कृष्ण सेन इच्छुकको सम्झनामा दिप प्रज्वलन
बुटवल – साहित्यकार तथा वरिष्ठ पत्रकार कृष्ण सेन इच्छुकको २२ औं स्मृति दिवसको अवसरमा आइतबार साँझ बुटवल माझगाउंमा दिप प्रज्वलन गरिएको छ । प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजनामा दिप प्रज्वलन कार्यक्रममा सहभागिहरुले शहिद कृष्ण सेन इच्छुुकको योगदानको चर्चा गर्दै दिप प्रज्वलन गरेर स्मरण गरे गरेका थिए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज बामदेव क्षेत्रीले स्व. सेनले नेपाली समाजको रुपान्तरणको आन्दोलनमा पत्रकारीता र साहित्य मार्फत महत्वपूर्ण योगदान दिएर गएको भन्दै उनले देखाएका आर्दशलाई अनुशरण गर्दा मात्र सेनको सच्चा सम्मान हुने भन्दै शहिद सेन प्रति श्रद्धाञ्जली अर्पण गरे । सहिद कुनै संस्था वा दल विशेषको मात्र नभएर समग्र देश र जनाताका साझा भएकाले सहिदहरुको सम्मान गर्दा तेरो मेरो भनि भाग बन्डा गर्न नहुने तर्क गर्दै नेता क्षेत्रीले देशमा व्यबस्था फेरिए पनि नागरिकको अबस्था फेरिन वाकी रहेकाले सञ्चार क्षेत्र तथा सञ्चारकर्मीहरुले नागरिकको पक्षमा कलम चलाउने ,बहस तथा पैरवी गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै बरिष्ठ पत्रकार मदनलाल पौड्यालले सहिद सेनको वैचारिक र सांस्कृतिक व्यक्तित्वको कारण संकटको बेलामा सँधै शिर उँचो राख्नको लागि प्रेरणा मिलेको स्मरण गदै उनि पद, प्रतिष्ठा, मौकाको पछाडि कहिल्यै नलागेकाले उनकोे जीवनीबाट सबैले पाठ सिक्नुपर्ने धारणा राखेका थिए । सहिद कृष्णसेनले नेपालको परिबर्तनको लागि ठुलो त्याग र बलिदान गरी परिबर्तनमा महत्वपुर्ण भुमिका खेलेको बताएका थिए ।
त्यस्तै,नेपाल पत्रकार महासंघ रुपन्देहीका सचिव विनोद परियारले सहिद सेनले समाज परिवर्तनका लागि निकै जोखिमपूर्ण संघर्षको समयमा उनले उत्पीडित वर्ग र समुदाय तथा परिवर्तनको पक्षको पत्रकारिताको नेतृत्व गरेको बताए । निष्ठा र आदर्श राजनीति,साहित्यीक तथा पत्रकारिता गरेका सेन श्रमजीविहरुको केन्द्र बन्न पुगेको भन्दै समाजमा निराशाहरु पस्कने र सकारात्मक कुराहरुलाई छोप्ने तत्वविरुद्ध सबै एकजुट हुनुपर्ने भनाई छ । प्रेस सेन्टर नेपालका केन्द्रिय उपमहासचिब योनेन्द्र जि.शीले सहिद कृष्ण सेन इच्छुकको जीवनी बारे प्रकास पार्नुभएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य पुष्पराज ढकाल, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज सरु राना, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य भुवन कार्की , नेपाल पत्रकार महासंघ रुपन्देहीका कोषाध्यक्ष सञ्जय सौगात, नेपाल पत्रकार महासंघ रुपन्देहीका सहसचिब माया केसी , प्रगतिशिल पत्रकार संघ रुपन्देहीका अध्यक्ष विरेन्द्र कुवंर लगाएतको उपस्थिती रहेको थियो ।
पत्रकार तथा कवि कृष्णसेन इच्छुकको २०५९ साल जेठ १३ गते काठमाडौंको महेन्द्र पुलिस क्लवमा चरम यातना दिएर तत्कालिन सरकारले हत्या गरेको थियो । कार्यक्रम प्रेस सेन्टर नेपाल रुपन्देहिका उपाध्यक्ष टंक सुनारको अध्यक्षता तथा अम्बिका परियारको सहजीकरणमा सम्पन्न भएको थियो ।
को हुन् कृष्णसेन ?
माओवादी सशस्त्र विद्रोहका बेला नेकपा माओवादीको मुखपत्र जनादेशका सम्पादक रहेका कृष्णसेन इच्छुकको जन्म पिता यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट २०१३ साल कात्तिक ३ गतेका भारतको देहरादुनमा भएको थियो । पुख्र्यौली घर प्यूठान जिल्लाको साराङकोटमा भएपनि उनका परिवार त्यहाँबाट अर्घाखाँचीको जलुके बसाइँ सरेका थिए । ६ वर्षसम्मको बाल्यकाल भारतका विभिन्न ठाउँमा बिताएका सेनका बुवा भारतीय सेनाका जागिरे थिए ।
कक्षा १ देखि ८ सम्म दाङको देउखुरीमा रहेको आदर्श माविमा पढेका इच्छुकले कक्षा ९ र १० जिल्लाकै लालमटियास्थित सरस्वती हाइस्कुलमा पढेका थिए । २०३२ सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरेपछि उच्च शिक्षा पढ्ने उनको चाहना हुँदाहुँदै पनि गरिबीले उनी पढाइ छाडी कोइलाबासमा भएको साल्ट ट्रेडिङ्गको कार्यालयमा काम गर्न थालेका थिए ।
काम गर्दागर्दै उनले स्वाध्ययन गरे र भारतबाट प्राइभेट परीक्षा दिएर आईए उत्तीर्ण गरे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट बी।एड परीक्षा उत्तीर्ण गरे । उनी विश्वविद्यालयमा भर्ना भएर एमए अध्ययन गर्न थाले तर आन्दोलनमा लाग्दा उनले एम.ए.को पढाई पूरा गर्न सकेका थिएनन् ।
२०४८ सालमा तक्मा केसीसँग विवाह गरेका सेनको एक छोरी छन् । राजनीति,पत्रकारितासँगै साहित्य क्षेत्रमा पनि विशेष दख्खल उनले राखेका थिए । २०३३ सालमा मातृभूमि साप्ताहिकमा ‘भोलिप्रति‘ भन्ने कविता प्रकाशन गरेर साहित्यमा प्रवेश गरेका सेनले दाङको जेलमा बस्दा विद्यार्थी नेता मित्रमणि आचार्यको हत्या भएपछि उनकै सम्मान र सम्झनामा ‘शोकाञ्जलि’ काव्य लेखेका थिए । २०४८ सालमा उनको पहिलो कृतिको रूपमा प्रकाशित भएको थियो ।
पटक–पटक जेलमा बसेका सेनले इतिहासको यो घडिमा, बन्दी र चन्द्रागिरि, शोकाञ्जलि लगायतका झण्डै आधादर्जन कृतिहरू छन् ।
२०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी सेन प्रशासनको गिरफ्तारमा परेका थिए । जेलबाट छुटेपछि उनी दाङको महेन्द्र क्याम्पसमा भर्ना भएर विद्यार्थी आन्दोलनमा सक्रिय भए । २०३९ सालमा पुनः पक्राउ परेका सेन साढे ५ वर्ष जेलमा बसेर २०४४ सालमा छुटेका थिए ।
विद्यालय तहदेखि कृष्ण सेन राजनीतिक विचारधारामा प्रभावित भएका थिए । २०३४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका उनी २०३७ सालदेखि दाङमा सक्रिय रूपमा विद्यार्थी आन्दोलनको नेतृत्व गरेका थिए । २०४५ सालमा उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय सम्मेलन आयोजक समितिको केन्द्रीय संयोजक बनेका थिए ।
२०४६ सालमा कम्युनिष्ट पार्टीको राप्ती अञ्चल क्षेत्रीय व्युरोको सेक्रेटरी बनेपछि संयुक्त जनमोर्चा नेपालको केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका थिए । राजनीतिक जिम्मेवारीसँगै सेनले अखिल नेपाल जनसांस्कृतिक सङ्घका अध्यक्ष, प्रगतिशील लेखक संघका केन्द्रीय पार्षद, पत्रकार महासंघका पार्षद, दक्षिण एसियाली पत्रकार संघका सदस्य, जनअधिकार सरोकार अभियानका सदस्यको जिम्मेवारी सम्हालेका थिए ।
प्रतिकृया दिनुहोस्