विभेद न्युनिकरणका लागि आर्थिक रुपमा आत्मनिर्भर बन्नु पर्नेमा जोड
सैनामौना – “ लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नारासहित रुपन्देहीको सैनामैना नगरपालिकामा १ सय १३ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको छ ।
गोरखनाथ सामुदायिक सिकाई केन्द्रको आयोजना र सैनामैना दलित उत्थान समितीको समन्वयमा बुधवार १ सय १३ औँ अन्तरराष्ट्रिय श्रमिक महिला दिवस मनाईएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका उपप्रमुख विना रानाले महिला हिंसा न्यूनीकरणका लागि महिलाहरु आत्मनिर्भर बन्न जरुरी रहेको बताईन । महिलाहरुले सामुहिक रुपमा व्यवसाय सुरु गरि आम्दानी गर्ने बाटो अपनाउनुपर्नेमा जोड दिदै रानाले नगरपालिकाले महिला दिदीबहिनीका लागि नगरस्तरीय सीपमुलक तालिमहरु सञ्चालन गरिरहेको बताउँदै तालिममा सहभागी बनी स्वरोजगार बन्न आग्रह गरिन ।
त्यस्तै कार्यक्रममा गोरखनाथ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लता खड्काले महिलामाथि हिंसा नरोकिएको बताउँदै संविधानमा लेखिएको अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिईन । उनले समान कामको समान ज्याला पाउन नसकेको भन्दै आफनो अधिकार प्राप्त गर्न सबै महिलाहरु एक जुट हुनुपर्ने बताईन । महिला र पुुरुषलाई गर्ने व्यवहार विभेदकारी भएकाले त्यसको अन्त्यका लागि परिवारबाटै शुरु गर्नुपर्ने बताईन । खड्काले पछिल्लो समय सुचना र प्रविधिले फड्को मारेको भएता पनि यसको सहि सदुपयोग नहुदा हिंसाका घटनाहरु बढेको भन्दै यस तर्फ सचेत रहन आग्रह गरिन ।
त्यस्तै कार्यक्रममा सैनामैना दलित उत्थान समितिका अध्यक्ष अम्बिका परियारले समाजमा हुने सबै प्रकारका विभेद न्युनिकरणको शुरुवात स्वयम व्यक्तिबाट हुनुपर्ने बताईन । आजको समयमा पनि समाजमा क्षमता भएर पनि जात र लिङ्गका आधारमा धेरै नागरिकहरु विभेदको सिकार बन्नु परेको भन्दै जव सम्म संविद्यानमा लेखिएका कुरा कार्यान्वयन हुनका लागि बलियो संयन्त्र निर्माण हुदैन तब सम्म विभेदका शृङ्खला दिन प्रति दिन बढ्ने बताईन । राज्यले दिएको अधिकार प्राप्तिका लागि महिला,दलित ,मधेशी तथा सिमान्तकृत समुदायका महिलाहरु एकजुट भएर हातेमालो गर्न जरुरी रहेको बताईन ।
कार्यक्रम गोरखनाथ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लता खड्काको अध्यक्षता, सैनामैना नगरपालिका उपप्रमुख विना रानाको प्रमुख आतिथ्यता तथा सैनामैना दलित उत्थान समितीका अध्यक्ष अम्बिका परियार, सहिद नारायण पोख्ररेल रामापुर बहुमुखी क्याम्पसका प्रमख हेम बहादुर थापा , महिला अधिकारकर्मी मञ्जु ज्ञवाली ,पत्रकार सुनिता चुुदाली लगायतको आतिथ्यतामा सम्पन्न भएको हो भने सहभागिहरुले महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनका लागि पालीकाहरु प्याकेजमा कार्यक्रम ल्याउनु पर्नेमा कुरामा जोड दिएका थिए । कार्यक्रममा कोपिला बराहा,जमुना पुन सुनार ,जुना सुनार लगाएतले महिला सशक्तिकरण,जातिय विभेद न्युनिकरण र जनचेतना मुलक गित कविता समेत प्रस्तुत गरेका थिए ।
सहिद नारायण पोख्ररेल रामापुर बहुमुखी क्याम्पसको सभाहलमा भएको कार्यक्रममा गोरखनाथ सामुदायिक सिकाई केन्द्र र सैनामैना दलित उत्थान समितीका महिला सदस्यहरुको सहभागिता रहेको थियो भने सिकाईकेन्द्र की परिचालीका सिर्जना न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।
सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता
लेखकको सम्वन्धमा