प्रदेश स्तरिय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको सम्मेलन बुटवलमा शुरु

प्रदेश स्तरिय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको सम्मेलन बुटवलमा शुरु

७ मंसिर २०७८

अम्बिका परियार

विज्ञापन

बुटवल – दलित महिला संघको आयोजनामा मंगलबारदेखि बुटवलमा प्रदेशस्तरीय दलित महिला जनप्रतिनिधि र अभियान्ताहरुको समम्मेलन शुरु भएको छ ।


सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले जातीय छुवाछुतलाई संविधानले दण्डित गरेपनि कार्यान्वयनमा कमजोरी भएको स्विकार गर्दै अब एक जुट भएर लाग्नुपर्ने बताए । सवैधानिक रुपमा अधिकार प्राप्त भइसकेको बताउँदै संविधान कार्यान्वयन रहेको चुनौती पत्ता लगाउनुपर्ने उनको भनाई छ ।मुख्यमन्त्री केसीले अहिले पनि छुवाछुतमुक्त घोषणाका अभियान सञ्चालन गर्ने हो भने त्यो सबै भन्दा लज्जीत बिषय हुने बताए ।संविद्यान कार्यान्वयन तह फितलो हुदां अझै पनि विभेदका घटना सार्वजनिक हुने गरेको भन्दै उनले संघियता कार्यान्वयनका लागि जनदवाब सिर्जना गर्नु पर्ने बताए ।उनले सामाजिक विभेद सवैधानिक रुपमा अन्त्य भएपनि व्यवहारिक रुपमा त्यो जिवित भएको बिषयमा दलीय र अभियानकर्मीहरुको संयुक्त बुुझाई हुनुपर्ने बताए । उनले अधिकार प्राप्त भइसकेकाले कार्यान्वयनका लागि दलित जनप्रतिनिधिहरु जिम्मेवार हुनुपर्ने बताए ।मुख्यमन्त्री केसीले यो विभेदको समय नभएको भन्दै पार्टीहरुको सम्मेलनमा संघर्ष गर्न आग्रह गरे । ‘गोष्ठि सेमिनारमा असन्तुुष्टि पोख्ने, तर पार्टीमा जानेवितिकै बोल्न नसक्ने, टिकटका लागि आत्मसर्पण गर्ने प्रचलन देखिएको छ’ उनले भने । उनले दल र अभियान्ताहरुविच साझा मुद्धा तय गरेर अघि बढ्नुुपर्नेमा जोड दिए ।उनले लुम्बिनी प्रदेश सरकारले छुट्टै कानुन वा एकिकृत कानुन बनाएर दलित समुदायको पक्षमा काम गर्न तयार रहेको बताए ।

सम्मेलन उद्घाटन समारोहमा संविधानसभा सदस्य विनोद पहाडीले दलित महिला संघ वैकल्पिक राजनीतिक शक्ति भएको बताए । उनले सामाजिक न्याय र जातीय विभेदका विरुद्ध देशैभर बोल्न सक्ने शक्ति पैदा भएको बताए ।

सम्मेलनमा प्रदेशसभा दीपा विश्वकर्माले संविधानमा उल्लेख भएका अधिकार पनि प्राप्त गर्न नसकेको बताईन । उनले प्रदेश सरकारलाई दबाब दिने काममा लागि पर्ने बताईन ।

कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापती गोविन्द खनाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमादेवि आचार्य, बबई नगरपालिकाका उपप्रमुख सावित्रा विश्वकर्मा, बाँकेको खजुरा गाउँपालिकाका उपाध्यक्ष एकम माया विश्वकर्मा, संघका अध्यक्ष कला स्वर्णकार लगायतले बोल्दै विभेद अन्त्य नगरि समाजवाद आउन नसक्ने बताएका थिए । दुुई दिने सम्मेलनमा दलित महिलाको प्रतिनिधित्व, संविधान कार्यान्वयन लगायतका बिषयमा छलफल हुनेछन ।

सम्मेलन उद्घाटनमा दलित सशक्तिकरण सम्बन्धी विधेयकको नमूना कानुन समेत मुख्यमन्त्रीलाई बुुझाइएको थियो । बुधबार नयाँ नेतृत्व सहित घोषणापत्र जारी गरेर सकिने सम्मेलनमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका जनप्रतिनिधिहरुको सहभागिता रहेकोछ ।