लुम्बिनी प्रदेशस्तरीय युवा खाद्य सम्मेलन सम्पन्न

लुम्बिनी प्रदेशस्तरीय युवा खाद्य सम्मेलन सम्पन्न

बुटवल – संयुक्त राष्ट्रसंघको खाद्य एवं कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजना तथा राष्ट्रिय युवा परिषद्को सहकार्यमा बिहीबार लुम्बिनी प्रदेशस्तरीय प्रादेशिक युवा खाद्य सम्मेलन रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य शान्ति लोधले विदेशिने युवालाई देशमै रोक्न र रोजगारी सिर्जना गर्न परम्परागत कृषि प्रणालीलाई व्यावसायिक बनाउनु पर्ने बताइन् । आर्थिक समृद्धि बिना देशको विकास हुनै नसक्ने भएकाले युवालाई व्यावसायिक कृषिमा जोड्न सके मात्रै मुलुकको समृद्धि सम्भव हुने भन्दै सिमान्तकृत समुदायका युवा किसानलाई पनि व्यवसायिक कृषि खेतीमा जोड्न सरकारका तिनै तहले ध्यानदिनु पर्ने बताईन ।

कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रमुख विमला अर्यालले युवालाई कृषिसँग जोडेर देशभित्रै रोजगारी र उत्पादनमा जोड्नुपर्ने बताइन् । नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई देशमै बसेर पनि केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् ।

यस्तै, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकेमा आयात कम गरी निर्यात गर्न सकिने बताए । कृषकलाई प्रविधिसँग जोड्न आबश्यक रहेको बताउँदै उनले किसानलाई नयाँनयाँ प्रविधिको प्रयोग गर्न आबश्यक तालिम प्रदान गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय युवा परिषद्का प्रमुख प्रशासकीय अधिकृत दिनेश घिमिरेले युवाको नेतृत्व तथा उद्यमशीलताको विकासमा केन्द्रित रहेर काम गर्दै आएको बताए ।

एफएओ नेपालका प्रतिनिधि युवा विज्ञ सविन लामिछानेले कृषि तथा खाद्य क्षेत्रमा काम गर्दै गर्दा युवाको सक्रिय सहभागितासँगै कृषि, खाद्य र उद्यममा यूवालाई जोड्नका लागि यो सम्मेलन आयोजना गरीएको बताए । युवाका समस्या समाधानका लागि सुझाव संकलन गरीएकोले अबको यात्रा कसरी तय गर्ने भन्ने निर्णय गर्न सहज हुने उनले बताए । एफएओ नेपालले प्रादेशिक तथा राष्ट्रिय संस्करणको विकास गरी काम गर्ने योजना बनाएको उनले बताए ।

कृषिमा नवीनतम सोच, कृषिको आधुनिकरण, प्रविधि र लगानीसहित युवा सहभागिताका आयामसँगै कृषि खाद्य प्रणालीको अनुकुलित रुपान्तरण, कृषिमा लगाती प्रवर्धन जस्ता विषयहरुमा विभिन्न कक्षाहरुमा वृहत् छलफल गरिएको थियो ।

उक्त सम्मेलनमा प्रदेशका विभिन्न जिल्लाका कृषि विषय अध्ययन गरीरहेका र अन्य विभिन्न पेशा व्यवसायमा आबद्ध १७० जना युवाहरुको सहभागिता रहेको उक्त कार्यक्रम राष्ट्रिय युवा आयोजीत नमुना युवा सांसद २०७८ को युवा राष्ट्रपति प्रकृति पोखरेलको सहजीकरण तथा पुनम विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।