ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
जातीय छुवाछूत न्यूनिकरणका लागि दलित तथा गैरदलित समुदाय बिच सहकार्य जरुरी

जातीय छुवाछूत न्यूनिकरणका लागि दलित तथा गैरदलित समुदाय बिच सहकार्य जरुरी

बुटवल – तिलोत्तमा नगरपालिकाको आयोजना तथा सामुदायिक जागरण बिकास मञ्च रुपन्देहीको ब्यबस्थापनमा जातिय बिभेद बिरुद्द सामाजिक अन्तरघुलन अन्तरक्रिया कार्यक्रम गरिएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्वर १४ मा आईतबार भएको कार्यक्रममा बोल्ने बक्ताहरुले समाजमा जातीय छुवाछूत तथा विभेद न्यूनिकरणका लागि दलित तथा गैरदलित समुदाय बिच समन्वय र सहकार्य हुन जरुरी रहेको बताएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका वडा न. १४ का वडा अध्यक्ष आश्विन पौडेलले जातीय छुवाछुत गर्नु सामाजिक अपराधको भएको बताउनु भयो । उहांले जात र थरका आधारमा विभेद गर्ने जो कोहिलाई पनि कानुनी कार्वाहीमा गरिने भन्दै समाजमा हुने सबै प्रकारका विभेद न्यूनीकरणका लागि सबैले सहकार्य गर्नु पर्नेमा जोड दिनुभयो । राज्यको पहुंचबाट पछाडी पारिएको वर्ग जाति र समुदायका नागरिकहरुलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि वडा कार्यालय मार्फत बजेटको उचित ब्यबस्थापन गरि टोल टोलका नागरिकहरु समक्ष पुगेर कार्यक्रम तथा विभिन्न सिपमुलक तालिमहरु दिएको भन्दै सानो लगानीमा भए पनि उद्यमशिलतामा लाग्न शुझाव समेत दिनु भयो । समाजमा आर्थिकरुपमा आत्मनिर्भर हुन सके विभेद पनि कम हुदै जाने उहांको तर्क थियो ।

विज्ञापन

त्यस्तै, तिलोत्तमा नगरपालिकाका योजना तथा अनुगमन शाखा अधिकृत माधव पोख्रेलले कार्यक्रमको सहजीकरण गर्दै विभिन्न किसिमले दलित समुदाय थर र जातकै आधारमा आज पनि चरम विभेदमा परेको बताउनुभयो । उहांले स्थानीय तहले नै विभेद न्युनीकरणका लागि विशेष जोड दिए मात्र छुवाछूत कम गर्न सकिने भन्दै विभेद विरुद्ध सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिती संयोजक रबि सेन्चुरीले समाज परिवर्तनका लागि सबै भन्दा पहिले ब्यक्ति नै परिवर्तन हुनुपर्ने भन्दै र जातीय विभेद गर्नु सामाजिक अपराध हो भनि नागरिकहरुलाई बुझाउन पनि सामाजिक अन्तरघुलन जस्ता कार्यक्रमहरुको आवश्यकता परेको बताउनु भयो । उहांले तिलोत्तमा नगरपालिकामा जातिय विभेद अन्त्य गर्नका लागि बजेटको ब्यबस्थापन गरि नगरका टोल टोलमा गएर कार्यक्रम गरिएको बताए ।

त्यस्तै , कार्यक्रममा नेपाली काङ्ग्रेसका चक्र ब. पुन, नेकपा एमालेका राजन गुरुङ, नेकपा माओवादी केन्द्रका खेम ब. गुरुङ , जनमुक्तिका दल ब. थापा , रा.प्र. पा निम ब. क्षेत्री , विभिन्न टोल बिकास संस्थाका अध्यक्षहरु देब ब. बगाले, मोहन दत्त सुवेदी , डम्म्बर सिंह राना, पुर्ण सावत, द्रोपती पुन, रुमा कुमारी भुषाल, सामुदायिक जागरण बिकास मञ्चका अध्यक्ष राम बहादुर बिक लगाएतले बोल्दै सरकारले बनाएका कानुन प्रभावकारी कार्यान्वयनमा पहल गर्नु पर्नेमा जोड दिएका थिए भने स्थानीय तहमा दलित तथा गैरदलित समुदाय, सरोकारवाला निकाय बिच भाईचाराको व्यबहार सहित सहकार्य गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

कार्यक्रम तिलोत्तमा नगरपालिकाका सामाजिक विकास समिती संयोजक रबि सेन्चुरीको अध्यक्षता तथा पत्रकार अम्बिका परियारको सन्चालनमा सम्पन्न भएको थियो ।