तिलोत्तमामा प्रथम ’दलित ज्ञान उत्सव’  बुधबार देखि सुरु

तिलोत्तमामा प्रथम ’दलित ज्ञान उत्सव’ बुधबार देखि सुरु

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ’दलित ज्ञान उत्सव’ सुरु भएको छ । दलित रिडर्स तथा तिलोत्तमा नगरपालिकाको संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको उत्सवमा दलित ज्ञान, सीप एवं श्रमसम्बन्धी छलफल तथा जातीय विभेदका विभिन्न शीर्षकमा अन्तरक्रिया गरिनेछ ।

उत्सवको उद्घाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले तिलोत्तमा नगरपालिका जातीय विभेद अन्त्य गर्नेतर्फ अघि बढिरहेको बताए । उनले नगरपालिकाले दलित रणनीति नै निर्माण गरी पालिकाभित्र सामुदायिक सहिष्णुता कायम गर्न लागिपरेको बताए ।

विज्ञापन

त्यस्तै तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले यस प्रकृतिका कार्यक्रमले सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान दिने हुनाले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिएर सामाजिक समावेशीकरणमा सहकार्य गर्दै दलित समुदायलाई अवसरमा पहिलो प्राथमिकीकरण दिनेगरी नगरपालिकाले भूमिका निर्वाह गर्ने बताइन् ।

कार्यक्रममा दलित रिडर्सका अध्यक्ष रुकमणि नेपालीले दलित आन्दोलनको नयाँ इतिहास कोर्दै जात व्यवस्थाले निर्माण गरेको सामाजिक विभेद अन्त्य गर्न कार्यक्रम गरिएको बताइन् ।

यस्तो उत्सव देशमै पहिलो पटक हुन गइरहेकाले हरेक प्रदेशबाट आउने वक्ता वा सहभागीले दलित र गैरदलितबीच राखिने असमान व्यवहारलाई हटाउन सघाउने विश्वास लिइएको बताइन् ।

नेपाली समाजको सामाजिकीकरण र गतिशीलताका लागि दलित समुदायको महत्त्वपूर्ण योगदान रहे पनि श्रम, सीप र उद्यमशीलतासँग जोडिएको दलित ज्ञानको उचित सम्मान, संरक्षण र प्रवर्द्धन हुन नसकिरहेकाले उत्सव गर्न लागिएको उनको भनाइ छ ।