छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

टिका बिक- जाजरकोट मंसिर २४

छात्रा बेहोस हुन थालेपछि जाजरकोटमा विद्यालय बन्द गरिएको छ।

विज्ञापन

जाजरकोट सदरमुकाम स्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्राहरु पठनपाठनको समयमा हरेक दिन वेहोस हुन थालेपछि आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको हो।

६ कक्षा देखि १० कक्षा सम्मका छात्राहरु पठनपाठनकै समयमा केही दिन यता अकस्मात वेहोस हुने, चिच्याउने, कराउने, रुने लगायतका समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताए ।

भुत लागेको भन्दै छात्राहरु काप्ने, कराउने, रुने गर्न थालेपछि केही दिन यता पठनपाठन समेत प्रभावित भएको छ ।

विहिवार १० जना भन्दा धेरै छात्राहरुमा त्यस्तो समस्या देखिएपछि चिकित्सकको सल्लाहमा आइतवार सम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मल्लले बताए । केही बेर बेहोस हुने कराउने गरेपछि आफै ठिक हुने गरेको उनले बताए ।

केही समय पछि फेरी अरु छात्रालाई समेत यस्तो समस्या देखिएपछि विहिवार मध्यान्तर पछि विद्यालयको पठनपाठन बन्द भएको हो ।

केही समय अघि विद्यालयको छात्राबासमा बस्ने १२ कक्षामा अध्ययनरत एक छात्राले आत्महत्या गरेकी थिइन । आत्महत्या गरेकी ति छात्राको प्रेत चढेको विद्यार्थीहरुको भनाई छ ।

जिल्ला अस्पतालका चिकित्सकले त्रिभुवन माविका छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएको बताएका छन् ।

डा.समिक्षा मल्लले छात्राहरुमा देखिएको समस्या मास हिस्टेरिया भएकोले केही दिन विद्यालय बन्द गरेर सम्पर्क विच्छेद गरे विस्तारै समस्या आफै समाधान हुने बताउँछिन । यता विद्यालयले भने आत्महत्या गरेकी छात्राको आत्म शान्तिका लागि विद्यालयमा पुजापाठ र होम गर्ने जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता