सुनचाँदीको गहना बनाउन दक्ष कालीगढ उत्पादन गर्दै बुटवल

सुनचाँदीको गहना बनाउन दक्ष कालीगढ उत्पादन गर्दै बुटवल

 

बुटवल-पिपला रसाईलीलाई सुनचाँदीको गरगहना बनाउने र व्यवसायमा संलग्न हुने रहर लाग्यो, तर सीप सिक्ने अवसर पाइरहेकी थिइनन् । अवसरको खोजीकै क्रममा उनले बुटवल उपमहानगरपालिकाले दिने तालिमबारे जानकारी पाइन र सहभागी भइरहेकी छिन् । उनी भन्छिन्, ‘हातमा सीप भयो भने काम गरेर पनि सजिलै जीवन धन्न सकिन्छ भन्ने सोचले सुनचाँदीको गहना बनाउने सीप सिक्न थालेको हुँ ।’ उनी तालिममा सिक्री जोड्ने, तिलहरी, जन्तर र मोतीका माला उन्ने जस्ता काम गर्न सक्ने भइसकेकी छिन् । खुशी सट्दै रसाईलीले भनिन्, ‘हामी महिला पनि आत्मनिर्भर हुनुपर्छ, अब सिप सिकेर स्वारोजगर बन्ने तयारी गरिरहेका छौँ ।’ उनका अनुसार महिला श्रीमानको भरमा बाच्ने, सीप सिकेपछि महिला पनि व्यवसायी र स्वरोजगार बन्न सक्छन् ।

विज्ञापन

उनले थपिन महिलाले अवसर पाए हरेक क्षेत्रमा काम गर्न सक्छौं र महिला कमजोर छैनौँ भन्ने समाजलाई देखाउनेछौँ । हातमा सिप नभएकै कारण केही गर्छु भन्ने हिम्मत जुटाउन नसकी घरभित्र सीमित महिलालाई यस किसिमको तालिम खाँचो छ र यो तालिमले आफूलाई व्यवसायी बन्न सहयोग पुग्ने अपेक्षा गरेको समेत बताउँछिन् ।

बुटवलकै कृपा गहतराजले खाली समयको सदुपायेग गरी केही सिकौँ र केहि गरौँ भन्ने सोचका साथ कालिगढ तालिममा सहभागि भएको बताइन् । उनले भनिन्, ‘हरेक क्षेत्रमा पुरुष मात्र अघि छन् अथवा पुरुषले मात्र कालिगढको काम गर्न सक्छन् भन्ने जुन हाम्रो समाजमा भ्रम छ त्यसलाई चिर्न पनि सुनचाँदीको गहना बनाउने तालिम सिकेको उनको भनाई छ ।’ सुनका गरगहना बनाउन महिला पनि सक्छन् भन्ने अनुभव सिकाइबाट प्राप्त भएको उनी बताउँछिन् । अहिले प्रतिस्पर्धाको समयमा सिप सिकेर अब आफू पनि स्वरोजगार र आत्मनिर्भर बन्न सकिनेमा खुशी र गर्व लागेको बताइन् ।

बुटवल निवासी अभिजित रसाइली अहिले तीन महिने तालिममा व्यस्त छन् । रोजगारको खोजीमा रहेका अभिजीत अहिले आफू आत्मनिर्भर बन्न सुनका विभिन्न डिजाइन बनाउने सीप सिकिरहेका छन् । आफ्नै समुदायको पुर्खौली पेशा व्यवसायलाई अधुनिकिरण गर्न सकियो भने स्वदेशमै आयस्रोत छ तर मेहनत र लगनशिल हुन जरुरी छ । उनले भने, ‘पछिल्लो समय युवाहरु विदेशीने क्रम बढ्दो छ । स्वेदशमा केहि गर्न सकिदैन भन्नेहरुका लागि सुनचाँदकी गहना बनाउने काममा दक्षता हासिल गरेर आधुनिक र व्यवसायीक तरिकाले बजारमा टिकाउन र बिकाउन सके आफ्नै गाउँठाउँमा बसेर उद्यमी बन्न सकिन्छ ।’ आफ्ना बुबाबाजेले गर्दै आएको परम्परागत पेशा व्यवसायलाई आधुनिकीकरण र नयाँ शैलिका साथ काम गर्ने उनको इच्छा शक्ति जागेको उनको भनाई छ ।

बुटवल उपमहानगरपालिका ११ का १६ वार्षिया सृष्टि विश्वकर्मा ले गहना बनाउने काम सिक्न पाउँदा खुसी छिन् । घरमा यत्तिकै खाली बस्नु भन्दा सीपमूलक काममा लगाइयो भने जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाई छ । उनले भनिन्, ‘यो अवधीमा धेरै कुरा सिक्न पाएको छु, यो सीप सिकेर भोली दक्ष कामदारको रुपमा स्थापित भएर काम गर्ने इच्छा रहेको सुनाइन् ।’ तालिमबाट सिकेको सिपलाई उचित प्रयोग गरेर आयआर्जन गरि घरपरिवारको खर्च जुटाउन विश्वास लिएकी छन् ।

घरायसी काममा मात्र सिमित रहेकी बुटवल १४ पदमपुर बस्ने ३२ वर्षीया लाल कुमारी बिक अहिले भने दिउँसोको फुर्सदको समयमा केही सिप सिकौँ भनेर कालीगड तालिम लिएको बताइन् । बिहान साँझ घरको काम सकेर खाली समयमा घर बस्नु भन्दा सिप सिकेर काम गर्न सकन्छि, भन्ने सोचले तालिममा सहभागि भएको उनले बताइन् । उनले भनिन्, ‘सुरुवती दिनमा सिक्न सकिदैन कि भन्ने लाग्थ्यो तर पछि विस्तारै काम सिक्दै जदाँ हामी महिलाले अवसर पायौ वा चाह्यौ भने जे पनि गर्न सकिने रहेछ भन्ने आत्मबल आयो ।’ उनका अनुसार अब सीप सिकेर काम गर्ने योजना रहेको सुनाइन् ।
कम समय र थोरै परिश्रममा राम्रो आम्दानी गर्न सकिने पेसा भएकाले महिलाका लागि यस पेसा उपयुक्त हुने महिला कालीगढहरू बताउँछन् ।

तालिमका प्रशिक्षक सविता सुनार आफू यो काम अपनाएर फरक काम गरेकोमा गर्व लागेको बताउँछिन् । दलित समुदायमा पनि पुरुषले मात्र गर्ने काम भएकाले महिलाहरूले हत्तपत्त उक्त पेसा अपनाउन सकिरहेका थिएनन्। सविताले भनिन् “नेपाली समाजमा गहनाको डिजाइन र तयारी पुरुष कालिगढले गर्छन् अनि महिलाले बढी मात्रामा प्रयोग गर्छन् । मैले सोचें महिलाले लगाउने गहना महिलाले बनाउँदा झन् राम्रो होला भनेर यो पेसामा लागेको हो।” उनले सुनको गहना बनाउन थालेको १० वर्ष भयो। हाल उनले २० जनालाई प्रशिक्षक भएर सिकाइरहेकी छिन् ।उनको यो लगाव मेहनत र सफलतालाई अन्य महिलाहरुले पनि अनुशरण गरिरहेका छन् ।
यस्तै बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्माले दक्ष कालिगढ बन्न सके राम्रो आर्यआर्जन गर्न सकिने उदेश्यले ‘लक्षित वर्गका लागि तालिमको आयोजना गरेको बताए ।

