हामी दलितहरूले भाग्यलाई सराप्ने होइन कर्मलाई विश्वास गर्दै अगाडि बढ्नुपर्छ । 

हामी दलितहरूले भाग्यलाई सराप्ने होइन कर्मलाई विश्वास गर्दै अगाडि बढ्नुपर्छ । 

अमेरिकाको शैक्षिक प्रकाशन संस्था ‘म्याक ग्र हिल’ले भर्खरै एउटा पाठ्यपुस्तक प्रकाशन गरेको छ, ‘द राइटर्स माइन्डसेट’ । विश्वका सयभन्दा बढी मुलुकका स्कुल र कलेजमा पढाइ हुने उक्त पाठ्यपुस्तकमा विष्णुमाया परियारको पनि जीवनी छापिएको छ । गोरखा ताक्लुङकी विष्णुमायासँग उनको संघर्ष र सफलताबारे संगीता पनेरूले गरेको कुराकानीको सम्पादित अंश :

हाम्रो पुख्र्यौली पेसा हो लुगा सिलाउने । बुबाआमा दिन रात मिहिनेत गर्नुहुन्थ्यो । आमाबा धेरै मिहिनेती हुनाले हामीलाई खानका लागि धेरै दुःख भएन । तर, लुगा भने हामीले जहिल्यै टालेको लगाउनुपर्‍यो । गाउँभरिका मान्छेका सिलाएका लुगाको टुक्रा गाँसेर हाम्रा लागि बाले लुगा बनाउनुहुन्थ्यो । अनेक रंगका फ्रक लगाउने भएर होला मेरो नामै ‘नौरंगी’ थियो । त्यसमा पनि त्यति धेरै पीडा महसुस हुन्थेन । धारापँधेरा, पाटीपौवा र सार्वजनिकस्थलमा छुन हुँदैन भन्दा एकदमै पीडा हुन्थ्यो । बाले यस्तो विभेदबाट मुक्त हुन मिहिनेत गरेर पढ्नुपर्छ भन्नुहुन्थ्यो । 

विज्ञापन


बुबाको ढाडसका कारण म पढाइमा सानैदेखि अब्बल थिएँ । गाउँनजिकैको विद्यालयमा ७ कक्षासम्मको पढाइ हुन्थ्यो । ८ कक्षाभन्दा माथि पढ्न चार घन्टा लाग्ने बाटो हिँडेर मनकामना हाई स्कुल पुग्नुपथ्र्यो । स्कुल टाढा भएकै कारण धेरै साथीहरू पढ्न गएनन् । तर, मैले हार मानिनँ । मेरो मनमा थियो मैले जसरी पनि पढ्नुपर्छ र हामीमाथिको विभेद अन्त्य गराउनुपर्छ । त्यसैले दैनिक चार घन्टाको यात्रा रोजेर ८ कक्षादेखि पढ्न मनकामना हाई स्कुल गएँ । लाग्थ्यो, हाई स्कुलमा त विभेद कम हुन्छ होला । पढेका गैरदलित साथीहरू बुझ्ने होलान् । तर, त्यहाँ पनि विभेद कम भएन । म खाजा खान पसलमा जान्थेँ, साथीहरू मबाट अलग्गै बसेर खान्थे । पसलमा अरू साथीहरूले खाएको प्लेट छोडेर हिँड्थे, तर मैलेचाहिँ नमाझी हिँड्न पाउँदिनथेँ । यसले एकदम पीडा हुन्थ्यो । तर, मिहिनेत गरेर पढेँ । कक्षामा सधैँ अब्बल भइरहेँ । 


विद्यालय जाँदा होस् वा फर्किँदा, पानी प्यासले मर्नु हुन्थ्यो । तर, बाटोमा भेटिएका घरमा पानी माग्दा सधैँ अञ्जुली थाप्न लगाउँथे । गिलास वा अम्खोरामा खाए छुइन्छ भन्थे । झुक्किएर छोइहाले खै केके गरेर चोख्याउँथे । मलाई अञ्जुलीमा पानी खन्याएर खानुपर्दा साह्रै पीडा र लज्जाबोध हुन्थ्यो । बरु तिर्खाले मरे मर्छु, तिनीहरूको अगाडि झुक्नुभन्दा पानी नै खाँदिनँ भनेर कैयौँ दिन पानी नखाई विद्यालय जान्थेँ ।


मैले अक्षर चिन्न थालेदेखि घोकेको शब्द हो, विद्यालय शिक्षाको मन्दिर हो । तर, त्यही घरमा मैले बारम्बार विभेद भोगेँ । शिक्षकले पढाउँदा भन्थे, ‘हामी सबैको रगत रातो हुन्छ । सबै मानिस एकै हुन् । कसैले कसैमाथि भेदभाव गर्नुहुन्न ।’ शिक्षकले भनेको उल्टो दृश्य हामीले सरस्वती पूजामा देख्नुपथ्र्यो ।विद्यालयमा सरस्वती पूजाको कार्यक्रम हुँदा हामीले कहिले पनि सरस्वतीको फोटो छुन पाएनौँ । परैबाट हेरेर नमस्कार गरेर फर्किनुपथ्र्यो । विद्यालयमा भएको पानी पनि अञ्जुलीमै थापेर खानुपथ्र्याे । तल्लो जात भनेर साथी र अप्रत्यक्ष रूपमा शिक्षकले पनि विभेद गरिरहेका हुन्थे ।


नौ कक्षामा पढ्दा ‘पिस कर्प’का एकजना शिक्षक थिए । पढाइप्रति मेरो लगाव र मिहिनेत देखेर उनले धेरै माया गर्थे । उनले बारम्बार भन्थे, ‘म तिमीलाई कुनै न कुनै ठाउँमा सहयोग गर्छु । राम्रोसँग पढ ।’सन् १९९२ मा एसएलसी पास गरेँ । त्यसपछि काठमाडौं आएर र आफन्तकोमा बस्न थालेँ । मलाई अमेरिकाको एकजना जोन भन्ने मान्छेले सहयोग गर्छु भनेका थिए । तर, जे सोचेर आएको थिएँ त्यो भएन । कामको खोजीमा लागेँ । कैयौँ दिन होटेलमा भाँडा माझेँ गार्मेन्टमा काम गरेँ । कति दिन त गार्मेन्टको चिसो भुइँमा सुतेर रात कटाएँ । 


एक दिन सोचेँ, ती जोन भन्ने मान्छेले मलाई किन आश्वासन दिए ? यसको पत्ता लगाएरै छोड्छु भनेर म फोन गर्न गएँ । तपाईंले किन आश्वासन मात्र दिनुभो भनेर सोधेँ । तर, उनले पैसा त पठाइरहेका रहेछन् । बीचमा अरू कसैले नै त्यो पैसा लिएको रहेछ । मैले पैसा नपाएको थाहा पाएपछि उनले काठमाडौंमा बसेर पढ्ने उनको साथीलाई भेट्नु भने । त्यसपछि उनले मेरा लागि सात सय डलर पठाए । सात सय डलर पैसा मेरा लागि सपनाजस्तै भयो । मेरो आत्मविश्वास झन् बढ्दै गयो । मिहिनेतमा जाँगर थपियो । मैले पद्मकन्या क्याम्पसबाट समाजशास्त्र र राजनीतिशास्त्रमा आइए सकेँ । 

 मैले टालेको फ्रक लगाउँदा साथीहरूले ‘नौरंगी’ भनेर खिसी गर्दा पढाइ छोडेको भए सायद म यो ठाउँसम्म आउन सक्ने थिइनँ होला ।

यसरी तय भयो अमेरिका यात्रा
जब म बिए पढ्दै थिएँ, इभा कासेल भन्ने एकजना आमा नेपाल आउनुभएको थियो । उहाँ मेरो साथीको आमा हुनुहुन्थ्यो । उहाँले मेरो पढाइप्रतिको लगनशीलता देखेर अमेरिका जान्छ्यौ भनेर प्रस्ताव गर्नुभो । मलाई पनि ढुंगो खोज्दा देउता मिलेजस्तो भो । अनि जान पाए त जान्थे भनेँ । नभन्दै म सन् १९९९ मा अमेरिका पुगेँ ।

मलाई अंग्रेजी भाषा राम्रो आउँदैनथ्यो । त्यसैले एक वर्ष अंग्रेजी भाषा पढेँ । त्यसपछि म म्यानर कलेजमा पूर्ण छात्रवृत्तिसहित भर्ना भएँ । अमेरिका पुगेपछि मेरो मिहिनेत चौगुणा बढेको थियो । किनकि सपना पनि देख्न छुट नभएका हामीलाई अमेरिका पुग्नु भनेको आकाशको जून छुनुजस्तै थियो । मेरो मिहिनेत र लगावका कारण म सर्वाेत्कृष्ट विद्यार्थी भएँ । कलेजको प्रेसिडेन्ट कप अवार्ड हात पारेँ । त्यसपछि मैले २००४ मा म्यानर कलेजबाटै सोसल एन्ड पोलिटिकल सिस्टममा ब्याच्लर्स डिग्री गरेँ । त्यसपछि बोस्टनको क्लार्क युनिर्भसिटीबाट छात्रवृत्तिमा स्नातकोत्तर तहसम्मको पढाइ पूरा गरेँ । 


मैले टालेको फ्रक लगाउँदा साथीहरूले ‘नौरंगी’ भनेर खिसी गर्दा पढाइ छोडेको भए सायद म यो ठाउँसम्म आउन सक्ने थिइनँ होला । चार घन्टाको बाटो र चर्का घाममा कैयौँ दिन पानीसमेत नखाई विद्यालय आउनेजाने गरेँ । मान्छे भएर पशुको जस्तो व्यवहार भोग्न मेरो मनले मानेन । मलाई मेरो बाको प्रेरणा, आमाको त्याग र मेरो जीवनको लक्ष्य सबैभन्दा महत्वपूर्ण थियो । गैरदलितले हामीलाई दलितको नाममा त्यो विभेद नगरेको भए सायद मेरो जीवनी यति महत्वपूर्ण हुन्थेन होला । त्यसो भन्दैमा दलितको नाउमा विभेद होस् भन्न खोजेको होइन । 


हामी दलितहरूले भाग्यलाई सराप्ने होइन कर्मलाई विश्वास गर्दै अगाडि बढ्नुपर्छ । हामी आर्थिक रूपले सबल र सामाजिक रूपले चेतनशील भयौँ भने हामीप्रति हेर्ने दृष्टिकोण नै फरक हुँदोरहेछ । त्यसको उदाहरण हाम्रो परिवार हो । गाउँमा हाम्रो परिवारलाई समाजले हेर्ने दृष्टिकोण र अरू सामान्य परिवारलाई हेर्ने दृष्टिकोण नै फरक छ । त्यसैले म सम्पूर्ण दलित समुदायलाई आग्रह गर्छु जीवनमा संघर्ष रोज्नुहोस् । एउटा लक्ष्य बोक्नुहोस् र लक्ष्य पूरा नहुन्जेल लडिरहनुहोस् । यसले सानोठूलो सफलता पक्कै दिनेछ । 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता