माओवादी मनोदशाको विद्रुप छायामा वाइसीएलको राष्ट्रिय भेला – एक समीक्षात्मक टिप्पणी

माओवादी मनोदशाको विद्रुप छायामा वाइसीएलको राष्ट्रिय भेला – एक समीक्षात्मक टिप्पणी

१ – दृश्य :-

नेकपा माओवादी केन्द्रको मेरूदण्डको रूपमा चिनिने युवा संगठन वाइसीएलको काठमाडौंमा तीन दिनदेखि जारी राष्ट्रिय सम्मेलनले विडम्बना अध्यक्ष लगायत मुख्य पदाधिकारीको टिम चयन गर्न सकेन । सम्मेलनले संगठनको अध्यक्ष लगायत पदाधिकारी टिम चयन गर्न नसकेपछि अस्ति सोमबार पार्टीको स्थायी कमिटी बैठक बसेर वाइसीएलको अध्यक्ष चयन गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।

विज्ञापन

तिहासको खास मोड मुख्यतः०४६ यतापट्टि र परिवर्तनका पछिल्ला कडिहरूमामा आन्दोलनको वेला , प्रतिगमनले अग्रगमनमाथि धावा बोलेका वेला , विस्तारवादी भारतले नेपालका सिमासाँधिहरू मिचेको वेला भ्रष्टाचार , महंगी , कमिसनको बोलवाला बढेको वेला ती सबै हर्कतहरूको विरूद्धमा गाउँ , पाखापखेरी , शहर चोक गल्लीमा खवरदारीको हुँकार छेड्ने लगायत अन्य जनसरोकारका बिषयमा छाती थापेर ठुला ठुला जोखिम उठाएको , जुलुस र आन्दोलनमा छाती थापेर इन्क्लाबको नारा लगाएको एवं जनयुद्ध र जनआन्दोलनको वेला अग्रमोर्चामा रहेर युगीन कार्यभार सम्पादन गरि नेपाली जनताको माझ मित्रलाई बिश्वास र बिरोधिहरूलाई त्राहिमान बनाएको एवं फरक परिचय र पहिचान बनाउन सफल भएको वाइसीएलको गरिमामय राष्ट्रिय सम्मेलनले अध्यक्ष लगायत मुख्य पदाधिकारी टिम बनाउन नसक्नुमा दशक अघिदेखि बैचारिक , राजनीतिक र सांगठनिक रूपले निम्छरो र रूग्न बन्दै गएको उसको माउ पार्टी माओवादीमा देखापरेका बिचलन र गुटगत अभ्यासको उल्झनबाट पैदाभएको विद्रुप मनोदशाको छाया (बिम्ब) ले काम गरेको कुरामा कुनै शंका छैन ।

यस सम्बन्धमा अरू सवालहरू पनि दृश्यमा , अदृश्यमा , सादृश्यमा र अस्पृश्यमा जिम्मेवार भएर जोडिएका छन् । ती सवालहररू भोलिका दिनमा कसरी थितो थान्को लाग्छन् भन्ने कुरा वाइसीएलको मात्रै नभई उसको माउ पार्टीको सिंगो राजनीतिक जीवन भविष्यसंग जोडिएको छ । यो लेख त्यसै वरिपरि केन्द्रित बनेको छ ।

२ – अदृश्य :-

 सत्य तीतो तर यथार्थ हुन्छ । अत: जतिबेला माओवादी भित्र द्दन्दात्मक भौतिकवादी दृष्टिकोण , केन्द्रीकृत कमान्ड , लेनिनवादी संगठनात्मक पद्धति , जनवादी केन्द्रितता लगायतका आवश्यक बिधि सिद्धान्तहरू थिए ।

सापेक्षित रूपले सही भएका कारण प्रायः सबै संगठनहरू चुस्त र गतिशील थिए । जब माथि उल्लेखित पद्धतिहरू सबै मरेतुल्य भए तब सबचिज हराए ।

द्दन्दात्मक भौतिकवादी चेत चेतनाबाट अधिभूतवादी , संकृणतावादी , मनोगतवादी , अराजकतावादी , गुटवादी , निम्न पुँजीवादी अधैर्यतावादी , क्षेत्रीयतावादी , चरम नश्लवादी , जाती ( उच्च जातीय अहंकार ) वादीमा रूपान्तरण भएपछि हिजोका सबैचिज हराए यात भत्किए । यी कुराहरू बैचारिक , राजनीतिक र दार्शनिक रूपले बिग्रियो भनेर उठाउनेहरू नै माओवादी भित्र बेकुफ हुने , त्यो संधासर्वदा निशेध बनाइने , नक्कली र बनावटी कुरा गर्नेहरू सदर हुने परिपाटी बिकास भयो । अनि नक्कली र बनावटी कुराले पार्टी संगठन कसरी जीवित रहन्छ ? आज माओवादी यिनै शनि संकट र समस्याहरूबाट थिचिएको छ । गुज्रिएको छ । सही र यथार्थ कुरा यही हो । यो माक्र्सवादी द्दन्दात्मक भौतिकवादी कुरा हो ।

तर यतिखेर माओवादी पार्टीभित्र द्दन्दात्मक चेत र चेतना मरेतुल्यछ । रचनात्मक आलोचना र टिप्पणीहरूलाई कुण्ठाको अलाप ठान्छ । अर्थात आलोचना गर्नु उसको लागि सह्यको बिषय हुँदैन । रचनात्मक आलोचना मित्र भन्दा पनि किनाराको शत्रु हुन्छ ।

सत्य यही हो कि दशक अघिदेखि र झन यतिखेर माओवादी पार्टी र उसका सबै जनसंगठहरू भद्रगोल छन् । कार्यकर्ता छरपस्ट छन् । यो सजीव तथ्य भन्दा माओवादीलाई पटक्कै मन पर्दैन । धेरैले आशा गरेका थिए कि संगठन र शक्तिमा भएको निरन्तरको क्षयीकरणले थला परेको माओवादी पार्टीलाई यसपटकको वाईसीएलको राष्ट्रिय सम्मेलनले केही भरथेग , राहत र गतिशीलताको सञ्जीवनी प्रदान गर्छ । थप नयाँ उर्जा र बिश्वास पैदा गर्छ ।

बर्सौंदेखि खिया लागेर जाम भएको संगठन पुनः गतिशील हुन्छ ।भद्रगोलको अन्त्य र संगठन चलायमान हुन्छ । सम्मेलनको रापतापबाट निर्वाचित टिमले स्वयं र माओवादीलाई साँच्चै गतिशील बनाउँछ । तर हात्ती आयो फुस्सा भने झैं पार्टी भित्रको गुटबन्दीले वाइसीएल जस्तो जीउँदो र सग्लो संगठनलाई बिभाजन गर्ने कार्य पार्टीका उपल्लो तहका नेताहरूबाट भयो ।

जसका कारण सम्मेलनमा सहभागी वाइसीएलका सयौं ( प्रतिनिधि ) नेता कार्यकर्ताहरू निराश बनाएर फर्काउने काम भयो । वाइसीएलको सांगठनिक जीवनको आँखाबाट हेर्दा निश्चयन नै यो पहिलो घटना होला । यसको समीक्षा होला नहोला तर काठमाडौमा केन्द्रित वाइसीएलका सयौं नेता कार्यकर्तालाई निराशा बनाउने काम गुटगत राजनीतिले गर्यो ।

यो चर्को गुटबन्दीको दुर्गन्ध र गलत अभ्यासलाई कुन विधि र पद्धतिमा लिएर हल गर्ने ? यो चुनौती माओवादीको लागि नयाँ नभएपनि तर घाँटीमा अल्झिएको हड्डी पक्कै हो । कोरनाको कहरले अस्तव्यस्त बनेको बिश्व तथा नेपाली जनजीवन जस्तै माओवादी पार्टी र पार्टीभित्रको आन्तरिक गुटगत शक्ति संघर्ष वाइसीएलको राष्ट्रिय सम्मेलनमा आएर झन् छताछुल्ल बन्यो ।

आन्तरिक शक्ति सो र गुटगत अभ्यास गर्ने एउटा फरक रणमैदान बन्यो वाइसीएलको राष्ट्रिय सम्मेलन । माओवादी पार्टी भित्रको आन्तरिक शक्ति संघर्षको विद्रुप मनोदशाको छाया (बिम्ब) देखियो वाइसीएलको राष्ट्रिय सम्मेलनमा । यो बिम्बको अन्तरवस्तुको कथा , कथ्य र तथ्य अध्ययन गर्दा प्रष्ट भेटिन्छ । तर प्रयोगको मोडालिटि निकै अदृश्य छ । जसलाई सजिलोसँग चिन्न र पत्याउन मुश्किल पर्छ । आन्तरिक तथ्यमा हेर्दा सनातनी मनुवादी चेतना र दस बर्षे जनयुद्धले निर्माण गरेको ठिमाहा चेतनाको फ्युजनले वाइसीएलको राष्ट्रिय सम्मेलनबाट अध्यक्ष लगायतको पदाधिकारी टिम प्राप्त गर्न सकेन । यही मिश्रित ठिमाहा चेतनाको परिणाम हो राष्ट्रिय सम्मेलन ।अर्को भाषामा भन्दा क्रान्तिकारी राजनीतिक बिचारको आवरणमा लुकेर आधारभूत बर्गबाट ठुलो संघर्ष गरेर नेता र नेतृत्व गर्ने तहसम्म पुगेका उत्पीडित बर्ग समुदायका मान्छेहरूलाई डस्ने बिषालु गोमनरूपी उच्च जातिवादको पराकाष्ठामा नै आधारभुत बर्ग शोषित हुदा नेतृत्व मौन हुनुले बर्गबहिन समाजको कल्पना राजनितिक आवरणमात्रको अभिव्यक्त भयो वाइसीएलको राष्ट्रिय सम्मेलन

यो भन्दा अर्को कुरा हुँदै होइन । किञ्चित व्यक्तिको स्वभाव , स्वत्व , शैली र भावभंगी कुनै अमुक नेताहरूले मन नपराउने फरक कुरा हो । तर समग्रतामा त्यसैलाई आधार मानेर मुल्यांकन र निशेध गर्नु सर्वदा गलत हो । आन्दोलन , योगदान र इतिहासको मानमर्दन हो । वाइसीएलको राष्ट्रिय सम्मेलनमा अदृश्य र नेपथ्यबाट प्रयोग भएको सनातनी मनुवादी दर्शनको सारभूत कुरा यही हो ।

३ – सादृश्य :-

सनातनी हिन्दु बर्णाश्रम व्यवस्थाका दार्शनिक प्रणेता मनु र उनले जन्माएको मनुवाद सनातनी समाजको चेतना कालमा जन्मिएको भएपनि यो आधुनिक समाजको पनि महत्त्वपूर्ण जीवन दर्शन बनेको छ । मनुवादको दर्शन र दार्शनिक परिधि र प्रयोग नेपाली समाज र मुख्यतः नेपाली राजनीतिमा झन झन बिकास र विस्तार हुँदै गएको छ ।हरेक राजनीति दलभित्र यसको मिहिन प्रयोग भैरहेको छ ।

यसको पछिल्लो कडि २०७८ भदौ १६ गते हिजो मात्रै नेपाली काँग्रेसका बौद्धिक र प्रभावशाली नेता मीन बिश्वकर्माले नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा महाधिवेशन प्रतिनिधि छनौटको नीति र मापदण्ड दलित तथा उत्पीडित समुदायको भावना विपरीत र निशेध गर्नेगरि आएकोले उक्त नीतिप्रति गंभीर असहमति राख्दै पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिएका छन ।

मीन बिश्कर्माको यो राजिनामाले नेपाली राजनीतिमा उच्च जातिवाद अझै कति जब्बर छ भन्ने कुरा छर्लङ्ग छ । यसर्थ वाइसीएलको नेतृत्व छनौटको बिषय पनि जातीवादको रोगबाट मुक्त सकेन । यतिबेला सामाजिक सञ्जालहरूमा यो विषयले ठुलो स्थान पाएको छ । सहानुभूतिको जग कमजोर हुन्छ । मुख्य कुरा बिचार हो।

सहानुभूतिको जगमा उभ्याएर सुवोधराज सेर्पाली र सुमन देवकोटा दुवैजनाको गौरवमय इतिहास , योगदान , योग्यता र क्षमतालाई कमजोर बनाउनेगरि जसरी बिषयान्तर गरियो ।

त्यो सही होइन । युवाको पनि सक्षम युवालाई नेतृत्व बनाउन नचाहनु समस्या त्यो हो । त्यसभित्र जातिगत मनोविज्ञानले नै प्रभावकारी भूमिका खेलेको कुरामा कुनै शंका छैन । समस्याको अन्तरनिहित चुरो यही हो ।

 ४ – अस्पृश्यमा :-

राजनीतिमा शुद्धताको खोजी मुर्खता हो । नेपाली राजनीतिका कयन तथ्यहरूले यही बताउँछन् । गुटगत अभ्यासमा राजनीतिक भविष्य देख्नेहरू नै राजनीतिको केन्द्रमा छन् । अवसर र लाभको केन्द्रमा छन् । माओवादी पार्टीको गत साउनमा सम्पन्न पछिल्लो बैठकको निर्णय माओवादी पार्टीको रूपान्तरणको लागि केन्द्रित थियो ।

सो सम्बन्धि निर्णयको सर्कुलर र त्यसको भावस्प्रिट संगठनको तल्लो तहसम्म सम्प्रेषण नहुँदै यात नआइपुग्द‌ै रूपान्तरणको स्प्रिटलाई मार्नेगरि वाइसीएलको राष्ट्रिय सम्मेलनमा जुन गुटबन्दी र उच्च जातीय अहंकारवादी संकृणताहरू देखिए त्यसले फेरि कयन आशंकाहरू जन्माउने काम गरेको छ ।

के माओवादी कम्युनिस्ट जीवन दर्शन त्यो हो ? यदि माओवादी कम्युनिस्ट जीवन दर्शन त्यो होइन भने होइन भन्ने बिश्वासका आधार के हुन् ? माओवादी पार्टी र उसका सबै जनसंगठनहरू सकारात्मक रूपान्तरणको दिशामा भन्दापनि गुटका अखडा बन्ने खतरा झन बढेर गयो । निष्कर्ष :- गुटवाद दार्शनिक रूपले दक्षिणपन्थी अवसरवाद हो ।

गुटबन्दी दार्शनिक रूपले संसोधनवाद हो । यसका विरूद्धमा बैचारिक , राजनीतिक र सांगठनिक रूपमा प्रतिवाद गर्न सकेमात्र गुटबन्दी , दक्षिणपन्थी अवसरवाद , दक्षिणपन्थी संसोधनवाद र उच्च जातीय संकृणतावादी सोच चिन्तनलाई कमजोर मात्रै नभई परास्त गरेर बलियो , सौम्य , शालिन र सु- संस्कारयुक्त पार्टी संगठन बनाउन सकिन्छ ।

२०७८ भदौ १९ रूकुम पश्चिम । लेखक गणेश चिन्तन