कबिताः झण्डा सिलाउने दाइ।
सिलाएर मिलाएर
फाटेको तन मन
ढाकेर लाजसरम
सेवा गरेको वर्षौ भयो ।
यो समुदाय समाजमा
पल्लाघरे , माथ्लोघरेको बालिघरे भएर
जीवन जोवन वित्यो
सबै दिए , समय सहयोग
आफु मेटिएर
किनारमा बसेर
समाजलाई सजाय ।
राष्ट्रिय पोशाक , झन्डा
मन्दिरका ध्वजा
बनाए, सिलाए
सबैका शिर सजाएर
मायाले श्रद्धाले
नापीनापी , फहराउने बनाए ।
परै बसेर
अछुत भएर
विभेद पिएर
यिनको सागर जस्तो मन राखेर
मैले सिलाएको झन्डाले
राष्ट्रिय पोसाकले धेरै मान पायो
देश विदेशमा चर्चा पायो ।
अझै पनि,म सिलाउने छु
सजाउने छु,रमाउने छु
च्यातिएको फाटिएको मन
एक बनाउने छु
तर तिमी च्यात्ने छौ
मार्ने छौ जातको नाममा
पीडा यातनाको दोसल्ला ओडेको छु
बारम्बार विभेदको पदक पाउँदै छु
तिमी बदला लिनेछौ
मलाई थाहा छ ।
३५०० बर्षदेखि
म अपमान तिरस्कारको
पुरस्कार थाप्दै छु
जनसेवा श्री , प्रवल जनसेवा श्री विभूषण ।
मलाई किनारमा राखेर ठूलो सम्मान दिएका छन्
मलाई थाहा छ यो सम्मान म पाइरहने छु
आउने पुस्ता पाउने छन्
विभेदकारी पदक दोसल्ला दिनेछौं
सिकाउने छौ , थर्काउने छौ
बा बाजे आमा दिदीका पिडा देखाउने छौ
भन्ने छौ परम्परा धान्नु छ तैंले ।
तर अब म अघाएको छु
थाहा पाएको छु
र त सिकाउने छु
न सिलाउनु
न बजाउनु
न मिलाउनु
न सहनु
ती पदक दोसल्लाले धेरै पीडा दिए
अब च्यातिने छन्
अब जलाइने छन्
जात धर्मका भाइरसहरु
खाल्डामा पुरिने छन्
ती विभेदकारी , अत्याचारी ।
अब म सिलाउने छु
एकता समानता समताका झन्डा
जलाउने छु , विभेदकारी भागबन्डा
भन्ने छु , बोल्ने छु , चुनौती दिनेछु
फुक्ने छु विगुल , सुनाउने छु सारालाई
जात व्यवस्था मुर्दावाद ।
तस्बिर :सामाजिक संजाल नोट: तस्बिरमा देखिएका व्यक्ति धनकुटाका अग्रज जेष्ठ नागरिक भद्रमान घले भएको जानकारी आदणीय दाजुBhadraman Mote बाट प्राप्त भयो ।
लेखकको सम्वन्धमा