कास्कीमा  जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

कास्कीमा जातीय विभेद गरेको कसुरमा एक वर्ष कैद

मंसिर २० कास्की

सार्वजनिक प्रयोजनका लागि बनाएको किरियापुत्री भवनमा दलितलाई निषेध गरिएको आरोपमा जिल्ला अदालत कास्कीले तीन जनालाई जनही एक वर्ष कैद सजाय र ५० हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

विज्ञापन

न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले मङसिर १९ गते पोखरा मनपा– १६ बाटुलेचौरका देवबहादुर थापा, रामबहादुर जिसी र जनक थापा क्षेत्रीलाई उक्त सजाय तोकेको हो । साथै पीडितलाई १ लाख रुपियाँ क्षतिपूर्ति दिलाउनुपर्ने समेत फैसलामा उल्लेख छ ।

पोखरा मनपा–१६ बाटुलेचौरका सम्मरबहादुर सुनारको ०७६ चैतमा दुबईमा निधन भएको थियो । उहाँका दाई मोहन सुनारले बाटुलेचौरको सार्वजनिक भवनमा किरिया बस्नको लागि भवनको चावी माग्दा क्षेत्री समाजका पदाधिकारीबाट दलितलाई भवन दिन नमिल्ने बताएर गालीगलौज गरिएको थियो ।

सुनारले सार्वजनिक भवन दलितलाई प्रयोग गर्न नदिएर आफूमाथि जातीय विभेद भएको भन्दै तीन जना विरूद्ध ०७७ बैशाख १४ गते कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गराउनुभएको थियो ।

पीडित पक्षको उजुरीपछि प्रहरीले सोही दिन तीन जनालाई गिरफ्तार गरी एक साता हिरासतमा राखिएको थियो । अदालतको थुनछेकको आदेश अनुसार  तीन जना जनही १ लाख ७० हजार रुपियाँ धरौटी तिरेर तारिखमा छुटेपछि, पटक पटक पेशी सरेर साढे दुई वर्षपछि फैसला भएको  हाे ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता