्थागत गर्ने नागरिकले परिवर्तन महसुस गर्नेगरी काम गर्न जरुरी रहेको उनले बताए ।

नेता पुनले संघीयताको नयाँ संरचना प्रदेशलाई प्रभावकारी बनाउनु पर्ने बताए । अधिकार विकेन्द्रितमा संघीय सरकार लचिलो नहुने र प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु पनि संघीय संविधानले आफूलाई दिएको अधिकारबारे केन्द्रसँग बहस गर्ने क्षमताका नहुँदा समस्या रहेकोे उनले जनाए ।

माओवादीको कारण आएको संघीयता माओवादी कमजोर भएका कारण पनि संस्थागत हुन र समृद्ध बन्न नसकेको उनले बताए । यसका लागि माओवादी सच्चिँदै जनसगठन बिस्तारमा लागेको उनले बताए ।राजनीतिमा युवा सहभागिता घट्दै गएको बताउँदै इन्चार्ज पुनले अब युवा महिला र सीमान्तकृत समुदायलाई जोड्न अभियान चलाएको बताए ।