पालिका स्तरीय उत्तर प्रसुती स्याहार घरभेट सूक्ष्म योजना तर्जुमा गोष्ठी सप्पन्न

पालिका स्तरीय उत्तर प्रसुती स्याहार घरभेट सूक्ष्म योजना तर्जुमा गोष्ठी सप्पन्न

चैत ६ सल्यान

सल्यान बनगाड कुपिण्डे नगरपालिकामा पालिका स्तरीय उत्तर प्रसुती स्याहार घरभेट सुक्ष्म योजना तर्जुमा सम्बन्धि एक दिने गोष्ठी सम्पन्न भएको छ ।

विज्ञापन

स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरू घर घरमा गएर सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्त्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका ७ वटा स्वास्थ्य चौकी, ५ वटा आधारभूत स्वास्थ्य केन्द्र र ६ वटा शहरी स्वास्थ्य सेवा केन्द्रमा रहेका कार्यालय प्रमुख र अनमीहरुको सहभागितामा उक्त गोष्ठी सम्पन्न गरिएको छ ।

मङ्गलवार नगरपालिकाले उत्तर प्रसूति स्याहार कार्यक्रमको समीक्षा गर्दै यो कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने सन्दर्भमा छलफल भएको छ । शतप्रतिशत लक्ष्य प्राप्तिका लागि सबैको अग्रसरता आवश्यक रहेको भन्दै कार्यक्रममा सहभागीहरूले आमा र बच्चाको स्वास्थ्य अवस्थामा थप टेवा पुर्‍याउन प्रसूति पछिको स्याहारको भेट कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका थिए ।

नवजात शिशुको मातृमृत्युदर कम गर्नको लागि लागि PNC होम भिजिट कार्यक्रमलाई कसरी प्रभावकारी सकिन्छ भनेर उक्त कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख बासुदेव पोखरेलले जानकारी दिनु भएको थियो । बनगाड कुपिण्डे नगरपालिकामा विगतमा ७ वटा स्वास्थ्य चौकीबाट प्रसुती घर भेटघाट कार्यक्रम हुने गरेकोमा अब देखि १८ वटा स्वास्थ्य सस्थाबाट घरघरमा गएर नर्सिङ कर्मचारीहरुले प्रसुती भेटघाट कार्यक्रम गर्ने भएका छन । आवश्यक पर्ने सामाग्री समेत हस्तान्तरण गरिएको छ ।

प्रसुती भैसके पछि पनि नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्नको लागि घरघरमा भेटघाटको लागी नर्सिङ कर्मचारीहरुले प्रत्यक्ष निगरानी राख्नु पर्ने हुन्छ । पहिलो जाँच बच्चा जन्मेको २४ घण्टा भित्र, दोस्रो जाँच बच्चा जन्मेको ३ दिनमा,  तेस्रो जाँच बच्चा जन्मेको ७ दिनमा र चौथो जाँच बच्चा जन्मेको ४५ दिनमा अनिवार्य गर्नुपर्ने र उत्तर प्रसूति स्याहारको महत्वबारे सबैले बुझ्न आवश्यक रहेकोमा जोड दिइएको थियो ।

सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको स्वास्थ्य जाँच गरी जटिलताका अवस्थाहरू समयमै पहिचान, व्यवस्थापन तथा प्रेषण गरी मातृ तथा नवजात शिशु मृत्यु कम गर्ने उद्देश्य अनुसार गाउँपालिकामा उत्तर प्रसूति स्याहार घर भेट कार्यक्रम सञ्चालन गरिएको हो ।  सुत्केरी भएका आमाहरूलाई बच्चा जन्माएको २४ घण्टा भित्र स्वास्थ्यकर्मी निगरानी र केही समस्या आएमा समाधान गर्न पहल गर्ने र घरभेटघाट गर्ने तथा मातृमृत्यु दरलाई १५१ प्रतिशत बाट ७० प्रतिशतमा कसरी पुर्‍याउनु सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उक्त कार्यक्रममा बोल्दै आफुले जनताका बीचमा गएर सहज सुल्भ तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने र स्वास्थ्यमा सुदृढ गर्ने भनेको र त्यसको लागि सबैले प्रतिबद्धता जनाउनु भएको छ । स्वास्थ्यकर्मीहरुलाई आवश्यकता अनुसार क्षमता अभिवृद्धिका लागी तालीमको समेत व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ । कार्यक्रममा नगर प्रमुख कर्ण बहादुर बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, लगाएत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता