४५ औं पुष्पलाल स्मृति दिवस  र कम्युनिष्ट आन्दोलनको चर्चा

४५ औं पुष्पलाल स्मृति दिवस र कम्युनिष्ट आन्दोलनको चर्चा

साउन ७ सुर्खेत,बसन्त कुमार विश्वकर्मा

संसारमा वेला वेलामा विलक्षण प्रतिभा र संकल्प शक्ति भएका मानिसहरु जन्मन्छन । जसले आफ्ना लागि मात्र होइन । सिंगै देश, जनता र मानव समुदायको हितका खातिर आफ्नो जीवन समर्पण गरेका हुन्छन ।

विज्ञापन

कमरेड पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको शिखर व्यक्तित्व हुनुहुन्छ र नेपालको प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउनमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ ।

वि.सं. १९८१ असार १५ गते रामेछाप नगरपालिका वडा नं. ८, भँगेरीमा जन्मनु भएका पुष्पलालले करिव १६ वर्षको उमेर देखि सक्रिय राजनीतिक जीवन विताउनु भयो र ३८ वर्षसम्म नेपाल र नेपाली जनताको स्वतन्त्रता, मुक्ति र समृद्धिका निम्ति अनबरत संघर्ष गरेर नेपाली राजनीतिक आकाशमा एउटा उज्वल नक्षत्रका रुपमा आफूलाई स्थापित गर्नु भयो ।

नेपालको एकतन्त्रिय जहाँनिया राणाशासनको विरुद्धमा प्रजातान्त्रिक आन्दोलनका आदरणीय शहीद गंगालाल श्रेष्ठका सहोदर भाई स्व. पुष्पलालले निरंकुश राणाशाही विरोधी आम प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने काममा र त्यो आन्दोलनलाई क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनका रुपमा उठाउने काममा खेल्नु भएको भूमिका असाधारण महत्वको छ ।

को हुन कमरेड पुष्पलाल

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलाल दुरदर्शिता, त्याग र इमानका प्रतिकका रुपमा नेपालको राजनीतिकमा उच्च स्थान वनाउन सफल हुनु भयो ।

वि. सं. २००६ वैशाख १० गते अर्थात सन १९४९ अप्रिल २२ का दिन भारतको कलकत्तास्थित श्यामवजारमा आफ्ना सहकर्मीहरु निरञ्जनगोविन्द वैद्य, नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतीदेवी श्रेष्ठलाई साथमा लिएर कमरेड पुष्लालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नु भएको थियो ।

कमरेड पुष्पलालको योगदान र त्यागका कारण नेपालमा धेरै नामका कम्युनिष्ट पार्टीहरु सशक्त र गौरबशाली पार्टीका रुपमा देशभर स्थापित भएका हुन ।

नेपालमा कम्युनिष्ट पार्टीको विचारधारा भित्र्याउने, त्यसलाई संगठनका माध्यमवाट जनतामा लैजाने र परिवर्तन सम्भव छ भन्दै साहसका साथ शुन्यवाट काम शुरु गर्ने नेताकै कारण पुष्पलाल आज पर्यन्त हामी सवैका लागि आदर्श र प्रेरणाका श्रोतका रुपमा रहिरहनु भएको छ ।

कम्युनिष्ट पार्टीको संस्थापक महासचिवलाई पहिलो महाधिवेशन गर्न नदिएरै विचवाट हटाउँदा महाधिवेशनवाट निर्वाचित भएकाहरु २०१७ पौष १ गतेको शाही !कु’ लाई समर्थन गर्दै विचलित हुँदा र आफ्ना कैयौं सहयोद्धाहरुले सैद्धान्तिक र संगठनात्मक मतभेद देखाउँदै आफुलाई छाडेर अलगिंदा समेत कमरेड पुष्पलाल आफ्नो कामवाट विचलित हुनु भएन ।

तिन सस् अर्थात सिद्धान्त, संगठन र संघर्षको नीतिलाई अवलम्वन गर्दै कम्युनिष्ट पार्टीको झण्डालाई माथि उठाउन पुष्पलालले आफ्नो जीवन समर्पित गर्नु भयो । त्यसैको जगमा उभिएर आज नेपालमा कम्युनिष्ट आन्दोलन सशक्त पार्टी वन्न सफल भएको छ ।

कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद २००५ अर्थात १९४९ अप्रिल ५ मा प्रकाशन गरेर कम्युनिष्ट विचारधारासंग नेपालीहरुको परिचय गराउँनुका साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर त्यसमा गोलवन्द गर्ने अगुवाका रुपमा पुष्पलालको स्थान इतिहासमा सुरक्षित छ ।

त्यतिमात्र होइन, नेपाली समाजको पारलौकिक, धार्मिक वा रुढीबादी होइन, द्वन्द्ववात्मक भौतिकवादी अध्ययन विश्लेषण गर्ने र यसलाई परिवर्तन गर्ने सन्दर्भमा पुष्पलालका योगदानहरु अविस्मरणीय छन ।

सांस्कृतिक रुपान्तरण विना कम्युनिष्ट पार्टीले आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यताका आधारमा कमरेड पुष्पलालले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक कामलाई उनि उतिकै जोड दिएको पाइन्छ ।

कविवर युद्ध प्रसाद मिश्रका साथै मदन भण्डारी, मोदनाथ प्रश्रित, जीवराज आश्रित जस्ता नेताहरु पुष्पलालले निर्माण गर्नु भएको सांस्कृतिक मोर्चासंग आवद्ध हुनुवाट पनि यसको महत्व देखिन्छ ।

एक दलीय निरंकुश र हुकुमी पञ्चायती व्यवस्थालाई फाल्नका लागि कम्युनिष्ट र काँग्रेस विच संयुक्त मोर्चा बनाउनु पर्छ भन्दा अनेक आरोप खेप्नु परे पनि कमरेड पुष्पलालले आफ्नो नीतिलाई कहिल्यै छाड्नु भएन ।

प्रमुख अन्तरविरोधको सही किटान र त्यसका विरुद्धमा सहायक अन्तरविरोधहरुलाई थाँती राखेर मोर्चा बनाउँदा मात्रै पञ्चायतलाई फाल्न सकिन्छ भन्ने दूरदृष्टिकै आलोकमा २०४६ को संयुक्त जनआन्दोलन अघि बढेका कारण बहुदलीय प्रजातन्त्र स्थापना सम्भव भएको थियो ।

नेताका रुपमा स्थापित हुन उसले कुनै पनि पद प्रतिष्ठा पायो वा पाएन भन्ने आधारमा होइन, उसले अघि सारेका नीतिहरुले सफलता पाए वा पाएनन भन्ने आधारमा तय हुन्छ भन्ने उदाहरण पुष्पलाल हुनुहुन्छ ।

नेपालवाट सामन्ती राजतन्त्रलाई सधैंका लागि विदा गरेर गणतन्त्र स्थापना गर्ने कमरेड पुष्पलालको अविचलित अडान र प्रतिवद्धता कार्यान्वयन भएको आजको युगमा उहाँको सान्दर्भिकता झन बढेको छ ।

सही राजनीतिलाई अघि बढाउन सही विचारधारा हुनु पर्छ भन्नेमा दुईमत छैन । त्यसका लागि पर्याप्त मात्रामा अध्ययन, चिन्तन र विश्लेषण आवश्यकता पर्दछ । कमरेड पुष्पलाल दर्शन, साहित्य, इतिहास, विदेश सम्वन्ध, संस्कृति जस्ता विषयमा गहन अध्येता हुनु हुन्थ्यो भन्ने कुरा उहाँका संकलित रचनाहरु अध्ययन गर्दा थाहा हुन्छ ।

इतिहासको गहिरो अध्ययन गर्दै नेपालको मौलिकता र विशेषता अनुरुप कम्युनिष्ट पार्टी अघि वढ्नु पर्छ भन्ने कुरामा कमरेड पुष्पलालले राजनीतिक दस्तावेजहरुका साथै आफ्ना रचनाहरुमा पनि महत्वका साथ उल्लेख गर्नु भएको छ ।यतिसम्म कि त्यस कठोर संघर्षकालमा समेत क्रान्तिपछि कम्युनिष्ट पार्टी सत्तामा गएपछि के के काम कसरी गर्नु पर्छ भन्ने सम्मका विषयहरु पुष्पलालले सोचविचारका साथ उठाउनु भएको पाइन्छ ।

कठोर राजनीतिक व्यवस्थाका कारण देशभित्रै बसेर राजनीतिक गर्न असम्भव भएर भारत निर्वासित हुनु परे पनि त्यसका प्रभावहरु पुष्पलालको जीवन र लेखनमा कहीकतै परेको भेटिंदैन । लाखौं लाख झुपडीहरुको एकता नै नेपालको राष्ट्रियता हो भन्दै आफ्नो देशलाई बलियो बनाउन शासक होइन, जनता सचेत हुनु पर्छ भन्ने मान्यतालाई पुष्पलालले अघि बढाउनु भएको थियो । कम्युनिष्टहरु साँचो अर्थमा  नेपालको राष्ट्रियताको पहरेदार हुन भन्ने कुराको मानक पुष्पलालले नै स्थापना गर्नु भएको थियो । दिल्ली सम्झौताको विरोध देखि नेपालमाथि हुने हरेक थिचोमिचोको अग्रपक्तिमा रहेर विरोध गर्ने कामको अगुवाई कमरेड पुष्पलालले गर्नु भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन कमरेड पुष्पलाल जस्ता आदर्श नेताहरुको वैचारिक नेतृत्व, इमान र संघर्षको जगमा उभिएको छ । वि.सं. २०३५ श्रावण ७ गते भारतको नयाँदिल्ली स्थित गोविन्द बल्लभ पन्त अस्पतालमा निधन हुँदासम्मको ५४ वर्ष लामो यात्रामा पुष्पलालले आफ्नो जीवनकालमा गर्नु भएको कठोर संघर्ष, निष्ठापूर्ण राजनीति र इमान्दार प्रयास आजको मजवुत कम्युनिष्ट आन्दोलनको आधारशिलाका रुपमा छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान

कमरेड पुष्लालले नेपाली जनताको राष्ट्रिय स्वतन्त्रता र सामाजिक मुक्तिका आन्दोलनहरुलाई अघि वढाउने काममा महत्वपूर्ण योगदान गर्नु भएको छ ।

ती आन्दोलनको क्रममा वहाँले प्रतिपादन गर्नु भएको संयुक्त जनआन्दोलनको कार्यनीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

यसरी वहाँका चिन्तन, विचार, कृयाकलापहरु र वहाँले दिनु भएका सम्पूर्ण योगदानहरु आज नेपाली कम्युनिष्ट आन्दोलन, नेपाली प्रजातान्त्रिक आन्दोलन र समग्र राष्ट्रिय विकास र अग्रगतिका महत्वपूर्ण सम्पत्ति बन्न पुगेका छन ।

ती सम्पत्तिहरुको संरक्षण गर्नु, सम्बर्धन गर्नु र वर्तमान तथा भावी पिढीका निम्ति तिनीहरुलाई प्रेरणा पुञ्ज बनाइरहनु अत्यन्त जरुरी छ ।

त्यो कामको दायित्व इतिहासले अव हाम्रो काँधमा छोडेको छ । यस्तो विशिष्ट व्यक्तित्वको सम्झना गर्नु, वहाँको वाँकी रहेको सपनालाई साकार पार्नु, वहाँको सम्झनालाई चिरस्थायी पार्दै वहाँका काम, शिक्षा, अनुभव र संस्कृतिवाट भावी पिंढीलाई प्रशिक्षित गर्ने र सामाजिक परिवर्तनको दिशामा निरन्तर क्रियाशील तुल्याउँन सहयोग पुर्याउने तथा त्यसैगरी राष्ट्रियता, प्रजातन्त्र र जनताको लागि क्रियाशील सवै क्षेत्र तथा जातिका राष्ट्रिय व्यक्तित्व, विभूति, शहीदहरु र विचारकहरुलाई समान दृष्टिकोणले सम्मान गर्ने उद्धेश्यले पुष्पलाल स्मृति प्रतिष्ठान नामक संस्था २०५१ चैत्र ३० गते स्थापना गरिएको हो ।

प्रतिष्ठानका उद्धेश्यहरु

१. स्व.पुष्पलालका देन र कृतिहरुको प्रचार गर्नु र वहाँले दिएको शिक्षा र संस्कृतिवाट वर्तमान तथा भावी पिंढीलाई प्रशिक्षित गर्ने ।

२. नेपाली राष्ट्रियताको विकास, नेपाली जनताको. हित र नेपालको प्रजातान्त्रको लागि संघर्षशील राष्ट्रिय विभूतिहरुलाई नेपाली समाजमा प्रकाशमा ल्याउने र वहाँको योगदान र कृतिहरुको प्रकाशन गर्ने ।

३. नेपालको वाम एवं प्रजातान्त्रिक आन्दोलनको अनुसन्धान, मूल्यांकन तथा अन्य खोजपूर्ण कार्यहरु गर्ने ।

४. नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलन सम्वन्धी छलफल, विचार गोष्ठी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्ने र यस सम्वन्धी पत्रपत्रिका, पुस्तक, फोटो, चलचित्र तथा अन्य श्रव्यदृश्य सामाग्री प्रकाशन गर्ने ।

५. नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलन इतिहास लेख्न तथा लेख्न लगाउने ।

६. नेपालको वाम तथा प्रजातान्त्रिक आन्दोलन तथा नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता र सार्वभौमिकताको लागि लड्ने सवै शहीदहरु, लडाकुहरु तथा विशिष्ट व्यक्तिहरुको सम्मान गर्नु, वहाँहरुको योगदान तथा कार्यहरुको प्रचार गर्ने तथा त्यस्ता व्यक्तिहरुको विषयमा अध्ययन अनुसन्धान गरी प्रकाशमा ल्याउने ।

७. नेपालको इतिहास तथा समाजशास्त्र, दर्शनशास्त्र लगायत विविध विषयहरुको अध्ययन तथा अनुसन्धान गर्ने गराउने ।

८. नेपाललाई विकासशिल राष्ट्रवाट विकसित राष्ट्रमा परिणत गर्नको निमित्त विज्ञान तथा प्रविधिको अध्ययन अनुसन्धान गर्ने गराउँने ।

९. राष्ट्रको चौतर्फि विकासको लागि विविध विषयको लागि खोज तथा अनुसन्धान गर्ने गराउँने ।

१०. जनतामा नागरिक चेतना जगाउँन तथा प्रजातान्त्रिक राजनैतिक संस्कृतिको अभिवृद्धि गर्न आवश्यक कार्यहरु गर्ने ।

११. नेपाल र नेपाली जनताको हितलाई ध्यानमा राखी नेपालको अन्य राष्ट्रहरु र राष्ट्रका जनतासंगको सम्वन्धको वारेमा अध्ययन अनुसन्धान गर्ने तथा त्यस सम्वन्धी अन्य आवश्यक कार्यहरु गर्ने ।

१२. यस प्रतिष्ठानको उद्धेश्यसंग मेलखाने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग मैत्रीपूर्ण सम्वन्ध राख्ने ।

१३. २००७ अघि राणा शासन विरोधी तथा प्रजातन्त्र प्राप्तीको संघर्ष र २००७ देखि २०१७ सम्मको प्रजातान्त्रिक आन्दोलन २०१७ पछि नेपालमा प्रजातन्त्र स्थापना र सुदृढिकरण गर्ने आन्दोलनमा आआफ्नो क्षेत्रवाट योगदान पु¥याउनु हुने तथा नेपालमा निरंकुशता विरोधी, वाम तथा प्रजातान्त्रिक आन्दोलनको सन्दर्भमा शहादत प्राप्त गर्नु भएका श्रद्धेय शहीदहरुको व्यक्तित्व र कृतित्वहरुको प्रचार प्रसार र प्रकाशन गर्ने ।

१४. वाम एवं प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान गर्ने व्यक्तित्व र कृतित्वको प्रचार प्रसार गर्ने र वहाँहरुको सम्मान तथा अभिनन्दन गर्ने ।

१५. यस प्रतिष्ठानको प्रस्तावसंग मेल खाने गरी अन्य आवश्यक कार्यहरु गर्ने ।

लेखकः बसन्त कुमार विश्वकर्मा, केन्द्रीय परिषद सदस्य नेकपा एकीकृत समाजवादी एवं अध्यक्ष( पुष्पलाल स्मृति प्रतिष्ठान, कर्णाली प्रदेश

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता