ए काली कौवा ! लैजा खवर लैजा…
कबिता ए काली कौवा ! लैजा खवर लैजा….
तिमीले
हात्तीकै तस्बिर
बनाउने भनेका हौ
एउटा जवान
हात्तीको तस्बिर !
तर उनीहरूले
एउटा बूढो उटको
भद्दा आकृति बनाए ।।
तिमीले
नदीको
दुई किनार जोड्ने
झोलुङ्गे पुल
बनाउने भनेका हौ
झोलुङ्गे पुल !
तर उनीहरूले
बाबियको डोरि बाटेर
टुइन बनाए ।।
तिमीले
उत्तरी मोहडा भएको
जमिनमा
सुन्तला कागती
लगाउने भनेका हौ
सुन्तला कागती !
तर उनीहरू
सिरूको घाँस उमारेर
बुक्यान बनाए ।।
तिमीले
एउटा सहकारी
बनाउने भनेका हौ
एक घर एक
सहकारी सदस्य भएको
राम्रो सहकारी !
तर उनीहरू
सिमित ब्यक्ति रहेर
नाफामुखि
कम्पनी बनाए ।।
तिमीले
जनताको घरदैलोमा
बेलाबखत
जानु भनेका हौ
जनताको सुखदुखको
साथी बन्नु भनेका हौ !
तर उनीहरू
जनताको
घरआँगन त के
अहिलेसम्म
मत पाएर जितेको
मतदान केन्द्रमा
पाइला टेकेका छैनन्
हामीलाई त उनीहरूले
साँच्चै रैती बनाए
ए काली कौवा
लैजा खवर लैजा।।
लेखक गणेश चिन्तन नेपाल पत्रकार महासंघ रुकुम पुर्व अध्यक्ष
२०७८ श्रावण २९ , रूकुम पश्चिम ।।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा