एमाले – विभाजनको राजनीतिक – चिरफार

एमाले – विभाजनको राजनीतिक – चिरफार

सैद्धान्तिक भन्दा पनि व्यक्तिगत अहम् र महत्वाकांक्षाका कारण विभाजित कम्युनिस्ट अध्यायमा फेरि अर्को नयाँ पाठ थपिएको छ ।

आफूलाई कम्युनिस्ट आन्दोलनको मुलधारको रुपमा दाबी गर्दै आएको नेकपा ‘एमाले’ यतिखेर औपचारिक रुपमै दुई चिरामा विभाजित हुन् पुग्यो ।

विज्ञापन

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको एमालेबाट विद्रोहको तक्मा दिएर वरिष्ठ नेता माधवकुमार नेपालले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिए ! झापा आन्दोनलको धारबाट विकशित हुँदै मुलुकको सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिस्ट पार्टी बनेको नेकपा (एमाले) दोस्रोपटक टुक्रिएको छ । एमाले फुट्को –तमासा ! २०२८ सालमा झापामा वर्ग शत्रुको सफाया आन्दोलनबाट माले हुँदै अहिलेको एमाले बनेको हो ।

२०३२ जेठमा को–अर्डिनेसन केन्द्र गठन भयो । यसले झापा विद्रोहलाई राजनीतिक आवरण दियो । त्यसपछि विभिन्न साना घटकहरू संगठित भए । पूर्वतर्फ सक्रिय को–अर्डिनेसन केन्द्र र पश्चिममा सक्रिय रहेको मुक्ति मोर्चासँगको एकीकरण हुँदै २०३५ सालमा नेकपा मालेको गठन । त्यस समयको नेतृत्व सीपी मैनालीले गरेका थिए । केन्द्रको स्थापनादेखि नै नेता माधवकुमार नेपाल पार्टीको शीर्ष नेतृत्वमा रहे, अहिलेका अध्यक्ष ओली भने जेलमा थिए ।

२०३९ सालमा पार्टी स्वतन्त्रता की राजनीतिक स्वतन्त्रता भन्ने बारे निकै ठूलो विवाद चर्कियो । पार्टी स्वतन्त्रता पक्षमा रहेका महासचिव मैनालीलाई पार्टीले कारवाही गर्‍यो । मैनालीले पार्टी विभाजन भने गरेनन्, तर कार्यकर्ताको ठूलो पंक्तिले राजनीति छाडे वा निष्कृय बने । कतिपयले यसलाई मुक्ति मोर्चा र को–अर्डिनेसन केन्द्रबीच शक्ति संघर्षको रुपमा लिने गरेका छन् ।

तर, अर्डिनेसन केन्द्रका नेताहरूको साथ लिएर मदन भण्डारी र जीवराज आश्रितसहितका नेताहरूले सीपी मैनालीमाथि कारवाहीको डण्डा चलाएकै हुन् ! मैनाली भने एमालेभित्र संगठनात्मक संकटको शुरुवात चालीस वर्षअघिदेखि नै शुरु भएको आकलन गर्छन् । ‘२०३९ देखि नै नेता तथा कार्यकर्ताहरूको मुल्याकंन गर्न सक्रियता र योगदानभन्दा पनि नेताहरूले आफ्नो निकटता र दुरीको आधारमा अराजनीतिक तरिकाले मूल्याकंन गर्न थाले ।

त्यसले पछि गएर यो एउटा गुटबन्दीमा रुपान्तरण भयो । मैनालीले भने, ‘गुट र नेताको फाइदाको निम्ती जनता र राष्ट्रको हितमा सम्झौता गर्न थाले । पछि आएर त्यो गुटबन्दी निषेधमा परिणत भयो र अहिलेको समस्यासम्म आइपुगेको हो ।’ ( नेपालको प्रगतिशील राजनीतिमा देखिएको स्खलनको यो पछिल्लो कडी हो ! तर विभाजन, यो अन्तिम र पहिलो भने होइन ।मार्क्स, एङ्गेल्स लगायत लेनिन, स्टालिन, माओ हुँदै गोन्जालोलाई समेत विश्व र नेपालकै विगत, वर्तमान, आगतसँग अवगत मान्दै उनीहरुको तस्बिर झुन्ड्याउने र माल्यार्पण गर्ने चलन र अर्धचेतले निम्त्याएको विभाजन हो,

माधवको त्यो सपना, यो यथार्थ! सपना एकताको थियो, आश्वासन गणतान्त्रिक मूल्य समृद्ध नेपाल सुखी नेपाली स्थापनाको थियो, बदलिएको राज्य संरचनामा कोही कसैको मालिक हुँदैन भनियो । नेपाल अब पुरानो रहँदैन भनियो । नयाँ नेपालका महागाथा रचियो । संविधान जारी गर्दा दाबी यहीँ कुरामा थियो, नयाँ नेपालमा हिँड्ने तपाईंको गोरेटो भयानक देखियो माधव कमरेड !

शासक र शासितको बलियो श्रेणी रचियो । शासक शासक नै रहने शासित घुँडा टेकेर लाचार हुने कहिलेसम्म ? असत्यमाथि सत्यको विजय – सन् १९९० अघिसम्म विश्वमा साम्यवाद सशक्त राजनीतिक आन्दोलन थियो । विश्व व्यवस्था नै कब्जा गर्ने रणनीति लिएको यस आन्दोलनले सोभियत संघको नेतृत्वमा झ्ण्डै आधा संसारलाई प्रभावित पारेको थियो ! तर, चीनले सन् १९७८ मा नै यो आन्दोलनप्रति सन्देह जनायो ।

उदार आर्थिक प्रणालीमार्फत पूँजीवादको बाटो अपनायो ! यसका लागि सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणलाई पनि प्रमुख कारक मानिन्छ। निक्सन माओ कार्यकालमै चीन र पश्चिमी संसारबीच खुला सम्पर्कको सेतु बनेका थिए। त्यसो त शीतयुद्धकालमा सोभियत–साम्यवादी योजनाबाट चीन अलग हुनु उसको राष्ट्रिय स्वार्थ र भू–राजनीतिक बाध्यता पनि थियो, सोभियत–चीन विभाजनको राजनीतिले नेपाली साम्यवादीहरूलाई पनि असर गर्‍यो।

यहाँका साम्यवादीहरू पनि सोभियत र चीन धुरीमा विभाजित भए ।

विश्वव्यापी कम्युनिस्ट एकीकरणको लहरकै क्रममा नेपालमा पनि कांग्रेस र बाममोर्चाको नेतृत्वमा प्रजातन्त्र पुनःस्थापना भयो, पूर्वी यूरोपबाट धमाधम साम्यवादी सरकारहरू ढले ।

पूँजीवाद र औद्योगिकीकरणपश्चात समाज साम्यवादमा जान्छ भन्ने मार्क्सको भविष्यवाणी यूरोपमै सहि सावित भइसकेको थियो। सोभियत संघको विघटन भइरहेको थियो । तर, यहीबेला नेपालमा भने तात्कालीन मालेका प्रतिनिधिहरू प्रजातन्त्रको आन्दोलनमार्फत कांग्रेसको नेतृत्वमा अन्तरिम सरकारमा सामेल भइरहेका थिए। विश्वमा फैलिएको प्रजातन्त्रको लहरले संसारमै पहिलोपल्ट सबैभन्दा धेरै प्रजातान्त्रिक राष्ट्रहरू बने। जसलाई हार्वर्ड विश्वविद्यालयका प्राध्यापक स्यामुएल पी. हन्टिङ्टनले ‘प्रजातन्त्रको तेस्रो लहर’ भने ।

लहरपछि विश्वका कयौं प्रजातान्त्रिक राष्ट्रहरू उदार राजनीतिक आर्थिक प्रणालीमा लागे, यसलाई ‘फ्री मार्केट कम्युनिष्ट’ पनि भनियो । २०५१ सालको संसदीय निर्वाचनपछि सत्ताको नेतृत्वमा आइपुगेको एमाले पनि ‘फ्री मार्केट कम्युनिष्ट’ बन्ने दौडमा माधवकुमारले पुर्याए ।

हिगेल–मार्क्सवादी दार्शनिक तथा विश्लेषक जिजेकले पछिल्लो समय एउटा शब्द प्रचलनमा ल्याएका छन्– ‘फुकुयामावादी । यस्ता वामपन्थी जो उदारवाद शासन प्रणालीका तत्वहरू निर्वाचन, अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, व्यक्तिको सार्वभौमिकता र मानवअधिकारलाई स्वीकार गर्दै उदार अर्थ प्रणालीलाई पनि आत्मसात् गर्छन् ! तर निश्चित सामाजिक, आर्थिक मुद्दाहरूमा ‘लेफ्ट’ नै रहनेछन् । फुकुयामावादी बामपन्थी सन् १९९० को घटनाक्रमपछिको नयाँ राजनीतिक चरित्र हो, यही चलित्र अहिले माधवकुमार नेपालले आत्मसात गर्दै छन्। इतिहास भनेको विचारधाराहरूको लडाइँ हो।

दर्शनका आधारमा नेपाली वामपन्थीको सन्दर्भ नियाल्ने हो भने हाम्रा कम्युनिष्ट पार्टीहरू पनि फुकुयामावादी बामपन्थी बनिरहेका छन् । अहिले माओवादी पनि फुकुयामावादी बामपन्थीतर्फ नै उन्मुख छ, जहाँ २०४६ सालपछि नै एमाले पहिल्यै दह्रो गरी उभिएको छ। एमालेको निर्देशक सिद्धान्त मानिएको तत्कालीन महासचिव मदन भण्डारी प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ माक्र्सवादी संस्करण हो । माधवकुमार नेपालले आफूलाई लेनिनवादी बताए पनि तत्कालीन सोभियत युनियनमा जस्तो कम्युनिष्ट पार्टीको एकाधिकार थोपर्न चाहने राजनीतिक चलित्र भएको व्यक्ति हुन् ।

अहिले माओवादीबाट विभाजित समूहरु शास्त्रीय मार्क्सवादकै अभ्यासमा देखिन्छन् । मोहन वैद्यले पनि सनातन साम्यवादको वकालत गर्न छाडेका छैनन् । बाबुराम भट्टराईले मार्क्सवादसँग साइनो तोडेर सम्पन्नताको कुरा गरिरहे । तर, मुलुकको भूराजनीति र प्रतिकूल अन्तर्राष्ट्रिय परिवेशले यी दलहरूलाई पनि ढिलोचाँडो कि पूर्णतः लोकतन्त्रवादी या फुकुयामावादी बनाउने निश्चित छ!

लेखक कमल परियार राजनैतिक बिश्लेषक तथा दलित अधिकार कर्मी बुटवल निवासी हुनुहुन्छ ।