हाटबजार ठूला व्यवसायी र उद्योगपतिहरुको अभिभावक भएको प्रदेश प्रमुख शेरचनको दावी

हाटबजार ठूला व्यवसायी र उद्योगपतिहरुको अभिभावक भएको प्रदेश प्रमुख शेरचनको दावी

बुटवल-  लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले हाटबजार ठूला व्यवसायी र उद्योगपतिहरुको अभिभावक भएको बताएका छन् । उनले ठूलो महलमा बस्ने व्यापारीले भन्दा हाटबजार सञ्चालन गर्ने साना व्यवसायीहरुले बेच्ने सामानको मुल्य एकदम सस्तो रहेको बताए । उनले उपभोक्ताहरुलाई गुणस्तरीय र ताजा सामान उपलब्ध गराउने व्यवसायी हाटबजार भएको बताए ।
हाटबजार व्यवसायी संघ रुपन्देहीको १८ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनका अवसरमा बोल्दै प्रमुख शेरचनले प्राचिन कालदेखि सञ्चालन गर्दै आएको हाटबजारले विशेषगरी गाउँमा किसानहरुले उत्पादन गरेको कृषि सामाग्रीले बजार पाएको बताउँदै साना व्यवसायीको महत्वपूर्ण साथ रहेको बताए ।

‘सानो लगानी ठूलो आकांक्षा हाटबजारबाट आत्मनिर्भरता’ भन्ने मुलनारासहित स्थापित संस्था हाटबजार व्यवसायी संघको कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले व्यवसायीका मागहरु नगरपालिकाले सम्बोधन गर्ने बताए । उनले हाटबजार सञ्चालन गर्ने साना व्यवसायीहरुको शिक्षा, स्वास्थ्य र रोजगार यही व्यवसाय गरेर निर्वाह गरेको भन्दै व्यवसायीका लागि चाहिने मागहरु ल्याएमा नगरपालिकाले चासोका साथ पूरा गर्ने प्रतिवद्धता समेत बताए ।
त्यस्तैगरी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बोल्दै विदेश पलायन हुने व्यवसायीहरु अहिले हाटबजारमा रोजगार पाएको बताईन् । उनले भनिन्,‘ बुटवलको सबैभन्दा व्यवस्थित बजार बुटवल नगरपालिकाभित्रको हाटबजार हो । ’ लडियामा ल्याउने हाटबजार समय अनुसार परिवर्तन भई अहिले गाडीमा ल्याएर बिक्री गर्ने व्यवस्थामा आएको बताउँदै यसलाई अझै व्यवस्थि गर्न जरुरी रहेको बताईन् ।

विज्ञापन

कार्यक्रममा संघका अध्यक्ष टेक बहादुर जिसीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तैगरी जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक उमाकान्त चपाईं, संविधान सभा सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष वामदेव क्षेत्री, बुटवल उद्योग वाणिव्य संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, बुटवल उपमहानगरपालिकाका पूर्व नगरप्रमुख पुनाराम पोख्रेल, नेकपा एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीलगायतले बोल्दै शुभकामना मन्तव्य राखेका थिए ।

संघको हकहित र विकासका लागि सञ्चार क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै दैनिक पत्र राष्ट्रिय दैनिकका कृष्ण रणपाललाई उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८० बाट नगदसहित प्रमाणपत्र र दोसल्लाले सम्मान गरेको छ ।

त्यस्तैगरी संघका संस्थापक अध्यक्ष बाबुराम पोख्रेल र पूर्व अध्यक्ष प्रकाश खनाललाई मानार्थ आजिवन सदस्य सम्मान गरेको छ । संघले आवद्ध ५ वटा शाखाका १÷१ जना व्यवसायी सदस्यलाई समेत सम्मान गरेको छ ।

संघका उपाध्यक्ष शोभा पोख्रेलको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन महासचिव हुमाराम पोख्रेल र सचिव जयन्त घर्तीले गरेका थिए । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्दैछ ।