जसले पञ्चेबाजा ठटाएर राज्यसँग बिजुल्ली मागे

जसले पञ्चेबाजा ठटाएर राज्यसँग बिजुल्ली मागे

मंसिर २२- महेश नेपाली जुम्ला

संवत् १८४६ असोजमा गोर्खालीले जुम्ला राज्यलाई सडयन्त्र गरेर हराएपछि ठूलो धनजनको क्षति भएको थियो। त्यसपछि हार स्वीकार गर्न बाध्य भएका जुम्लीलाई गोर्खा राज्यले अधिया सर्त तोकेको थियो।

अधिया सर्त भनेको जुम्ला राज्यका जनताले वर्षभरी गरेको कामको आधा हिस्सा गोर्खालीलाई बुझाउनुपर्ने। त्यसबेला सबै जनता खेतीपातीमा लागेका हुनाले वर्ष भरी उब्जाएको अन्नको आधा गोर्खालीलाई दिनुपर्ने थियो।

यसरी वर्षभरि खुन पसिना बगाएर उब्जाएको अन्नको आधा हिस्सा गोर्खालीले खोसेर लिन थालेपछि जुम्लीहरु किर्तिम अनिकालको चपेटामा पर्न थाले। त्यो काममा बढी खटिने सह्य थिएन। तथापि विद्रोहको सम्भावना पनि थिएन।

संयोग त्यसबेला सिंजाका दुई नामुद समाजसेवी कालू पाध्या र शंकर पाध्याको आपसमा मिलाप थिएन। उनीहरु मिलेर केही गरिदिएको भए अधिया शर्त हटाउन सफल भइन्थ्यो कस भन्ने जुम्ली महिलाको बुझाइ थियो।

दैनिक १६ देखि १८ घण्टा काम गर्न सक्ने साहसी जुम्ली महिलाहरुको आपत्ति भनेको आफ्नो पसिनाको कमाई सित्तैमा अरुले खाइदिएकोमा थियो। त्यसैले उनीहरुले विद्रोहको आह्वान गर्न गीत गाए;

कालू पाध्या, शंकर पाध्या दुबै मिली एक।
दुई मिली नेपाल बाइजाउ, अधिया नटेक।

त्यसबेलाको नेपाल भनेको काठमाडौं खाल्डो। गोर्खालीहरुले त्यहीँबाट शासन गरिरहेका थिए। आज पर्यन्त शासन गर्ने स्थान र शैली उही छ।

उनीहरुलाई त्यहीँ गएर आन्दोलन गर्न भनेर जुम्ली महिलाहरुले आग्रह गरिरहेका थिए। प्रस्तुत गीतकाे भाव त्यही हो।

त्यसपछि कालू पाध्या र शंकर पाध्या मिलेर काठामाडौ जान्छन् र दिउँसै झर्को (दियालो) बालेर राज्य खोज्छन्। त्यसबेलाका राजा बहादुर शाहले उनीहरुलाई बोलाएर कुरा सुन्छन्। दियालो आन्दोलन गर्ने उनीहरु अधिया शर्तले किसान मर्कामा परेकाले त्यो हटाउनुपर्ने माग राख्छन्।

त्यसपछि राजाले अधिया शर्त हटाएर पाँच पैसा कर उठाउने रित बसाल्छन् र जुम्लीहरुले पाँच पैसा कर तिर्न थाल्छन्।

त्यस यता पनि राज्यको जुम्लालाई हेर्ने नजर फरक छैन। राज्य नामको संयन्त्रले आजसम्म आफै बुझेर कुनै विकास गर्दैन। निकास दिँदैन। त्यसैले कर्णालीबासीले पटक–पटक राज्य खोज्नु परेको छ। राज्यको कान ठटाएर सुनाउनु परेको छ।

यसपालि पनि राज्यका कान नठटाई नहुने दिन आयो। देशमा बिजुली बलेको एक शताब्दी भइसक्दा समेत कर्णाली अँध्यारै हुन थालेपछि हालका सांसद गजेन्द्रबहादुर महतले राज्यलाई सुनाउन पञ्चेबाजाको साहारा लिनुर्‍यो।

उनलाई जुम्लामा बिजुली नियमित र व्यवस्थित गराउन दबाब दिनकाे लागि काठमाडौंमा पञ्चेबाजा ठटाएर राज्यलाई सुनाउने बाध्यता आइलाग्यो।

मङ्गलबार महतको नेतृत्वमा जुम्लाका नागरिकले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्‍याली निकालेका हुन। स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित र्‍याली निकालिएको थियो।

जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न पटक–पटक विद्युत् प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत् प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहित र्‍याली गर्नु परेको प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले बताए।

उनले भने,’जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको भए पनि पोल, तार र मिटर पुग्न पुगेको छैन। गाउँ-गाउँमा प्रसारण लाइन विस्तार हुन सकेको छैन।’

कर्णालीको समस्या संसदमा पटक-पटक राख्दा पनि सरकारबाट सुनुवाई नहुँदा बाध्यताले सुनाउने कार्यक्रम राख्नुपरेको उनको भनाई छ।

‘सजिलै सुन्दैन नेपाल सरकार र विद्युत प्राधिकरणले। अनि सजिलै सुनेन भने बाजा बजाउने चलन छ हाम्रो कर्णालीतिर,’ उनले भने, ‘कर्णालीमा प्रसारण लाइनको विस्तारको बारेमा कसैको ध्यान गइराखेको छैन।’

र्‍यालीमा ‘हामीलाई बत्तीको मिटर देऊ, ट्रान्सफर्मरको व्यवस्था गर, मलाई पनि बत्तीमा पढ्ने रहर छ, हाम्रो खोलाको पानी त्यसै बग्यो, घर भने अँध्यारो छ, बत्तीमा भोल्टेज पनि हुनुपर्छ हो है’ लगायत लेखिएको प्ले कार्ड पनि प्रदर्शन गरिएको थियो।

त्यसैगरी जुम्लाका सबै बस्तीमा प्रसारण लाइनको विस्तार गर्न र प्रसारण लाइन पुगेका क्षेत्रमा चाँडो भन्दा चाँडो मिटर लगायतका आवश्यक सामग्रीको उपलब्धता गराउन प्राधिकरणका कार्यकारी निर्देशकलाई ज्ञापनपत्रसमेत बुझाइएको छ।

र्‍यालीसहित नेपाल विद्युत् प्राधिकरणमा पुगेका जुम्लाका नागरिकले कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षमा नजाने भन्दै घिसिङलाई ज्ञापनपत्र बुझ्न प्राधिकरणको आँगनबाहिर नै बोलाएका थिए। कुलमान आँगनमा आउन ढिलो गरेपछि ज्ञापनपत्र प्राधिकरण भवनबाहिर नै टाँसिएको थियो। 

यद्यपि कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको आँगनमा आएर जुम्लामा मिटर पठाउने प्रतिबद्धता गरेका थिए। उनले भने,’जिल्लाभरि बिजुली विस्तारका लागि टेन्डर आह्वान गर्न लागिएको छ।’

ज्ञापन पत्रमा ३३ केभीए प्रसारण लाइन निर्माणको काम चाँडो सम्पन्न गर्नुपर्ने र ११ केभीए लाइनमा भएको भोल्टेज उतारचढाव समस्या समाधान गर्नुपर्ने लगायतका माग पनि गरिएको छ।

श्रोत breaknlinks.com मा प्रकाशित

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता