छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमै
साउन ५ सल्यान
सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि लाभग्राही आफैं वडा कार्यालय पुग्नुपर्ने परम्परालाई तोड्दै सल्यानको छत्रेश्वरी गाउँपालिका–५ ले सेवा नै नागरिकको घरदैलो नजिक पुर्याउने भएको छ।
आर्थिक वर्ष २०८३/८४ का लागि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीको नवीकरण राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक प्रणालीमार्फत टोल–टोलमै सञ्चालन गरिने भएको हो। ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा दुर्गम बस्तीका नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले वडा कार्यालयले यो व्यवस्था गरेको जनाएको छ।
वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेतका अनुसार यस अभियानले लाभग्राहीलाई वडा कार्यालयसम्म धाउनुपर्ने झन्झट हटाउनुका साथै कार्यालयमा हुने भीडसमेत व्यवस्थापन गर्न सहयोग पुग्नेछ।
उहाँका अनुसार लाभग्राहीले नेपाली नागरिकताको प्रतिलिपि, सामाजिक सुरक्षा परिचयपत्र, पासपोर्ट साइजको फोटो तथा आवश्यक अन्य कागजात साथमा लिएर आफ्नो टोलका लागि तोकिएको मिति, समय र स्थानमा स्वयं उपस्थित हुनुपर्नेछ। बालबालिका, एकल महिला तथा ‘क’ र ‘ख’ वर्गका लाभग्राहीले आवश्यक थप कागजातसमेत अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाइएको छ।
वडा अध्यक्ष बस्नेतले सबै लाभग्राहीलाई तोकिएको मिति र स्थानमा समयमै उपस्थित भई नवीकरण गराउन आग्रह गर्दै टोलमै सेवा उपलब्ध गराउने व्यवस्थाले सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र नागरिकमैत्री बनाउने विश्वास व्यक्त गर्नुभयो।
सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा तालिका
| मिति | टोल नं. | स्थान | समय |
|---|---|---|---|
| साउन ९ गते | १ | बागबजार | बिहान १०:०० बजे |
| साउन ९ गते | २ | टुनिबोट | बिहान १०:०० बजे |
| साउन १० गते | ३ | पाखापानी | बिहान १०:०० बजे |
| साउन १० गते | ४ | दियारगाउँ | बिहान १०:०० बजे |
| साउन १६ गते | ५ | पोखरा | बिहान १०:०० बजे |
| साउन १७ गते | ६ | महानेटा | बिहान १०:०० बजे |
| साउन १७ गते | ७ | चौरपानी | बिहान १०:०० बजे |
| साउन २३ गते | ८ | ढोरेनी | बिहान १०:०० बजे |
| साउन २४ गते | ९ | सिरुवाली | बिहान १०:०० बजे |
सूचना: सबै लाभग्राहीले आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई नवीकरण गराउनुहुन वडा कार्यालयले अनुरोध गरेको छ।
#छत्रेश्वरीमा सामाजिक सुरक्षा भत्ता नवीकरण अब टोल–टोलमैसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा