कर्णाली वासीको हितलाई केन्द्रमा राखेर काम गर्नुस्ः मन्त्री शर्मा

कर्णाली वासीको हितलाई केन्द्रमा राखेर काम गर्नुस्ः मन्त्री शर्मा

१० साउन सुर्खेत

कर्णाली कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभएको छ ।

विज्ञापन

मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव.०७९।०८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै मन्त्रीले नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी अथक मेहनतका साथ काममा लाग्न कार्यालय प्रमुखल गायत कर्मचारीहरुलाई सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा भएका कमजोरीलाई सिकाईका रुपमा लिएर प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको तयारीमा लाग्नुस् । अब छिट्टै बजेट अख्तियारी आउँछ ।”

कर्णाली प्रदेश सरकारले लिएको समृद्धि तथा प्राङ्गारिक प्रदेश निर्माणको अभियानमा जोड दिन आग्रह गर्दै उहाँले रैथानेबाली उत्पादनको दिगो विकास तथा प्रवद्र्धनका कार्यक्रम लागु गर्नतर्फ गम्भीर भएर लाग्न महाशाखा, निर्देशनालय र दशवटै जिल्लाका प्रमुखहरुलाई सुझाउनुभयो ।

उहाँले मन्त्रालयको गत आव.को ७६ प्रतिशत वार्षिक प्रगतिलाई आगामी वर्ष बढाउने लक्ष्यका साथ कार्यमा जुट्न अनुरोध गर्नुभयो ।

मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले समीक्षाले सिकाएको पाठलाई आधार बनाएर चालु आव.२०८०।०८१ लाई नतिजामुखी बनाउन अहिले नै विशेष कार्ययोजना बनाउन मातहतका कर्मचारीहरुलाई सुझाव दिनुभयो ।

कामलाई सहज बनाउन परिस्कृत कार्यविधि बनाईने र सो कार्यान्वनयनका लागि स्पष्ट परिपत्र गरिने सचिव घिमिरेको भनाई थियो ।

समीक्षामा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय, सहरकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुमप्रसाद सुवेदी, पशुपंक्षी निर्देशनालयका निर्देशक कृष्णप्रसाद रिजाल, कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका प्रमुख पदमबहादुर सुवेदी र एकीकृत कृषि प्रयोगशालाका प्रमुख परशुराम रावतले आव.०७९÷०८० को वार्षिक प्रगति, समस्या चुनौति र समाधानका लागि गरिएका प्रयास समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त गोष्ठीमा योजना महाशाखाका प्रमुख राजु भुज, कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायत, प्रशासन तथा सहकारी महाशाखाका प्रमुख राजेन्द्र पौडेल र पशुपंक्षी विकास महाशाखाका प्रमुख प्रचण्ड खड्का क्षेत्रीले मातहतका कर्मचारीहरुलाई आफ्नो कार्यसम्पादनमा दत्तचित्र भएर लाग्न र अभिलेखीकरणमा ध्यान दिन सुझाउनुभएको थियो ।

श्रोत रासस सुर्खेत 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता