सल्यानको बुराँसे युद्ध र रोमु शाहीको पुनर्जन्म : युद्ध स्मरण
०८३ जेठ ३० सल्यान
२०५९ साल जेठ २९ गते सल्यानको दमाचाैर गा वि स वडा नं ९ बुरासे क्षेत्रमा भएको भीषण युद्ध नेपाली सेना र माओवादी जनमुक्ति सेना वीच भएको सशस्त्र द्वन्द्वकालकाे एक महत्वपूर्ण घटनामध्ये एक मानिन्छ।
त्यही युद्धसँग जोडिएको छ बागचौर नगरपालिका–८ का निवर्तमान वडा अध्यक्ष तथा माओवादी नेता रोमु शाहीको जीवन-मृत्युको संघर्षको कथा।
रोमु शाहीका अनुसार २०५९ जेठ २६ गते विद्यालयमा अध्यापन गराइरहेका बेला सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिइ परिवारमाथि दुर्व्यवहार, घरमा लुटपाट तथा आफूलाई लगातार शारीरिक र मानसिक यातना दिइएको उहाँले स्मरण गर्नुभएकाे छ।
केही दिनसम्म विभिन्न स्थानमा लगेर हिरासतमा राखिएको र अमानवीय व्यवहार गरिएको उहाँ बताउनु हुन्छ ।
२०५९ जेठ २९ गते बुरासे टाकुरामा पुगेका शाही नेपाली सेना र माओवादी जनमुक्ति सेना वीच दाेहाेरा भिडन्त सुरु भएपछि बन्दी अवस्थामै रहनु भएको उहाँ बताउनु हुन्छ ।
बेलुका ७ बजे झिसमिसे साँझमा भीषण दोहोरो भिडन्त सुरु भयो।युद्धका क्रममा घाइते सैनिकहरू बोक्न बाध्य बनाइएकाे र आफूलाई बाँच्ने कुनै आशा नरहेको उहाँ बताउँनु हुन्छ ।राति करिब ९ बजेतिर निगरानीमा रहेका सैनिक घाइते भएपछि उहाँले जोखिमपूर्ण निर्णय गर्दै घेरा तोडेर भाग्ने प्रयास गरेकाे बताउनु हुन्छ ।
भाग्ने क्रममा उहाँकाे देब्रे खुट्टामा गोली लाग्यो। गोलीले खुट्टा छेडे पनि हिम्मतका साथ भिर, जङ्गल बम बारुद सगै संघर्ष गर्दै दहगाउँ तिर झरेको स्मरण गर्नु हुन्छ ।
रक्ताम्य अवस्थामा रातभरि यात्रा गरेपछि अन्ततः उहाँ सुरक्षित सम्पर्कमा पुग्नु भएको र रजिभिरमा बसेकाे जनमुक्ति सेनाको स्वास्थ्य टोलीले उहाँको घाउको उपचार गरेको शाहीले स्मरण गर्दै उल्लेख गर्नु हुन्छ ।
घटनाको २३ वर्ष पूरा भई २४ औँ वर्षमा प्रवेश गरेको अवसरमा बुरासे पुगेका शाहीले उक्त दिनलाई आफ्नो “पुनर्जन्मको दिन” को रूपमा सम्झिएकाे स्मरण गर्नु भएको छ।
उहाँका अनुसार त्यो दिन केवल एउटा युद्धको स्मृति मात्र नभई मृत्युलाई जितेर नयाँ जीवन पाएको दिन पनि हो।
“आजकै दिन मैले सेनाको पञ्जाबाट ज्यान बचाएँ।
आजकै दिन मैले दोस्रो जीवन पाएँ,” शाहीले स्मरण गर्दै सामाजिक सञ्जालमा उल्लेख गर्नु भएको छ।
बुरासे युद्ध नेपाली सशस्त्र द्वन्द्वको इतिहासमा चर्चित घटनाका रूपमा स्मरण गरिएकाे छ।
रोमु शाहीको यो अनुभव द्वन्द्वकालीन मानवीय पीडा, संघर्ष र बाँच्नका लागि गरिएको असाधारण साहसको जीवित दस्तावेज बनेको छ।
लेखक: नेपाली कम्युनिस्ट पार्टीका नेता राेमु शाही बागचाैर ८ सल्यान
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता















लेखकको सम्वन्धमा