शिर्षकः गुटको घर

शिर्षकः गुटको घर

डम्बर महर

हे यात्री अब यो विमान कसरी रोकिन्छ गन्तव्यमा

विज्ञापन

जोडी चालक जुध्दछन् अघि बसी ठोकिन्छ पक्कै कहाँ !

नेताबीच उही पदीय महिमा यो युद्ध स्वार्थै न हो

एक्लो स्वार्थमहाँ लिलाम जनता राख्छौ र लड्छौ अहो !! १

जुट्दामा झुटको थियो र फुटको बाँडेर खाने रित

तिम्रो मार्गमहाँ गुटैगुट अझै को मिल्छ वैरीसित

आमाबाबु लडे मरे पनि नयाँ बाटो त खुल्ला तर

यो बिन्ती जनता बुझेर पनि लौ गर्दै छ सोचौँ घर ।। २

माग्यौ भोट अझै समृद्ध र सुखी नेपाल भन्दै अति

आफ्नाको गुटमा मिलान जुटमा लाग्यौ र बिग्र्यो मति

भ्वाङैभ्वाङ भयो र टाल्न निहुँकै खोजी गरेरै पनि

आस्थाको महलै विदीर्ण यसरी पार्यौ र मार्यौ अनि ।। ३

हातैमा छ हिरा अझै पनि बुझे मौका छ ठूलो तर

दम्भैले यदि भत्कियो घर भने बन्दैन पक्का अब

प्यारो देश बुझे जुटेर युगको सौन्दर्य भर्ने भनी

प्रायश्चित्त गरी मिलेर नउठे छुट्दै छ वर्षौँ पनि ।। ४

मान्छेको क्षमता चिनेर जनको विश्वास जित्ने कुरा

चम्चाको महिमा अदम्य गहिरो भन्छन् स-साना भुरा

लेख्दैमा कविता प्रभाव यसले के पर्छ कोर्नु न हो

खाली यो मनको विचार जनको चिन्ता छ यो देशको ।।५

लेखक डम्बर महर सल्यान छत्रेश्वरी २ सल्यान

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता