ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
मुनादयाले गरिन जातिय भेदभाव बिरुद्ध उजुरी दर्ता

मुनादयाले गरिन जातिय भेदभाव बिरुद्ध उजुरी दर्ता

काठमाण्डौ असार ९ गते

मुना दयालले जागरण मिडिया सेन्टरको पहलमा जातिय भेदभाव बिरुद्ध उजुरी दर्ता गरेकी छिन।

विज्ञापन

प्रहरीले दुबै पक्षलाई बाेलायर छलफल गरेर मात्र उजुरी दर्ता गर्ने बताउदै आलटाल गर्दै दयालकाे उजुरी लिन नमाने पछि जागरण मिडिया सेन्टरको पहलमा आज उजुरी जिल्ला प्रहरी कार्यलय भक्तपुरमा दर्ता गरेकी छिन ।

जातिय भेदभाव कानुनी रुपमा दण्डनीय तथा समाजिक रुपमा अमानबिय  ब्यबहार भनिएको छ। जातिय बिभेद अन्त्यका लागि नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातिय भेदभाव अन्मुलन देश घोषणा गरेको थियो तर त्यसको केही दशक नबित्दै काठमाडौ सहर जातिय बिभेद गर्ने प्रमुख सहरको रुपमा चिनिएको छ। जहाँ रुपा सुनार करुणा बिश्वकर्म दिपा नेपाली जातिय बिभेदको सिकार बनेका छन।

फेरी काठमाण्डौ सहरले कोठा बहाल बसेकी ओखलढुंगाकी मुना दयाल पनि तल्नो जात भनेर बिभेद गरेको छ।

छोराछोरी पढाउन ओखलढुंगादेखि काठमाडौं आएर डेरा बसेकी उनलाई घरबेटीले उनको जात ‘कामी’ भएको थाहा भएपछि घरबाट निकालेर अपमानित गरेका छन् । त्यसविरुद्व कानुनी उपचारको बाटो रोज्दा उनले पटक–पटक मिलापत्रको दबाब सहनु परेकोले उनले  अमानवीयता विरुद्व कानुनको बलमा बोल्न खोज्दा समाजले त सहयोग गरेकै छैन, राज्यकै निकायले पनि उनलाई सहयोग गर्नमा हिचकिचाइरहेको छ ।

दयालका ७ वर्षीय छोरा छन्, २ वर्षीया छोरी । श्रीमान् विष्णु विश्वकर्मा साउदी अरबमा मजदुरी गर्छन् । आफूले दुःख गरेर कमाए पनि छोराछोरीले राम्रै पढुन् भनेर श्रीमानले काठमाणडौमा कोठा बहाल लिएर राखेर पढाउने मन गरे । उनी गएको माघमा छोराछोरी लिएर काठमाडौं आइन् ।

पहिलोपटक काठमाडौंको बसाइ साँघुरो कोठाबीच ठिकै चलेकै थियो । तर, बालबच्चासहित बस्दा सहज हुने फराकिलो राम्रो कोठा पाए सर्ने उनको तयारी थियो । गएको १५ जेठमा उनले पहिल्यैदेखि चिनेजानेको घरमा कोठा खाली भेट्टाइन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–४, मूलपानी स्थित कविता रायमाझीको त्यो घरमा मुनाकी साथी अस्मिता पहिल्यैदेखि बस्थिन् ।

‘पहिले मैले नै अस्मिताको लागि कोठा खोजिदिएको थिएँ । त्यसबीचमा आउने जाने हुन्थ्यो । घरबेटीसँग पनि ठिकै थियो,’ मुना भन्छिन्, ‘साथी बसेकै घरमा कोठा खाली भएपछि मैले पनि यतै आउने सोचेर जेठ १६ गते कोठा लिएँ । उहाँहरूले पनि आउनू, बस्नू भन्नुभएकै थियो ।’ घरबेटीले उनलाई मुना विश्वकर्मा होइन, मुना दयाल भनेर चिनेका थिए ।

त्यतिञ्जेल न घरबेटीले जात सोधे, न उनले आफू विश्वकर्मा हो भनेर चिनाउन आवश्यक ठानिन् ।कोठा पक्का भएपनि उनी कोठा सर्ने तयारीमा लागिन् ।

१० दिनपछि २५ जेठमा उनी कोठाका सामान लिएर रायमाझीको घरमा पुगिन् । उनले लिएको खाली कोठामा कार्पेट बिछ्याइन् । सामान ओसार्न थालिन् । उनलाई सामान बोक्न सघाउन ससुरा धनबहादुर विश्वकर्मा पनि पुगे ।

समस्या त्यसपछि सुरू भयो । दयालका अनुसार ओखलढुंगाबाट आएका धेरै परिवार बस्ने त्यो टोलमा घरबेटीलाई चिन्ने ओखलढुंगाकै एक क्षेत्री थरकी महिला पनि बस्ने रहिछन् । ती महिलाले धनबहादुरलाई सामान ओसार्दै गरेको देखेपछि मुनाहरू ‘कामी’ भएको कुरा घरबेटीलाई थाहा दिइन् । त्यसपछि घरबेटीले दलितलाई कोठा दिए आफ्ना देउता रिसाउने भन्न थालेको दयालले बताइन् ।

‘उहाँहरूले मुना दयाल भनेको दलित होइन भनेर बुझ्नुभएको रहेछ, मैले पनि त्यसबारे केही भनेकी थिइनँ । तर, ढाँटेर बस्ने कुरा पनि थिएनँ,’ मुनाले भनिन्, ‘जब उहाँहरूले हामीलाई दलित भन्ने थाहा पाउनुभयो, त्यसपछि किन जात ढाँटेको ? तिमीलाई कोठा दिन मिल्दैन भने मानसिक यातना दिन थाले।

घरबेटी कविता र उनका बुबा आमासहित उनीमाथि खनिए । कार्पेट बिछ्याएर खाटसमेत लगाइसकेको कोठा उनको जात कथित ‘कामी’ भएकै कारण छोडेर जानुपर्ने भयो, त्योभन्दा धेरै पीडा उनलाई आफूमाथि भएको अपमान र हेय भावले दियो ।

‘घरबेटी आमाछोरीले हामीलाई किन जात ढाँटेको, तिमीहरू दलित, अछुत जात रहेछौ, हाम्रो घरमा त दलितहरू बस्न मिल्दैन, हाम्रो कुल देउता रिसाउँछन्, देउता रिसायो भने हामीलाई मात्रै होइन, तिमीलाई पनि अफ्ठ्यारो हुन्छ भन्न थाल्नुभयो,’ घरबेटीले भनेको मुनाले अघि सुनाइन्, ‘सामान लिएर आइसक्यौं, सम्भव भए आजै सर, नभए जतिसक्दो छिटो अर्को कोठा खोजेर सर, यहाँ बस्न मिल्दैन ।’

पहिल्यै पक्का गरिसकेको कोठामा घरबेटीले अपमानित गरेर निकालेपछि मुना त्यही दिन अर्को ठाउँमा डेरा सरिन् । तर, उनले आफूमाथि भएको अपमानको विरुद्व कानुनी बाटोबाट अघि बढ्ने बताइन् । उनलाई कानुनको जानकारी पनि थिएन ।

त्यहीको समाजले सिकाए अनुसार उनले वडा कार्यालयमा उजुरी दिइन् । वडा कार्यालयले उनलाई प्रहरीमा जान सघाउने होइन, वडामै मिलापत्र गर्न सुझाव दियो । तर, उनी तयार भइनन् ।

पहिले वडामा गएँ, त्यहाँ पनि मिलापत्र गर्न दबाब दिए, अहिले प्रहरी कहाँ गएँ, त्यहाँ पनि प्रहरीले मिलापत्रको बाटो देखाउँछ, त्यो जातीय भेदभाव होइन कि भनेर शंका गर्छ,’ उनी भन्छिन्, ‘पहिले मेरो जात थाहा नहुँदा उहाँहरुलाई कुनै समस्या थिएन । मैले कोठामा कार्पेट बिछ्याएर खाटसमेत राखिसकेपछि उहाँहरूलाई दलित भन्ने थाहा भएछ, अनि बस्न मिल्दैन भन्नुभयो । यो जातीय भेदभाव नभएर अरु के हो ?’

घरबेटी कविता रायमाझीले आफूमाथि हातपात नै गर्न खोजेको उनको आरोप छ । ‘त्यहाँ मेरो पक्षमा बोल्ने कोही भएन, सबैले मेरै गल्ती भएझैँ गरे, घरबेटीकी छोरी कविताले त हातपात नै गर्न खोजिरहेकी थिइन्, तर म संयमित भएँ,’ उनले भन्छिन्, ‘एउटा कुकुरलाई त सम्मान गर्नुपर्छ भन्ने युगमा म त मान्छे हुँ, मलाई त्यसरी अपमान गर्दा म त मान्छे नै हुन सकेको रहेनछु भन्ने महसुस भयो ।’

आफूमाथि भएको जातीय भेदभाव र अपमानविरुद्व मुना बुधबार जिल्ला प्रहरी परिसर भक्तपुरमा उजुरी दिन गइन् । तर, प्रहरीले जाहेरी दर्ता नगरेर ठाडो निवेदनमात्रै लिएर छलफलका लागि बोलाउने भन्दै फिर्ता पठाएकाे छ।

मैले कानुनबमोजिम न्याय पाउनुपर्छ । म न्यायका लागि जहाँ जान पनि तयार छु, यो मेरोमात्रै होइन, सिंगो दलित समुदायको आत्मसम्मानको मुद्दा हो,’ उनले भनिन् ।

यता प्रहरीले भने जाहेरी दर्ताकै लागि अस्वीकार नगरेको दाबी गरेको छ । जिल्ला प्रहरी भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले प्रहरीले दुवै पक्षका कुरा सुनेपछि मात्रै मुद्दालाई अघि बढाउन चाहेको बताए पनि जागरण मिडिया सेन्टरका अध्यक्ष कमला बिक सहितकाे टोलीकाे पहलमा प्रहरीले आज उजुरी दर्ता गरेकाे छ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता