बुटवलमा छुवाछुत उन्मुलन दिवसका अवसरमा पण्डित सम्मानित
बुटवल – छुवाछुत उन्मुलन दिवसको अवसरमा बुटवलमा सामाजिक अभियानकर्मी पण्डित भिमकान्त पन्थि सम्मानित भएका छन् । माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीले सोमबार दोसल्ला ओढाएर सम्मान गरेको हो ।
तिलोत्तमा निवासी पन्थिले लामो समयदेखि धार्मिक अभियान चलाएर छुवाछुत अन्त्यका लागि प्रयास गरीरहेका छन । धर्मशास्त्रमा विभेदको विषयमा कतै उल्लेख नभए पनि हिंन्दु समुदायमा छुवाछुत कायम रहेको अवस्थामा यसको अन्त्यका लागि धार्मिक जागरण आवश्यक रहेको भन्दै उनले विभिन्न धार्मिक कार्यक्रमहरु गर्दै आइरहेका छन । जातिय विभेद अन्त्य गर्न राजनैतिक क्षेत्रबाट मात्रै नभई धार्मिक क्षेत्रबाट पनि अभियान सञ्चालन गर्नुपर्छ भन्ने मनसायले सम्मान गरीएको कार्यक्रम संयोजक पदम बहादुर बिकले जानकारी दिए ।
सो अवसरमा बोल्दै अभियानकर्मी पन्थिले जातिय विभेद सामन्त बर्गले शोषणका लागि बनाएको हतियार भएकाले यसका बिरुद्ध विद्रोह गर्नु आवश्यक रहेको बताए । वेदमा कतै पनि जातको बारेमा उल्लेख नभएको स्मरण गर्दै शासन गर्न सामन्तले बहुसंख्यक मानिसलाई उल्लेख बनाएको बताए । आफुले तीन दशक अघिदेखि नै अन्तरजाति विवाह गराउँदै आएको भन्दै सतान परम्परा अनुसार विवाह गर्दा केही फरक नपर्ने बताए ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज बामदेव क्षेत्रीले दलित समुदायमा सामाजिक आर्थिक तथा राजनैतिक विकास गर्न सके विभेद अन्त्य गर्न सकिने बताए । विभेदको प्रमुख कारण सामाजिक व्यवस्था भए पनि यसको पछाडि चेतनाको स्तरले पनि प्रमुख भुमिका खेलेको उनको भनाइ छ । माओवादीले विभेद विरुद्ध दश बर्षे जनयुद्ध लडेका स्मरण गर्दै अहिलेको समानुपातिक राज्य व्यवस्थाको जस माओवादीले पाउनु पर्ने बताए ।
माओवादी केन्द्रका रुपन्देही सह ईन्चार्ज किस्मत बिकले सम्पूर्ण अधिकार सिंह दरबारमा रहकाले अब दलित समुदायले सिंह दरबार प्रवेश गर्ने तयारीमा लाग्नु पर्ने बताए । उनले राजनैतिक अधिकार प्राप्त नभए सम्म विभेद अन्त्य नहुने बताउँदै नेता बिश्वकर्माले राजनैतक अधिकार प्राप्तिका लागि एकताबद्ध हुन आह्वान गरे ।
माओवादी केन्द्रका लुम्बिनी प्रदेश सचिवालय सदस्य सुजित बिकले सामाजिक परिवर्तनका लागि दैनिक ब्यवहारमा परिवर्तन हुन आवश्यक भएको बताए । दैनिक जीवनमा देखिने गरी परिवर्तन नभए सम्म परिवर्तन भएको मान्न नसकिने उनको भनाइ छ । सोही कार्यक्रममा बोल्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी रुपन्देही ईन्चार्ज रिज्जु श्रेष्ठले विभेद हरेक तह र तप्कामा रहेको भन्दै विभेदमा परको बर्ग क्षेत्र र समुदाय एकताबद्ध भएर अघि वढ्नु पर्ने बताइन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही सचिव विनोद परियार, संघका कोषाध्यक्ष सञ्जय बिश्वकर्मा, दलित पत्रकार संघ नेपाल रुपन्देही अध्यक्ष टंक सुनार र ईन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसीले बोल्दै २१ औँ शताब्दिमा पनि जातिय विभेद तथा छुवाछुतका घटना कायमै रहनु लाजमर्दो बिषय भएको बताए । विभेद बिरुद्ध शिक्षित बर्ग अग्रसर भएर लाग्नु पर्नेमा उनिहरुको जोड थियो ।
प्रतिकृया दिनुहोस्