लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

लुम्बिनीमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

बुटवल — लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्‍वासको मत प्राप्त गर्न नसकेपछि एमाले सकारको नेतृत्वबाट बाहरिएको हो । नयाँ सत्ता गठबन्धन निर्माण भएपछि यसअघि गण्डकी र सुदूरपश्चिममा पनि विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेको सरकार ढलेको थियो ।

संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार विश्वासको मत मागेका थिए ।

विज्ञापन

मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्र परेपछि सरकार ढलेको हो । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्छ । तर, अहिले एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मत मात्र प्राप्त गरेका हुन् । विश्वासको मतको विपक्षमा भने ५३ मत परेको सभामुख तुलाराम घर्तीले जानकारी गराएका छन् । ‘सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ,’ उनले भने, ‘अर्को बैठक सुचना मार्फत जानकारी गराईनेछ ।’

पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए । सरकार गठनको साढे तीन महिना र विश्वासको मत पाएको तीन महिनामै उनले दोस्रो पटक विश्वासको मतको सामना गरेका हुन् । उनलाई समर्थन गरेका माओवादीसहितका ५ दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले दोस्रो पटक विश्वासको मत मागेका हुन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनमा एमालेका २९ र राप्रपाका ४ गरी ३३ मत सरकारको पक्षमा प्राप्त भएको हो । मुख्यमन्त्री गिरीको विपक्षमा कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जसपा, लोसपा र जनमतका ३र३, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका १र१ प्रदेश सभा सदस्यले मत दिएका छन् ।

एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा अर्को सरकार गठनको प्रकृया गठबन्धनका दलहरुले सोमबार नै सुरु गर्ने भएका छन् । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारले विश्वासको मत प्राप्त गर्न नसकेको जानकारी सोमबार नै प्रदेश प्रमुखलाई बनाएर कांग्रेस नेता डिल्ली चौधरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख अमिक शेरचन समक्ष आग्रह गर्ने बताए । ‘हामी आज नै सरकार गठनको प्रकृया सुरु गर्न आग्रह गर्दै छौं,’ उनले भने, ‘सम्भवत बुधवारसम्ममा नयाँ मुख्यमन्त्री नियुक्त हुनुहुनेछ ।’
गठबन्धनका दलहरुले यस अघि नै ५३ जना प्रदेश सभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुख शेरचन समक्ष बुझाई सकेका छन् । उनीहरुले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न माग गर्दै आएका छन् ।