वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रियामा सहभागी हुन नपाएको लुम्बिनीका महिला सांसदहरुको गुनासो

वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रियामा सहभागी हुन नपाएको लुम्बिनीका महिला सांसदहरुको गुनासो

 

बुटवल  – दलित महिला महासंघले रुपन्देहीमा आयोजना गरेको वार्षिक बजेट र योजना प्रक्रियामा संघीय सांसदहरु र लुम्बिनी प्रदेश सभा सदस्यहरुबीच सिकाइ आदान प्रदान कार्यक्रममा
लुम्बिनीका महिला सांसदहरुले संघ र प्रदेशले बनाउने वार्षिक बजेट तथा योजना तर्जुमा प्रक्रियामा सहभागी हुन नपाएको गुनासो गरेका छन् । महासंघले मङलवार लुम्बिनी प्रदेशबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने महिला सांसदको अनुभव र सिकाइ आदानप्रदान गर्न कार्यक्रम आयोजना गरेको थियो ।
महिला सांसदहरु धेरै समानुपातिक प्रणालीबाट जाने तर, सरकारले प्रत्यक्षलाई मात्र बजेट तर्जुमा प्रक्रियामा सहभागी गराउदा पनि आफूहरु योजना छनोट र बजेट उपयोगमा छुटेको महिला सांसदहरुले दुखेसो गरेका हुन ।

कार्यक्रममा वार्षिक बजेट र योजना प्रक्रियाबारे संघीय सांसद इश्वरी घर्तीले व्यवहारिक रुपमा समान हैसियतका लागि सिकाइलाई निरन्तरता दिदै एकतावद्ध रुपमा मुद्धा उठाउन प्रदेश सभा सदस्यहरुलाई आग्रह गर्नुभयो ।
संविधान सभा सदस्य डिना उपाध्यायले महिलालाई विचरा र अवलाका रुपमा हेर्ने दृष्टिकोण नफेरिएकाले सदन र सरकारमा पुगेपनि महिलाहरुलाई समानत हैसियत नदिने बताउनुभयो ।
प्रदेश सभा सदस्य निमा गिरीले प्रदेश तहको बजेट तर्जुमाबारे सहजीकरण गर्दै योजना तर्जुमा प्रक्रियामा सांसदहरुको भूमिका नलेखिएको हुदा सरकारमा सहभागी हुने र दलिय प्रतिनिधित्व गर्ने पुरुषहरु मात्रै सहभागी हुने प्रचलन रहेको बताउनुभयो ।

त्यस्तै छलफलमा सहभागी हुदै नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकाल ,पुर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारी , धनलक्ष्मी श्रेष्ठले महिलाका सबालमा राजनीतिक दलहरु पूर्वाग्राही हुने भएकाले एकताको आवश्यकता रहेको बताउदै बजेट पूर्वको छलफल, नीति पूर्वको छलफलमा सहभागी हुन नियमित प्रदेश सभा र सरकारका क्रियाकलापलाई निगरानी गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम उद्घाटनमा बोल्दै दलित महिला महासंघका अध्यक्ष विमला विक , कार्यबाहक अध्यक्ष जसमाया गजमेर, महासचिव सरस्वती नेपाली , परियोजना संयोजक मिना परियारले सबै नीतिको मूल नीति राजनीति भएकाले सांसदहरुको भूमिका अझ बढाउनु पर्ने भन्दै प्रदेश सभामा नेतृत्व गर्ने महिलाहरुको क्षमता बढाउदै बजेट र योजना प्रक्रियामा अगुवाइ गर्नसक्ने बनाउन कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
द एसिया फाउन्डेसनको सहयोगमा संचालित प्रदेशका महिला सभा सदस्यहरुको प्रभावकारी नेतृत्वको लागि सहकार्य कार्यक्रम अन्तरगत यो कार्यक्रम आयोजना गरिएको हो ।