ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

सल्यानमा पढाई सुधार्न अभिभावक र विद्यार्थीलाई उत्प्रेरक परामर्श

 

सल्यान, १७ बैशाख ।

विज्ञापन

सल्यानको लेखपोखरामा विद्यार्थी र अभिभावकलाई उत्प्रेरक परामर्श गरिएको छ । शिक्षक र बिद्यार्थीको सम्बन्ध, पढाइ प्रतिको रुचि विकास, सहि संगत र विद्यार्थीप्रती अभिभावकको दायित्व र व्यवहारका बिषयमा उत्प्रेरक कक्षा संचालन गरिएको हो ।

छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ को आयोजनामा सोमबार भएको कार्यक्रममा उत्प्रेरक वक्ता रविकिरण श्रेष्ठले विद्यार्थी र अभिभावकहरुको लागि छुट्टाछुट्टै परामर्श गर्नुभएको हो ।

कार्यक्रममा बिद्यालयका शिक्षकहरुको पनि सहभागीता रहेको थियो । दुईवटा माध्यामिक र एउटा आधारभुत बिद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थी र उनिहरुका अभिभावकहरुलाइ उत्प्रेरक परामर्श गरिएको वडा अध्यक्ष फौद बहादुर बस्नेतले जानकारी दिनुभयो । विद्यार्थीको सफलताका पछाडि अभिभावकको पनि महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले छोराछोरीलाई सही बाटो हिडाउन अभिभाकवको भूमिका प्रभावकारी बनाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बालबालिकालाई अभिभावकले पढाइमा प्रोत्साहन गर्न ऊर्जा दिनुपर्ने र सधैँ सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम उद्घाटन सत्रमा बोल्दै वडा सदस्य टंक बहादुर वली, महेन्द्र माविका विव्यस अध्यक्ष शिव प्रसाद खत्री, त्रिभुवन जनता माविका प्रअ घनश्याम वली, महेन्द्र माविका शिक्षक मान बहादुर केसी, कालिका आविका प्रअ बालाराम वली लगाएतकाले बोल्दै विद्यार्थीको क्षमता उजागर गर्न अभिभावक सचेत बन्नुपर्नेमा जोड दिएका थिए । उत्प्रेरक कक्षामा सहभागि भएपश्चात त्रिभुवन जनता माध्यमिक बिद्यालय लेखचौरपानीमा कक्षा ८ मा अध्ययनरत छात्रा चन्द्रकला वलीले आफुले पहिलो पटक यस्तो कक्षा लिएको भन्दै गलत संगत गर्न नहुने, सकारात्मक सोँच राख्नुपर्ने लगाएतका धेरै विषयमा जानकारी पाएको बताउनुभयो ।

विद्यार्थीको पढाई संगै वडाको शैक्षिक अवस्था सुधारका लागि टेवा पुग्ने उद्देश्य सहित अनुभवि उत्प्रेरक वक्ता मार्फत परामर्श कक्षा सञ्चालन गरिएको वडा सचिव दुर्गा बहादुर केसीले जानकारी दिनुभयो । कार्यपालिका सदस्य तिला घर्ति, वडा सदस्य डुम बहादुर खत्रीलगाएत विभिन्न विद्यालयका शिक्षकहरु पनि कार्यक्रममा सहभागि थिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता