बालमैत्री नगर : व्यबहार र भौतिक संरचनामा सकरात्मक परिवर्तन
बुटवल : मानव अधिकारका विषयले महत्व पाउन थालेपछि विश्वका हरेक देश र नेपालका सबै प्रदेश संगै स्थानीय पालिकाहरु बाल अधिकारबारे समेत सचेत हुन थालेका छन् । नेपालको संविधान २०७२ ले बाल अधिकारलाई महत्व दिंदै मौलिक हकका रूपमा बालबालिकाका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरेको छ । परिणामको सही विश्लेषण गरी उपयुक्त निर्णय गर्न नसक्ने अपरिपक्क अवस्थालाई आधार मानेर हाम्रो संविधान तथा कानूनमा १८ वर्ष नपुगेका व्यक्तिलाई बालबालिकाका रूपमा परिभाषित गरिएको छ । त्यस्तै २०७५ सालमा निर्माण भएको बालबालिका सम्बन्धी ऐन र नियमावलीमा बालबालिकालाई उपलब्ध गराउनुपर्ने वातावरण, उनीहरूले प्राप्त गर्नुपर्ने आधारभूत सुविधा र जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्थाबारे स्पष्ट कानूनी प्रावधानहरू राखिएको छ । यी सबै कुराले बालबालिकालाई संवैधानिक र कानूनी रूपमा सबल बनाएको छ।
रुपन्देहीका १६ स्थानीय तह मध्ये तिलोत्तमा नगरपालिकामा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भएको डेढ बर्ष पुरा भएको छ । तिलोत्तमाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमा मुलकमै पहिलो अभ्यास गरी ती मध्ये ४१ वटा सूचक शतप्रतिशत र १० वटा सूचकमा अधिकतम ९९.८८ प्रतिशतसम्म नतिजा हासिल गरेको हो । तिलोत्तमाका १८ वर्षमुनिका झण्डै ४० हजार बालबालिका भएको तिलोत्तमा नगरपालिकामा जनप्रतिनिधि आएदेखि नै शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायतका क्षेत्रमार्फत् बालबालिका केन्द्रित विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदै आएका छन् ।
तिलोत्तमा नगर वाल सञ्जालका सचिव सचेत बस्नेतले तिलोत्तमाका हरेक भौतिक संरचनाहरु बालमैत्री भएको बताए । नगरका हरेक कार्यक्रमहरुमा बालवालिकालाई बिशेष प्राथमिकता दिएको भन्दै आफुलाई बिद्यालय छुट्टिको समयमा भ्याइनभ्याई हुने गरेको उनको तर्क छ । उनले नगरका १७ वटै वडामा बनेका समुहमा छलफल चलाउने,स्थानिय तहले गरेका औपचारिक तथा अनौपचारिक कार्यक्रमहरुमा सहभागि हुने तथा वालवालिकाको क्षेत्रमा नयां नयां योजना बनाएर कार्यान्वयमा लैजानका लागि वडा र नगरलाई खबरदारी गर्ने लगाएतका काममा व्यस्त हुने गरेको बताए ।
त्यसो त नगर वाल सञ्जालका अध्यक्ष स्नेहा पौडेलले सबै प्रकारका वालवालिका अटाउने गरि समुह गठन गरेको बताईन् । उनि भन्छिन् “पहिले छोरी मान्छे घर वाहिर जानुहुन्न, ठुलो स्वरमा वोल्नु हुन्न भनेता पनि अहिले घर वाहिर गएर समुह बनाउने, किशोरावस्थामा आउने परिवर्तनका बारेमा बहस गर्ने ,बाल अधिकार र कर्तव्यका बारेमा जनचेतना मुलक अडियो भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने, बिद्यालय वाहिर भएका वालबालिकाहरुलाई बिद्यालय सम्म पुरर्याउन टोल बिकास संस्था मार्फत घरदैलो अभियान चलाएको तर अझै पनि हामीले बालमैत्री नगरपालिका बारे व्यापक प्रचार गर्न सकिरहेका छैनौ । जसले गर्दा अधिकांश व्यक्तिहरुले यसको महत्वबारे बुझ्न पाएका छैनन् । हामीले बालमैत्री नगरपालिका बारे जनस्तरसम्म जनचेतना पु¥याउन जरुरी छ । ”
बस्नेत र पौडेल उदाहरणिय पात्र हुन् । आजका वालबालिका भविष्यका कर्णधार हुन् ,त्यसैले आज लगानी गरे भोलि सकरात्मक प्रतिफल मिल्छ भने जस्तै तिलोत्तमा नगरपालिकाले पछिल्लो समय वालवालिकामा लगानी गर्न लागि परेको छ , जसले गर्दा वालबालिकाको चौतर्फी विकासका लागि निकै महत्वपुर्ण सहयोग पुगेको छ । जसले गर्दा नगर भित्र वालवालिकालाई हेर्ने द्धष्टिकोणमा नै परिवर्तन भएकाले वालवालिकाहरु विना कुनै अवरोधका साथ संगठित हुने ,आफ्ना कुराहरु राख्ने,वालविवाह , लागुपदार्थ तथा बालश्रम विरुद्ध खुलेर विरोध गर्ने संगै सचेतनामुलक कार्यक्रम गर्ने गरेका छन् ।
त्यसो त बालमैत्री अवधारणालाई मूर्त रूप दिनका निम्ती भौतिक संरचना संगै मानवीय पक्ष नै बढी जिम्मेवार हुने गर्दछ । त्यसैले तिलोत्तमा नगरपालीकाले नगरभित्र बनेका भौतिक संरचनाहरु जस्तै पार्क तथा खेलमैदानहरु,बिद्यालय तथा सरकारी कार्यालयहरु,पार्टीपौवा तथा सार्वजनीक स्थाहरु वालमैत्रि बनाएको छ । बालबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङ्गीण विकासका लागि क्रियाकलापहरू गर्नु पर्ने भएकाले विद्यालयहरूले आफूलाई बालमैत्री घोषणा गरी बालबालिकालाई डर, त्रास र यातना विना रमाउँदै सिक्ने अवसर प्रदान गर्न थालेका छन् ।
सामान्यतया बालमैत्री स्थानीय साशन भन्नाले बालबचाउ, बाल संरक्षण, बालविकास, र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका सवालहरुलाई स्थानीय निकायको नीति, संरचना, प्रणाली ,कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने शासकीय पद्धतिलाई जनाउछ ।बालमैत्री शासनले बालमैत्री गैर विभेदकरण, अधिकार र कर्तव्य, सर्वाङ्गिण विकास र बाल सहभागिताको सिद्धान्तमा आधारित भई बालअधिकारको सम्मान, संरक्षण र सम्वर्द्धन गर्न राज्यको तर्फबाट गरिने समष्टिगत पद्धति र प्रयास नै बालमैत्री शासन हो ।बालमैत्री शासनका निम्ति नेपालको संविधान, २०७२ (धारा ३९ मा १० उपधाराको व्यवस्था), बालअधिकार सम्बन्धी महासन्धि १९८९, स्थानीय स्वायत्त शासन ऐन २०५५, बालबालिका सम्बन्धि ऐन २०४८, बालबालिका सम्बन्धी राष्ट्रिय नीति, २०६९ ,बालश्रम (निषेध र नियमित) ऐन, २०५६, दिगो विकासका लक्ष्यहरु (२०१६–२०३०) र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९, बालमैत्री स्थानीय शासन कार्यन्वयन निर्देशिका, २०७८ रहेका छन् । जसले बालमैत्री शासन व्यवस्थालाई थप सहयोग पु¥याएको छ ।
बालमैत्री सहजकर्ता बिकास सुनारले बालमैत्री नगरपालिका घोषणा भएपश्चात बालबालिकाको लागि अवसरका ढोकाहरु खुलेको बताए । विभिन्न क्षेत्रमा अर्थपूर्ण सहभागिता हुनुका साथै बालबालिकाहरुमा नेतृत्व विकास, सामुहिक भावनाको विकास र आफ्ना हक–अधिकार बारे जनचेतनाको विकास हुदै गएकाले समाजको कुसंस्कार बिरुद्ध जस्तै ः बालविवाह, बाल हिंसा न्युनिकरण,धुम्रपान,सुर्तिजन्य तथा मद्ययपानमा रोक लगाउनमा मद्दत पुगेको सुनारको भनाई छ ।
त्यस्तै तिलोत्तमा नगरपालिकाले ५ वटा क्षेत्रका ५१ वटा सूचकहरु (बालबचाउ १४ सूचक, बाल संरक्षण समिति १० सूचक, बालविकास ६ सूचक, बाल सहभागिता ६ सूचक र संस्थागत सूचक १५) रहेकका छन् । पछिल्लो समय बाल समुहको संख्या विद्यालय स्तरमा ६६, समुदाय स्तरमा १६६ गरि जम्मा २३२ रहेका छन् । वडा बाल सञ्जालको संख्या १७, नगरपालिकाको बालमैत्री योजना कार्यन्वयन कार्यदल समिति १, नगरबाल सञ्जाल १, बालमैत्रीनगर समिति १, बालअधिकार नगर समिति १, वडा स्तरीय बालमैत्री समिति १७ र वडा स्तरीय बालअधिकार समिति १७ रहेको तिलोत्तमा नगरपालिकाका बालमैत्री शाखा अधिकृत शारदा भट्टराईले बताईन् ।उनि भन्छिन “नगरपालिकाले नगरस्तरबाट र वडा स्तरबाट करोडौ रुपैया आफ्नो नीति तथा कार्यक्रममा विनियोजन गरेको छ ।पालिकाले सम्पर्क व्यक्ति, सहजकर्ता र नगर समन्वयनकर्ताका माध्यमबाट आफ्नो कार्यलाई थप सशक्त बनाएको छ । हाल ४ हजार ५ सय ५५ जना विद्यालय तथा समुदायमा आधारित बाल समुहका संजालमा सदस्य समेत रहेका छन् । ”
तिलोत्तमा नगरपालिकाकी उप प्रमुख जगेश्वरदेवी चौधरीले पालिकाले भौतिक विकास सँगै मानवीय विकासलाई जोड दिएको बताईन । वालमैत्री नगर बनाउनका लागि सबैको मेहनत र प्रयासले सफल भएको भन्दै आगामि दिनमा पनि सबैले हातेमालो गर्न जरुरी रहेको भन्दै कार्यक्रम घोषणा गर्नु भन्दा पनि त्यसलाई टिकाई राख्न जरुरी रहेकाले आगामि दिनमा बालमैत्री शासनले निर्धारण गरेका पूर्वधारको व्यवस्था ,क्षमता अभिवृद्धिका कार्यक्रम,विभिन्न निकायहरु बीच सहकार्य र उचित बजेटको व्यबस्थापनमा जोड दिने बताईन ।
प्रभावकारिता, समावेशीकरण तथा बालबालिका परिवार र समुदायको सहभागितामूलक सिकाइ योजना बालमैत्री विद्यालयमा अपरिहार्य मानिने भएकाले लैङ्गिक पक्षको विवेकपूर्ण सम्बोधन तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा र बचावटका कुरालाई विशेष जोड दिएको नगर प्रमुख रामकृष्ण खाणले बताए । त्यतिमात्रै कहां होर बालबालिकाको प्रत्यक्ष सहभागिता र आधारभूत तहमा स्थानीय पाठ्यक्र लागु गरि शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन सँगै गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलब्ध अवसर र वातावरण महत्त्वपूर्ण हुने भएकाले परिवारमैत्री विद्यालय रहेको उनको दावी छ । नगर भित्र कमजोर आर्थिक अवस्थाका कारण राज्यबाट दिइएका सेवा सुविधाहरू प्राप्त गर्न नसकेका बालबालिकाको अवस्था निकै दयनीय नै रहेकाले कुनै पनि वालवालिका शिक्षा बाट बञ्चित हुन नपरोस भनेर सबै सामुदायिक विद्यालयमा दिवा खाजा र १५ बटा विद्यालयमा बसको व्यबस्था समेत गरिएको बताउदै उनले स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्रका बालबालिकालाई विद्यालय तथा अन्य सार्वजनिक स्थल र घरपरिवारमा समेत उपयुक्त किसिमको वातावरण सिर्जना गर्न विभिन्न कार्यक्रमहरू गरेकाले अहिले विगतको तुलनामा विद्यार्थीको संख्या बढको बताए ।गैरविभेदीकरण, बालबालिकाको सर्वोत्तम हित, बालबालिकाको सर्वाङ्गीण विकास, बालबालिकाको सहभागिता र विचारको सम्मान, सन्निकटताको सिद्धान्त, समावेशीकरणको सिद्धान्त र समुदायमा आधारित विकासको सिद्धान्तलाई अघि सारिएको भन्दै बालअधिकार, बालमनोविज्ञान र बालरुचिका विषयलाई महत्त्व दिई समयको माग, बालबालिकाको आवश्यकता र वास्तविक स्थिति तथा क्षमतालाई बुझेर त्यस अनुकूलको शिक्षा र वातावरण दिनका लागि नगरभित्रका सबै सरोकारवाला निकाय संग हातेमालो गरिरहेको नगर प्रमुख खाणको भनाई छ ।
प्रतिकृया दिनुहोस्