बुटवलमा सञ्चारकर्मी महिलाहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिम शुरु

बुटवलमा सञ्चारकर्मी महिलाहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिम शुरु

बुटवल – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनमा बुधबारबाट बुटवलमा सञ्चारकर्मी महिलाहरूका लागि २ दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीले सरकारका राम्रा,नराम्रा दुबै प्रकारका समाचार लेख्न सुझाव दिनुभएको छ। सरकारका राम्रा कामहरु सङ्गै सरकारलाई सुझाब दिने खालका आलोचनात्मक समाचारहरु प्रकाशन र प्रसारण गर्नुपर्ने भन्दै पत्रकारहरुले सधै सत्य र तथ्यमा टेकेर विषय वस्तु उठान गर्न आग्रह गर्नुभयो । उहाले आगामी दिनमा पछाडी परेको वर्ग समुदाय , महिला बालबालिका लगाएतको हितमा रहेर काम गर्ने र सोही अनुसार नीति नियम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लुम्बिनी प्रदेशका निमित सचिव शारदा बश्यालले लुम्बिनी प्रदेशको लैङ्गिगक नीति र यसको अवस्थाको बारेमा जानकारी गराउदै सकारात्मक विभेदका साथ महिलाको लागि छुट्टै बजेट निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आवाज बिहिनहरुको आवाज संचारमाध्यमले ल्याउनुपर्ने भएतापनि अहिलेको मिडिया जगत राजनीतिक बिषयमा केन्द्रित भएकाले महिला ,बालबालिका, अपांगता भएका व्यक्ती, लैंगिक तथा अल्पसंख्यक समुदाय, लगायत पिछडिएको समुदायका समस्या तिर त्यती ध्यान दिन नसकेको बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले पत्रकार महिलाले आफ्नो क्षमता अभिवृद्धि गर्न समाचार लेखनमा जोड दिनुका साथै यस्ता खालको तालिमको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ पत्रकार दुर्गा पौडेल,माया गौतम, इन्सेक रुपन्देही प्रतिनीधि रिमा बिसी , मन्त्रीका प्रेस सल्लाहकार उषकिरण पन्थ , रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी, फोनिज केन्द्रिय उपाध्यक्ष सरु राना लगायतले बोल्दै सन्चारकर्मी महिलाहरुले क्षमता अभिवृद्धि गर्न लेख्ने बानीको विकास गर्नुपर्नेमा जोड दिएका थिए ।

रुपन्देहीमा क्रियाशिल सञ्चारकर्मी महिलाहरु सहभागी भएको तालिम बिहीबार सम्म सञ्चालन हुने तालिममा मन्त्रालयका निमित्त सचिव शारदा बस्याल र सञ्चारिका समूह लुम्बिनी प्रदेशका अध्यक्ष अमृता अनमोल, पत्रकार पार्वती पान्डे लगायतले सहजिकरण गर्नुहुनेछ ।

उद्धाटन सत्रको कार्यक्रम मन्त्रालयका महिला विकास निरिक्षक कमला ज्ञवालीको स्वागत तथा बरिष्ठ शाखा अधिकृत प्रदिप खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।