कर्णाली अब्बल डाक्टर उत्पादन गर्ने केन्द्र बन्ने छ : राष्ट्रपति भण्डारी

कर्णाली अब्बल डाक्टर उत्पादन गर्ने केन्द्र बन्ने छ : राष्ट्रपति भण्डारी

नौरते नेपाली जुम्ला मंसिर २६

राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली अब्बल डाक्टर उत्पादन गर्ने केन्द्र बन्ने बताएकी छन ।

विज्ञापन

राष्ट्रपति भण्डारीले आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एमबिबिएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्दै प्रतिष्ठानले देशका लागि आवश्यक र विशेषज्ञ डाक्टर तथा स्वास्थ्यकर्मी उत्पादन गर्ने  विश्वास व्यक्त गरिन् ।

कर्णालीमै एमबिबिएस पढाइ हुनुले देश र कर्णालीको शिर उठेको उनले बताइन् । ‘कर्णालीको इतिहासलाई पुर्नजागरण गरी विकास र समृद्धिको मुलधारमा ल्याउन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।’ उनले भनिन् । स्वास्थ्य र शिक्षा जस्ता आधारभूत सेवामा जनताको सहज पहुँच विस्तार हुन सके मात्रै देश विकसित हुने उनको भनाई छ ।

यस्तै कर्णाली प्रदेश प्रमुख तिलक परियारले रोग र भोगले पछि परेको प्रदेशको विकासमा एमबिबिएस पढाइ सुरु गरेर प्रतिष्ठानले इट्टा थप्ने काम गरेको बताए । कर्णाली प्रदेशको इतिहासमा स्वास्थ्य शिक्षाले नयाँ आयाम थपेको उनको भनाई छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खातुनले कर्णालीका नागरिकको मात्र नभएर देशभरीकै नागरिकको उपचारमा प्रतिष्ठानले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले कर्णालीको स्वास्थ्य सूचाङ्कमा सुधार हुने अपेक्षा गरेको बताए । उपचारको लागि सुगम जिल्लामा जानु पर्ने बाध्यता प्रतिष्ठानले अन्त्य गरेको उनको भनाई छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डाक्टर मंगल रावलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन र अनुसन्धानको केन्द्रका रुपमा विकसित भएको बताए । रोग र भोगको परिचय बनाइएको कर्णाली हाल आशाको केन्द्र बनेको उनको भनाई छ । प्रतिष्ठानले केन्द्रिय अस्पतालहरुमा अब्बल चिकित्सक पठाएर त्यहाँको अभाव हल गर्न सक्ने जनशक्ति उत्पादन गर्ने उनले उल्लेख गरे ।

 कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले कर्णालीको गौरव र इतिहासमा स्वास्थ्य क्षेत्रमा नवयुगको सुरुवात भएको बताए ।

उनका अनुसार एमबिबिएसका लागि २० कोटा छुटाइएकोमा १९ जना भर्ना भएका छन् । बि फर्ममा २० कोटा निर्धारण भएकोमा ११ जना, बिएनएस तर्फ १६ जना, बिएमएस तर्फ ८ र बीपीएच तर्फ ६ जना विद्यार्थी भर्ना भएर पढाई सुरु भएको उनले जानकारी दिए ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता