छत्रेश्वरी–२ मा ज्येष्ठ नागरिक तथा टुहुरा बालबालिका सम्मान
सल्यान, असार १९।
सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नं. २ ले ज्येष्ठ नागरिक तथा टुहुरा बालबालिकालाई सम्मान गर्दै शैक्षिक सामग्री वितरण गरिएको छ।
वडा कार्यालयको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा ७५ वर्ष उमेर नाघेका ४९ जना ज्येष्ठ नागरिकलाई इलेक्ट्रिक जग र टर्चलाइट प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी वडाका २० जना टुहुरा बालबालिकालाई विद्यालय झोला, कापी, कलमलगायतका स्टेशनरी सामग्री हस्तान्तरण सहित सम्मान गरिएको हाे।

कार्यक्रममा वडा अध्यक्ष प्रेमबहादुर नेपालीले ज्येष्ठ नागरिकहरू समाजका जीवित इतिहास भएको उल्लेख गर्दै उनीहरूबाट वडाको इतिहास, संस्कृति र अनुभव सिक्न सकिने बताउनुभयो।
उहाँले “ज्येष्ठ नागरिक खुला विश्वविद्यालय समान हुन्। उहाँहरूसँग इतिहास र जीवनका अनुभव सिक्न कुनै शुल्क लाग्दैन,” भन्दै उहाँहरूप्रति सम्मान प्रकट गर्न तथा पुस्तान्तरण ज्ञानलाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

अध्यक्ष नेपालीले पछिल्लो समय ज्येष्ठ नागरिकलाई वृद्धाश्रमसँग मात्र जोडेर हेर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न वडा कार्यालयले परिवार र समाजमै सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्न यस्ता कार्यक्रम सञ्चालन गरेको बताउनुभयो।
उहाँले टुहुरा बालबालिकालाई उपलब्ध गराइएको शैक्षिक सामग्रीले उनीहरूको अध्ययन–अध्यापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने जाेड गर्नुभयो ।
सम्मान तथा सहयोग कार्यक्रममा वडा नं. २ का वडा सदस्यहरू लालबहादुर वली, इन्द्रा वली, ज्येष्ठ नागरिक, बालबालिका तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
#छत्रेश्वरी–२ मा ज्येष्ठ नागरिक तथा टुहुरा बालबालिका सम्मानसामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता

















लेखकको सम्वन्धमा