ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
कालिमाटीका सातै वडामा न्यायमा जनताको पहुँच कार्यक्रम सम्पन्न, न्याय सरल र सहज हुने अपेक्षा

कालिमाटीका सातै वडामा न्यायमा जनताको पहुँच कार्यक्रम सम्पन्न, न्याय सरल र सहज हुने अपेक्षा

सल्यान, ११ जेठ ।

संविधानले नै प्रतयाभुत गरेको न्यायलाई सरल र सहज बनाउने उद्देश्य सहित सल्यानको कालिमाटी गाउँपालिकाले वडा तहमा ‘न्यायमा जनताको पहुँच’ कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाका सातवटै वडामा न्यायिक सचेतना र पहुँच विस्तारका लागि कार्यक्रम सञ्चालन गरिएको हो । संविधान प्रदत्त न्याय प्राप्तिको अधिकारलाई व्यवहारमा उतार्ने उद्देश्यले सुरु गरिएको यो कार्यक्रमले स्थानीय स्तरमा नागरिकको न्यायप्रतिको भरोसा बढाएको गाउँपालिकाले जनाएको छ ।

विज्ञापन

कार्यक्रम मार्फत न्यायिक समितिको संरचना, भूमिका, विवाद समाधान प्रक्रिया, उजुरी दर्तादेखि निर्णय कार्यान्वयनसम्मका विधिबारे अधिवक्ता तथा न्यायीक समितिमार्फत विस्तृत जानकारी दिइएको थियो ।

न्याय प्रणाली सरल, छिटो र मितव्ययी बनाउनका लागि अझै धेरै काम गर्न आवश्यक रहेको भन्दै कालिमाटी गाउँपालिका अध्यक्ष दान बहादुर केसीले न्यायमा पहुँच बढाउन र नागरिकको विश्वास जित्न योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने बताए । न्यायीक समितिलाई सबल बनाउन र न्यायको पहुँच स्थानीय स्तरसम्मै सुनिश्चित गर्न टेवा पुर्याउने उद्देश्य सहित नागरिकको वस्तीस्तरमै पुगेर कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सन्सील्ता वली डिसीले बताइन्

निष्पक्ष र संवैधानिक दायित्व अनुरूप न्यायीक समितिले काम गरिरहेको भन्दै उनले हालसम्म न्यायीक समितिमा दर्ता भएका १२० उजुरी मध्ये एउटामात्र प्रक्रियामा रहेको र अरु सबै मिलापत्रबाट टुंगाएको बताइन् ।

नागरिकलाई आफ्नो हक अधिकारको विषयमा जानकार बनाउन, आफुलाई अन्याय हुँदा न्यायको खोजी गर्न सक्ने क्षमताको विकास गर्नका लागि यो अभियानले महत्वपूर्ण सहयोग पुर्याएको गाउँपालिकाले जनाएको छ ।

वडास्तरको कार्यक्रममा अधिवक्ता गिर्दल बोहराले न्यायिक समितिको परिचय, कार्यक्षेत्र, कानुनी प्रक्रिया र स्थानीय विवाद समाधानका व्यवहारिक उपायहरूबारे सहभागीलाई जानकारी गराएका थिए ।

विभिन्न वडाका कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हर्क बहादुर वली, वडा अध्यक्षहरु, न्यायीक समितिका सदस्यहरु तथा सम्बन्धीत वडाका जनप्रतिनिधीहरु पनि सहभागि भएको न्यायीक समितिको कार्यालयका उजुरी प्रशासक विजय वलीले जानकारी दिए ।

कालिमाटी गाउँपालिकाको आयोजना तथा मध्यपश्चिम युवा मिलन केन्द्रको सहजीकरणमा सञ्चालन गरिएको यो कार्यक्रमले वडास्तरमा कानुनी चेतना र समाधान प्रक्रिया बुझ्न सघाएको बताइएको छ ।

वडा नं १ को लक्ष्मीपुर, वडा नं २ र ३ को रामपुर, वडा नं ४ को असुरेनी, वडा नं ५ को दमदुवाली, वडा नं ६ को हात्तिढुंगा र वडा नं ७ को स्वामीबासमा अभिमुखिकरण, न्यायीक संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको हो ।

विवाद सिर्जनाको सुरुमै पहल लिएको खण्डमा न्याय सरल र सहज हुने विश्वासका साथ कालिमाटी गाउँपालिकाले सचेतना अभियानलाई निरन्तरता दिने जनाएको छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता