लक्षित वर्ग समुदायकै संघर्ष र बलिदानीका कारण नेपालमा गणतन्त्र स्थापना भएको अध्यक्ष प्रचण्डको दाबी
बुटवल – नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सदियौ बर्ष देखि राज्यको मुलधारबाट उत्पीडन र बहिष्करणमा परेका वर्ग समुदायको सामुहिक एकता र आन्दोलनका कारण नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको दाबी गरे ।
मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैठौं राष्ट्रिय सम्मेलन बुटवलमा उद्घाटन गर्दै उनले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको बताएका हुन । प्रचण्डले जातीय क्षेत्रीय मोर्चा मार्फत संघर्षलाई संगठित नगरेको भए १० बर्षे जनयुद्धले संघीय लोकतान्त्रिक गणतन्त्रमा फड्को मार्ने स्थिति बन्ने संभावना थिएन भन्दै उनले मगर समुदाय लगायत नेपालका सबै जातीय क्षेत्रीय मोर्चाहरुले संघर्षमा ऐतिहासिक र बलिदानीपूर्ण महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
प्रथम सहिद लखन थापा मगरदेखि जनयुद्धका सहिद तेजमान घर्ती, ललि रोका, कुमारी बुढा लगायत मगर समुदायका हजारौं छोराछोरीले देशको परिवर्तनका लागि रगत बगाएको उल्लेख गर्दै प्रचण्डले ज्यूँदै आँखा निकाएर जलाउँदा पनि आत्मसमर्पण नगरेका मगर यौद्वाहरुको ऐतिहासिक बलिदान रहेको स्मरण गरे ।
सहिदहरुकै बलिदानको बलमा स्थापित गणतन्त्रले महिला, जनजाति, मधेसी लगायत उत्पीडित समुदायबाट राष्ट्रपति र सभामुख जस्ता उच्च पद प्राप्त गर्ने अवसर आएको उल्लेख गर्दै उनले अब परिवर्तनको रक्षाका लागि पनि उत्पीडित वर्ग नै अगाडि आउनुपर्नेमा जोड दिए । साथै उनले जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डालाई संस्थागतरुपमा कार्यान्वयन गर्न गर्याउन परिवर्तनकारी शक्तिहरु एकजुट हुन आव्हान समेत गरे ।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको बेलगाम गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रको जननी शक्तिको हैसियतले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको जिकिर समेत गरे ।
प्रतिकृया दिनुहोस्