ताजा अपडेट
ताजा अपडेट ×
DK hd tv
जनयुद्धको कमाण्डर  देखि मन्त्री बन्ने को हुन अथक

जनयुद्धको कमाण्डर देखि मन्त्री बन्ने को हुन अथक

काठमाडाैं।२०७८ असाेज २२

अथक जनयुद्धका एक कमाण्डर हुन। उनले मन्त्री बन्नका लागी मात्रै मन्त्री बनेका छैनान उनको योगदान र बलिदानको कोटा बाट आज उनी मन्त्री बनेका छन।

विज्ञापन

मन्त्री बन्नुमा उनकाे लामो राजनीतिक संघर्ष छ।  पार्टीका लागि अथकले गरेको त्याग नै उनकाे मूल्यांकनको मुख्य आधार हो।

उनकाे वास्तविक नाम महेश्वर गहतराज भएपनि जनयुद्धकालमा उनी अथक नामले चिनिन्थे। तत्कालिन नेकपा माओवादीले थालेको ‘जनयुद्ध’का क्रममा बाँके र बर्दियामा दैनिकजसो हुने घटनामा जोडिएर आउने नाम थियाे‘अथक’। बाँके र बर्दियामा माओवादीले गरेको कारबाहीको जिम्मा यिनै ‘अथक’ले लिन्थे। सञ्चार माध्यमले उनको हवाला दिँदै समाचार सम्प्रेषण गर्थ्यो। विभिन्न आरोह–अवरोह पार गर्दै उनी शुक्रबार संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयको मन्त्री बनेका हुन्।

२०२८ सालमा रुकुममा जन्मिएका उनी हाल नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ धम्बोझीका स्थायी बासिन्दा हुन्। आमा रति विश्वकर्मा र बुबा सुकीराम विश्वकर्माको कोखबाट जन्मिएका उनको भित्री कथा भिन्न छ। शैक्षिक योग्यताका हिसाबले आई.ए सम्मको अध्ययन गरेका उनले २०४६ सालमा नेकपा मसालको पार्टी सदस्यता लिएका थिए।उनी अहिले बाँके, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सांसद हुन्।

प्रारम्भिक राजनीतिक चेतना २०४३ सालको तत्कालिन पञ्चायती आमनिर्वाचन र त्यसकाविरुद्ध उठेका आवाजहरुबाट भएको उनी बताउँछन्। दलित समुदायमा भइरहेको अमानवीय व्यवहार शोषण, दमन, उत्पीडनका कारण त्यसबेला स्थानीय सामन्ती राजारजौटा र पञ्चायतकाविरुद्ध तिब्र घृणा विकास भएकाे पनि उनी सम्झन्छन्।

२०४५ सालमा वीरेन्द्र मावि बाँफिकोट रुकुमको अनेरास्ववियू इकाई सचिवमा उनी चुनिए। त्यसपछि विद्यार्थी राजनीतिमा लाग्ने नसाले उनलाई छोयो। २०४६ सालमा जिल्ला समिति रुकुमको कोषाध्यक्ष हुँदै सोही वर्ष चितवनमा सम्पन्न राष्ट्रिय भेलामा प्रतिनिधि भए।

२०४६ सालमा पंचायत विरोधी भावना बढ्दै जनआन्दोलनका रुप लिंदै जाँदा बाँफिकोट भेगमा नेकपा मशालको संघर्षका गतिविधि सञ्चालन गर्न लोकेन्द्र विष्ट मेरै घरमा बसेर पार्टी र आन्दोलनको बारेमा महत्वपूर्ण मार्ग निर्देशन गरेकाे अथक स्मरण गर्छन्। भन्छन्, ‘हामीलाई उहाँहरुले पार्टीका संघर्षका कार्यक्रमहरु पर्चा छर्ने, पोष्टर टाँग्ने, वालिङ गर्ने, मसाल जुलुस गर्ने जस्ता क्रियाकलापमा सरिक गराउनु भयो।’

उनले २०४७ मा तत्कालिन नेकपा मशालको एसीएम, अनेरास्ववियुको जिल्ला सचिव र राप्ती अञ्चल समन्वय समितिको सचिव समेतको जिम्मेवारी पाए। उनले डोल्पा र जाजरकोट समेतमा संगठन विस्तारको जिम्मा पाएका थिए।

२०५० मा हेटौंडा राष्ट्रिय भेलाबाट अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्यमा निर्वाचित भएका अथक सोही वर्ष नेपाल उत्पीडित दलित मुक्ति समाजको बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा पनि निर्वाचित भए। रुकुम सल्यान र कर्णाली अञ्चलको सांगठनिक जिम्मा लिएर काम गरे। २०५१ मा नेकपा माओवादी रुकुमको जिल्ला भेलाबाट जिल्ला समिति सदस्यमा निर्वाचित भए।

जनयुद्ध तयारीको अन्तिम प्रशिक्षण प्रचण्डबाट रोल्पामा सम्पन्न भएपछि दिमागमा पूरै जनयुद्ध राखेर तयारीमा लागेकाे उनी सम्झन्छन् । पार्टीले अन्तिम तयारी र थालनीको मिति समेत तय गरिसकेपछि प्रतिनिधिमूलक एक कारवाही रुकुममा गर्ने निर्देशन केन्द्रले गरेकाे र पश्चिम कमाण्ड इन्चार्ज बादलको उपस्थितिमा बसेको जिल्ला समिति बैठकले कारवाहीको लागि उनकै कार्य क्षेत्रको आठवीसकोट, राडीजिउँला प्रहरी चौकीलाई टार्जेट गरी सर्वे गर्ने निर्णय गरेकाे  उनले बताए।

२०५७ मा रुकुमलाई माओवादीले देशको पहिलो जिल्ला जनसरकार घोषणा गर्दा अथक त्यहाँ पार्टीको महत्वपूर्ण जिम्मेवारीमा थिए। २०५७ मा पार्टी दोस्रो राष्ट्रिय सम्मेलन लगत्तै रुकुम जिल्ला पार्टी इन्चार्जमा नियुक्त भए, अथक। २०५९ मा विशेष क्षेत्रीय व्यूरो र रुकम इन्चार्जबाट भेरी–कर्णाली क्षेत्रीय व्यूरोमा सरुवा भएर गए। त्यहाँ हुम्ला, मुगु र जुम्ला, कालीकोट जिल्लाको इन्चार्ज भएर काम गरे। ‘एक वर्ष कर्णालीका गाउँबस्तीको संगठन र आन्दोलनको नेतृत्व गर्ने अवसर मिल्यो, कर्णाली बसाई शिक्षापछि उत्साहजनक रह्यो,’ उनी भन्छन्।

उनी कर्णालीमा रहँदा बाँके–बर्दियाको इन्चार्जमा ज्ञामप्रसाद चालिसे ‘आयाम’ थिए। तत्कालिन सुरक्षाकर्मीको आक्रमणबाट चालिसे मारिए। बाँके र बर्दियामा पार्टीले ठूलै क्षति व्यहोरेको अवस्थामा नयाँ जिम्मेवारीका साथ अथक यस क्षेत्रमा आइपुगे। उनी यहाँ आउँदासम्म आयामसहित २३ जना प्रभावशाली नेताहरु (डिसिएम) मारिएका थिए। भूमिगत जीवन र नौलो परिवेशमा पनि अथकले बाँके र बर्दियामा आफुलाई स्थापित नै गराए। अथकले बाँके र बर्दियामा फरक शैलीबाट युद्ध र पार्टीका गतिविधी अगाडि बढाए।

‘ज्ञाम आयाम संस्कृति भनेर संश्लेषण गरी व्यापक स्कूलिङ चलाइयो, त्यसबाट सबैमा बद्ला भाव र संकल्पका साथ व्यापक जनतालाई संगठित गर्ने दिशातिर प्रेरित र जिम्मेवार बनाइयो,’ उनले विगतलाई स्मरण गर्दै भने। २०६० मा अथक पार्टी केन्द्रीय समितिको सदस्यमा मनोनित भए। त्यसपछि उनले बाँके–बर्दिया विशेष जिल्ला र केही समय सुर्खेत जिल्ला समेतको नेतृत्व सम्हाल्न पुगे।

२०६३ मंसिरमा विस्तृत शान्ति सम्झौतापश्चात् माओवादी शान्तिपूर्ण राजनीतिमा आयो। उनी २०६५ देखि २०६९ साउनसम्म पार्टी केन्द्रीय सदस्यको जिम्मेवारीसँगै थारुवान राज्य समितिको सेक्रेटरी भए। २०६९ माघ २० देखि २५ गतेसम्म हेटौडामा सम्पन्न एकताको सातौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भए। २०७० सालको संविधानसभाको निर्वाचनमा माओवादीका तर्फबाट बाँके, क्षेत्र नम्बर १ मा उम्मेदवार भएपनि पराजित भएका थिए।

२०७१ मा विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अथक पुनः पार्टी केन्द्रीय समितिमा निर्वाचित भए। २०७३ जेठमा पार्टी केन्द्रीय समितिको सचिवालय सदस्यमा मनोनित भएका अथक २०७४ मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर १ बाटै वाम गठबन्दनका तर्फबाट उनी उम्मेदवार भइ निर्वाचित भएका थिए।

२०७५ जेठ ३ गते माओवादी केन्द्र र एमालेबीच पार्टी एकता पश्चात गठन भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को उनी केन्द्रीय सदस्य भएका थिए। प्रतिनिधि सभामा निर्वाचित भएपछि उनी संसद भवनदेखि आफ्नो निर्वाचन क्षेत्रमा समय बिताउँदै आएका छन्। बाँकेको समग्र विकास निर्माणका साथै क्षेत्र नम्बर १ का विभिन्न समस्यामा उनी सम्बन्धित पक्षलाई जवाफदेही बनाउने काम गर्छन्। उनी जिल्लाको राप्तीपारी विद्युतीकरण, हुलाकी राजमार्ग निर्माणलगायत बाँकेको समग्र विकास निर्माणका काममा अगाडि सर्ने नेताका रुपमा चिनिन्छन्।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता