सैनामैनामा राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता हुदै
बुटवल- दुधराक्ष युवा क्लब सैनामैनाको आयोजनामा दोस्रो संस्करणको रुपमा सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । शुक्रवार अर्थात २५ माघ देखि सुरु हुने प्रतियोगिता फाल्गुन ३ गते सम्म सञ्चालन हुने बिहिबार सैनामैना वडा न.६ कलौनी स्थित वडा कार्यालयको प्रांगणमा ( खेल हुने मैदानमा ) भएको पत्रकार सम्मेलन मार्फत आयोजकले जानकारी दिएको हो ।
प्रतियोगितामा ३ विभागीय सहित ७ टिमको सहभागिता रहने छ । जसमा त्रिभुवन आर्मी क्लब,नेपाल पुलिस क्लब,नेपाल ए.पि.एफ क्लब,गण्डकी प्रदेश भलिबल संघ,कोशि प्रदेश भलिबल संघ, गल्कोट भलिबल संघ र मणिमुकुन्द क्लब रहेका छन् ।
प्रथम हुने टिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रोले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ र तृतीय पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । सान्त्वना हुने टिमले ५५ हजार ५ सय ५५ प्राप्त गर्नेछन। उत्कृष्टखेलाडी,स्पाईकर,डिफेन्डर,ब्लकर,सर्भिस,प्रशिक्षक,सेटरलाई नगद राशीले सम्मान गरिने खेल संयोजक राज कुमार चौधरीले जानकारी दिए ।साथै उनले एउटा क्लवले ३ जना विदेशी खेलाडि समावेश गर्न पाउने समेत बताए ।
पत्रकार सम्मेलनमा क्लबको जर्सी, शिल्ड सार्वजनिक गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले समग्र खेल क्षेत्रको विकासमा नगरपालिका लागेको बताए । क्लबले विगतका दिन देखि नै उदारणीय कार्य गर्दै अघि बढेको प्रंशसा गर्दै आगामि दिनमा हातेमालो गर्न सधै तयार रहेको प्रमुख शर्माले जिकीर गरे ।त्यस्तै, उपप्रमुख विना रानाले नगरपालिकाले सामाजिक काम मात्र नभई खेल क्षेत्रको विकासका लागि नगरपालिकाले आवश्यक बजेट व्यवस्थापन गरेको भन्दै आगामी दिनमा महिला खेलाडिहरुलाई लक्षित गरि खेल आयोजना गर्न क्लवलाई सुझाव समेत दिईन ।
अध्यक्ष किरण पोख्रेलले सामाजिक क्षेत्रमा क्रियाशिल दुधराक्ष क्लबले खेलकुद विधा समेत काम गर्दै अघि बढेको भन्दै स्थानीय खेलाडीहरुको प्रतिभालाई स्थान दिन भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिता सम्पन्न गर्न ६० लाख भन्दा बढि खर्च लाग्ने अनुमान गरिएको भन्दै स्थानीय सरकार, प्रदेश सरकार तथा विभिन्न संघसस्थाबाट बजेट व्यवस्थापन गरेको क्लबका सचिब पदम पाण्डेले जानकारी दिए ।
कार्यक्रम क्लबका अध्यक्ष किरण पोख्रेलको अध्यक्षता, उपाध्यक्ष सुनिल पोख्रेलको स्वागत तथा सचिब पदम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।
प्रतिकृया दिनुहोस्