जुम्लाका चार जना युवाहरु अलपत्र

जुम्लाका चार जना युवाहरु अलपत्र

दिपेन्द्र शर्मा, सुर्खेत ।

हिमाली डोल्पा जिल्लाका पाटनहरुमा यार्सा संकलनका लागि गएका जुम्लाका चार जना युवाहरु अलपत्र परेका छन् । जुम्लाको पातारासी गाउँपालिका-३ का चार जना युवाहरु डोल्पाको साल्दाङ फोतगाउॅ पासु क्याम्पमा अलपत्र परेको पातारासी गाउॅपालिकाका कार्यवहाक अध्यक्ष दत्तबहादुर बुढाले बताए।

उनका अनुसार पातारासी ३ मोहरीगाउॅका ओमप्रकाश बुढा र जय बुढा, चौर गाउॅका हिरालाल रावत र चन्नलाल रावत अलपत्र परेका हुन् । चार जनामध्ये ओमप्रकाश बुढा लेक लागेर बिरामी छन् । बिरामी परेका ओमप्रकाशको तल्लो शरीर नचलेको उनको भनाइ छ ।आफन्तहरुले तत्काल उद्धार गरेर अलपत्र परेकाहरुको ज्यान बचाउन माग गरेका छन् ।

कार्यवहाक अध्यक्ष बुढाले भने, ‘आफन्तहरुले फोन गरेर अलपत्र परेकाहरुको उद्धारको लागि पहल गर्न आग्रह गरेका थिए । त्यहीअनुसार प्रक्रिया अघि बढिरहेको छ ।’जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अलपत्र नागरिकको उद्धार गर्ने बारेमा छलफल भइरहेको बताए । उनका अनुसार प्रदेश सरकार र गृह मन्त्रालयमा हेलिकोप्टरको व्यवस्थाको लागि पत्र पठाइसकिएको छ ।

प्रदेश सरकारले हेलिकप्टरको खर्च बेहोर्ने वित्तिकै उनीहरुको उद्धार हुने प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।प्रदेश सांसद देबेन्द्रबहादुर शाहीले अलपत्र अवस्थामा रहेका नागरिकहरुको उद्धारको लागि कर्णाली प्रदेश सरकारसँग पहल भइरहेको बताए । उनले भने, ‘शनिबार परेकोले उद्धार प्रक्रिया अघि बढाउन सकिएन् । आइतबार बिहानैदेखि उद्धारको लागि सरकारसँग पहल सुरु हुनेछ ।’

यसअघि मुगुम कार्मारोङ गाउॅपालिकाको पाटन क्षेत्रमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउॅपालिका–३ चौर गाउॅका अन्दाजी २६ वर्षीय सुर्ज रावतको लेक लागेर मृत्यु भएको थियो । शनिबार यार्सा टिप्न गएकी पातारासी १ की विष्णुमाया ऐडीको डोल्पाको प्यारी गुफा लेकमा अचानक ढुंगा खसेर टाउकोमा लागेर मृत्यु भएको स्थानीय टासीबहादुर ऐडीले बताए।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता