कर्णाली उत्सव तेस्रो संस्करण सञ्चालनको तयारी पुरा

कर्णाली उत्सव तेस्रो संस्करण सञ्चालनको तयारी पुरा

फागुन २६ सागर परियार जुम्ला ।

कर्णाली उत्सवको तेस्रो संस्करणको तयारी पूरा भएको छ।

साहित्य सम्मेलनको फर्म्याटमा संचालन हुने कार्यक्रममा यो वर्ष समृद्धिको विषयमा बढी चर्चा गरिने आयोजक संस्था ऋति फाउन्डेसनले जनाएको छ।

कार्यक्रम फागुन २७ गते बिहान ११ बजेदेखि बुलेबुले उद्यानमा कर्णाली उद्घाटन हुने ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले बताए।

‘यसपालीकाे उद्घाटन सत्रमा सोफिया थापाले गाएको छाउपडी सम्बन्धि गीत बिमोचन हुनेछ,’ उनले भने,’आयोजक शहरको तर्फबाट विरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्वागत मन्तब्य दिनुहुनेछ।’

उनकाअनुसार तीन दिनको कार्यक्रममा १२ वटा सत्र संचालन हुनेछन्।

‘कर्णाली उत्सवको प्रभावले लाम्राको भएको ‘गाउँका कुडा’को सिकाई प्रस्तुत गर्न तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने आउनुहुनेछ। खस भाषाको लहरो शिर्षकमा प्राध्यापक दिनेशराज पन्तले विद्वत प्रवचन दिने कार्यकाम छ,’ उनले थपे,‘उद्घाटनको दिन कर्णाली भेरी सुसेल्दो छ, बजार विकास हजार निकास गरी दुईवटा सत्र संचालन गरिनेछ।’

कर्णाली उत्सवमा अघिल्लो वर्षबाट समाजको लागि पराक्रम गरेका र कर्णाली चिनाउने अदृश्य हिरोलाई पैकेलोको रुपमा आफ्ना कथा भन्न लगाउने कार्यक्रम राखिएको आयोजक समितिका प्रकाश लामिछानेले बताए।

‘हामी पैकेलो चिनाउने कामलाई थप प्रभावकारी बनाउने योजनामा छौं,’ उनले भने,‘पैकेलो कर्णालीको इतिहाससँग जोडिएको र कर्णाली चिनाउने गतिविधि गरेका मान्छे हुनेछ। यो वर्ष चार जना पैकेलालाई मञ्चमा उतारिनेछ।’

कर्णालीमा सामाजिक संवातको परम्परा नभएको समयमा कर्णाली उत्सवले नयाँ–नयाँ पात्रलाई मञ्चमा राखेर विमर्श गर्ने गरेको उत्सवका अभिभावक तथा नेपाल सरकारका सचिव केबल भण्डारीले बताए।

‘आम नागरिकको आवाजलाई कम सुनिने संस्कार रहेको समयमा कर्णालीका नागरिकले विचार विमर्श गर्ने थालनी हुनु निकै महत्त्वपूर्ण कदम हो,’ उनले भने,‘यहाँ भएका छलफलको आधारमा प्रदेश र स्थानीय तहमा परेका प्रभावले पनि कार्यक्रम सार्थकतालाई प्रष्ट्याएको छ। यो मञ्चको आयतनलाई अझ फराकिलो बनाउने काम आगामी दिनमा पनि हुनेछन्।’

कर्णाली उत्ववलाई ‘कुडा कर्णालीका’ नारा दिएर विचारको उत्साह बनाइएको आयोजक संस्था ऋति फाउन्डेसनका अध्यक्ष कमल लम्सालले बताए।

‘विचारको मेला लगाएर पनि रामाउने संस्कृतिको विकास गर्ने काम कर्णाली उत्सवले थालेको छ,’ उनले भने,‘यसमा समावेशीताको सवाललाई पनि ख्याल गरिरहेको छ।’

उनकाअनुसार हरेक सत्रका तीन वटा विशेषता रहेका छन्। हरेक सत्रको नाममा खस शब्दहरु आउनु, सहभागीतामा अधिकतम समावेशी बनाउनु र हरेक सत्रमा कम्तीमा एक जना सहभागी कर्णालीकै होस् भनी अधिकतम् प्रयत्न गरिनु हो।

कर्णाली बुझ्ने र बुझाउने प्रयास गरेको कर्णाली उत्सवमा यो वर्ष सांकेतिक भाषाको माध्यममबाट कान नसुन्ने सम्बन्धि अपांगता भएकाहरुको पहुँच पुगाउनले लक्ष्य राखिएको आयोजकले जनाएको छ।

समृद्ध कर्णाली निर्माण गर्ने अभियानमा विचारको मेलाले सहयोग गर्नेमा आफू विश्वस्त रहेको आयोजक संस्थाका माधव चौलागाईले बताए।

‘कर्णालीको विषयमा चिन्ता गर्ने र चासो राख्ने हरेकको विचारबाट उत्सवलाई सुसज्जित बनाउने काम गरिरहनुभएको छ,’ उनले भने,‘उहाँहरु देशको जुनसुकै कुनाका भए पनि हाम्रा लागि सम्मानित हुनुहुन्छ। यसबाट हामीले अधिकत सिक्ने प्रयास गर्नेछौं।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता