ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
साइकल यात्रामा रहेका  दलित महिला पत्रकार बुटवलमा सम्मानित

साइकल यात्रामा रहेका दलित महिला पत्रकार बुटवलमा सम्मानित

मानिस माथि हुने सबै खाले विभेद बिरुद्ध महाकाली मेची साइकल यात्रामा रहेका तीन जना महिला पत्रकारहरुको टोलीलाई बुधबार बुटवलमा सम्मान गरीएको छ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देही जिल्ला कार्यसमिति र लुम्बनी प्रदेश समितिको संयुक्त आयोजनामा खादा तथा प्रशंसा पत्रले सम्मान गरिएको हो । बैसाख ६ गते पश्चिम महाकालीबाट हिडेको रीता बुढाथोकी, इन्दिरा बिश्वकरर्मा र संगिता नेपालीको टोली बुधबार विहान बुटवल आइपुगेको थियो । सम्मान कार्यक्रममा बोल्दै बुटवल उप–महानगरपालिकाको उप–प्रमुख सावित्रा देवी अर्यालले विभेद विरुद्धको आन्दोलन आफैँबाट सुरु गर्नु पर्ने बताउनु भयो । उहाँले आफ्नो छोराले क्षेत्री समुदायको बुहारी ल्याउँदा घरमै संर्घष गर्नु परेको स्मरण गर्दै विभेद बिरुद्धको लडाई आफैबाट सुरु गर्नु पर्ने बताउनु भयो । राज्य व्यवस्थामा आएको परिवर्तनकै कारण राज्यको नियामक निकायमा महिला सहभागिता अनिवार्य भएकाले आफु उप–प्रमुख भएको उल्लेख गर्दै महिलाले अवसर पाएको खण्डमा काम गरेर देखाउन सक्ने बताउनु भयो । उहाँले समाज रुपान्तरणको आन्दोलमा सहभागी हुन सम्पुर्ण छोरीहरुलाई आह्वान समेत गर्नु भयो ।

राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले अहिलेको युवा पुस्ता सामाजिक सञ्जालमा सौन्दर्य प्रर्दशनमा रमाइरहेको सन्र्दभमा महिला पत्रकारले साइकल यात्रा सुरु गर्नु आफैँमा परिवर्तनको संकेत भएको बताउनु भयो । विभिन्न काल खण्डमा जातिय विभेद तथा छुवाछुत बिरुद्ध विभिन्न अभियानहरु संञ्चालन भएको स्मरण गर्दै साइकल यात्रा पनि आन्दोलनकै एउटा स्वरुप भएको बताउनु भयो । समाजमा नकारात्मक सन्देश फैलाउने जमात सधैँ हुने भन्दै नकारात्मक कुराहरुको पछि नलाग्न आग्रह गर्नु भयो ।

विज्ञापन

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराइले विभेद अन्त्यको महत्वपुर्ण माध्यम भनेको समाजवाद भएको बताउनु भयो । बुर्जुवा राज्य व्यवस्थाका कारण देशमा विभेदहरु कामयै रहेको उल्लेख गर्दै विभेद अन्त्यका लागि सम्पूर्ण प्रगतिशील शक्तीहरु एकजुट हुनु पर्नेमा जोड दिनु भयो । बरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाइले शीपले भरिएको समुदायलाई हेला गर्दा नेपाल पछि परेको बताउनु भयो । कामको सम्मान हुन नसकेको प्रति चिन्ता व्यक्त गर्दै उहाँले कामको सम्मान गर्न सकेको खण्डमा मात्रै देशको विकास हुने बताउनु भयो । मानव अधिकार तथा शान्ति समाजका निवर्तमान केन्द्रीय अध्यक्ष गोविन्द खनालले धर्मशास्त्रमा उल्लेखित गलत श्लोकका कारण विभेदको अन्त्य हुन नसकेको बताउनु भयो । आफु संस्कृत पढेको उपाध्याय समुदायको भए पनि समाजमा हुने विभेद अन्त्यका लागि बर्षौ अघि देखि काम गर्दै आइरहेको बताउनु भयो । विभेदले विद्रोह निम्त्याउँने बताउँदै खनालले दिगो शान्तिका लागि समातामुलक समाज आवश्यक हुने बताउनु भयो ।

  1. नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम खड्काले तीन पत्रकारले गरेको कामको प्रशंशा गर्दै पत्रकारहरुले समाचार लेख्ने मात्रै नभई अन्य माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपुर्ण भुमिका खेल्न सक्ने बताउनु भयो । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले सम्मानसहित बाच्न पाउने पाउने अधिकार कसैले पनि हनन गर्न नहुने बताउनु भयो । समाज रुपान्तरणमा पत्रकारहरुको अहम भुमिका हुने उल्लेख गर्दै उहाँले पत्रकारहरु यसमा सधैँ तत्पर रहेको बताउनु भयो ।
    साइकल यात्री रीता बुढाथोकीले यो यात्रा आफुहरुको मात्र नभएर सबैको भएको साझा भएको बताउनु भयो । सबैको साथ सहयोगका कारण यात्रा संम्भव भएको उल्लेख गर्दै विभेद विरुद्ध शिक्षित युवा पुस्ता सचेत हुनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा बुटवल उप–महानगरपालिकाका कार्यपालिका सदस्य यम बहादुर सुनार, दलित जागरण अभियानका केन्द्रीय उपाध्यक्ष हरीओम बिश्वकर्मा, विशे नगर्ची फाउण्डेशनका अध्यक्ष राम कुमार रणपाल र परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली लगायतले बोल्दै महिला शक्ती अघि नवढे सम्म देशको विकास हुन नसक्ने बताउनु भयो । कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनीका सचिव सञ्जय शौगात बिश्वकर्माको अध्यक्षता, संघका रुपन्देही कोषाध्यक्ष कृष्ण रणपालको स्वागत र अध्यक्ष टंक सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।