रुपन्देहीको सैनामैनामा गाई–भैसीलाई न्यानो ओछ्यान ‘काउम्याट’

रुपन्देहीको सैनामैनामा गाई–भैसीलाई न्यानो ओछ्यान ‘काउम्याट’

२७ मंसिर २०७८

अम्बिका परियार

विज्ञापन

सैनामैना रुपन्देहीको सैनामैना नगरपालिकाले पहिलो पटक गाई–भैसींलाई न्यानो ओछ्यानमा सुत्न म्याट वितरण गरेको छ । नगरपालिकाको समन्वयमा पशु विकास शाखाले साना कृषि औजार तथा यन्त्र उपकरण अन्तर्गत आइतबार पचास प्रतिशत अनुदानमा यहाँका २१ जना व्यवसायिक कृषक फर्महरुमा रहेका गाई–भैसींलाई ओछ्याउन १ सय ९८ वटा ‘काउ म्याट’ वितरण गरेको हो ।

उक्त ‘काउ म्याट’ वितरण गरेपछि फर्ममा रहेका गाई–भैसीं जाडोयामको समयमा न्यानो ओछ्यानमा सुत्न पाउने भएका छन् । त्यसैगरी शाखाले २० जना कृषकहरुलाई २० वटा विद्युतीय च्यापकटर पनि वितरण गरेको छ । कृषकहरुलाई उक्त च्यापकटर र म्याट वितरण गर्दै सैनामैना नगरपालिका प्रमुख चित्र बहादुर कार्कीले व्यवसायिक कृषि पेशा गर्ने किसानका लागि सहयोग पुग्ने अपेक्षा गरे ।

११ लाख बराबरको ५० प्रतिशत अनुदानमा उक्त कृषि औजार वितरण गरिएको बताउँदै च्यापकटरले घाँस पराल काट्न र म्याट ओछ्याएपछि गाईलाई न्यानो हुने, बिरामी नहुने र भर्खर जन्मेका बाछाबाछी, पाडापाडीलाई पनि धेरै सहयोग पुग्ने प्रमुख कार्कीको भनाई छ । नगरका ११ वटै वडामा पशुपालन गर्दै आएका व्यवसायिक फर्महरुलाई गाई–भैंसीका लागि आवश्यक पर्ने घाँस र पराल काट्न सहज होस् भन्ने उद्देश्यले उक्त च्यापकटर र न्यानो ओछ्याउनमा सुत्नका लागि अनुदानमा म्याट वितरण गरिएको पशु विकास शाखा प्रमुख इन्द्र बहादुर खड्काले बताए । उनका अनुसार किसानलाई पशुपालन व्यवसाय गर्न उत्प्रेरणा जगाउने हेतुले उक्त म्याट वितरण गरिएको हो ।

पशुपालक कृषक फर्महरु मध्ये छनोटमा परेका कृषकहरुलाई मात्र उक्त च्यापकटर प्रदान गरिएको नगरपालिकाले जनाएको छ । जसमध्ये कृषि औजारका लागि ३५ जनाको निवेदन पेश भएकोमा २० जना मात्र छनोटमा परेका हुन् । नगरमा पहिलोपटक काउम्याट वितरण गरिएको बताउँदै खड्काले आगामी वर्ष पनि कृषि औजार वितरण कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत हेमराज अर्यालले कृषि औजारलाई सदुपयोग गर्दै कृषकहरु प्रविधिसँग जोडिदैं व्यवसायिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । कृषक सुरेन्द्र प्रसाद रेग्मीले व्यवसायिक पशुपालक कृषकहरुले काउ म्याट पाउनु खुसीको कुरा भएको भन्दै यसले किसानलाई उत्साहित बनाएको बताए । सैनामैना नगरपालिका परिसरमा भएको कार्यक्रमको सञ्चालन कृष्ण कुंवरले गरेका थिए । नगरपालिले विभिन्न समयमा यहाँका कृषकहरुलाई यन्त्र तथा उपकरण वितरण गर्दै आएको छ ।