वुटवल उपमहानगरपालिकाका उप—प्रमुख सावित्रादेवि अर्यालले महिलालाई स्वरोजगार बनाउन नगरपालिका लागि परेको बताइन्। पछिल्लो समय हरेक क्षेत्रमा महिलाको सहभागिता बढेको पाइन्छ उनले भनिन्, ‘महिला पहिले चुलोचौकोमा मात्र सीमित थिए तर अहिले महिला आयमूलक तालिमबाट उद्यमी र व्यवसायी बनेका छन् ।’ बुटवलमा के आवश्यक छ, कस्तो खालको कार्यक्रम एवम् तालिमको खाचो छ सोही अनुसार उपप्रमुखसँग महिला उद्यमशिलता कार्यक्रममार्फत आर्थिकरुपमा बालियो र सक्षम बनाउन लागि परेको उनको भनाइ छ ।
उपप्रमुख अर्यालका अनुसार लक्षित समुदायका पेश व्यवसायलाई समय परिवर्तन अनुसार थप परिमार्जित बनाउन र स्वेदशमै दक्ष जनशक्ति उत्पादन गर्न तालिमको मुख्य उद्देश्य हो । महिलालाई आत्मनिर्भर बनाउन र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुनचाँदीका गहना बनाउने महिला दिदिबाहिनीलाई उपलबध गराएका हौँ । महिला आयअर्जानमा पनि जोडिने र वुटवलको पुख्यौँली पेशलाई स्थापित गर्न स्थानिय उत्पादन जनशक्तिबाट आर्थिक विकासमा टेवा पुग्नेमा विश्वास्त छिन् ।
बुटवललाई समृद्ध बनाउन नगरका हरेक समुदायलाई दक्ष र सिपयुक्त बनाउन जरुरी रहेकाले त्यसमा विशेष ध्यान दिएको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बताए ।
उनले बुटवलमा बसोबास गर्ने विभिन्न जाति समुदायको उत्थाान र विकासमा समान सहभागिताका साथ आफू अघि बढेको बताए । बजारमा सुनका गहना बनाउने स्थानिय कालिगढको अभाव रहेको अवस्थामा यो तालिमबाट नेपाली कालिगढ उत्पादन र स्वारेजगार बनाउन सहयोग पुग्ने धाराणा राखे ।

गहना बनाउने स्वदेशी कालिगढ नै नभएकाले भारतीय कालिगढमा निर्भर भैरहेकोछ उनले भने यस अवस्थामा यहाँका स्थानिय युवा महिलालाई तालिम दिई कालिगढ उत्पादन गर्ने र स्वरोजगार बनि स्वदेशमै रोजगार गर्ने अवसर प्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो । सुनचाँदी व्यवसायमा पुरुष मात्र संलग्न थिए र पहिला यस्ता तालिम पुरुषको मात्र सहभागिता हुन्थ्यो भने अब महिला पनि यो व्यवसायमा रहेकाले महिलालाई पनि यस तालिममा सहभागिता गरिएको उनको भनाई छ ।
उनका अनुसार महिला सिप सिकेर आयआर्जनमा पनि जोडिने र विदेशी कालिगढ बिस्थापित भई स्थानीय स्तरकै दक्ष जनशक्ति उत्पादनमा जोड दिएर आफ्नै ठाउँमा काम गर्ने वातावरण बनाउने नगरपालिकाको मुख्य ध्येय रहेको छ ।

नगर प्रमुख पाण्डेले बुटवललाई समृद्ध बनाउन भौतिक विकास सँगसँगै मानविय विकास जरुरी छ भन्ने मान्यताका साथ सबै उमेर आवस्थाका समुदायलाई लक्षित गरि कार्यक्रम अगाडि बढाएका छौँ । बुटवलले गृहिणी महिला तथा युवाहरुलाई स्वारोजगार बनाउँदै विदेश पलायन रोक्ने उद्देश्यले गृहिणी महिला स्वरोजगार कार्यक्रम, महिला उद्यमशीलता, युवा इलम जस्ता कार्यक्रममार्फत सिप र रोजगारसँग जोड्दैँछौँ मेयर पाण्डेले बताउँछन् । नगरले कफी बनाउने, प्लम्बिङ्ग, वायरिङ्ग, कम्पूटर नेटवर्किङ्ग, कपडा सिलाई, सुनचाँदीका गहना बनाउने, टपरी बनाउने, चुरापोते बनाउने जस्ता तालिम संचालन गर्ने र स्वरोजाग बन्न चाहनेहरुलाई थप प्रोत्साहन गर्ने काम गरिरहेको बताए । यस वर्ष १ हजार महिलालाई विभिन्न सिपमार्फत उद्याममा जोड्ने गरि काम भइरहेको मेयर पाण्डेको भनाइ छ ।

वुटवल उपमहानगरपालिकाको आर्थिक सहयोग तथा सुनचाँदी व्यवसायी संघ रुपन्देहीको आयोजनामा संचालन भैरहेको तालिममा मंगलसूत्र, तिलहरी, जन्तर, नौगेडी, चन्द्रहारमा पोते, क्रिस्टल र मोतिका माला बनाउन सिकेका छन् । नगरपालिकाका १९ वडाबाट १६ महिला र ४ पुरुष गरी २० जना दक्ष कालिगढको रुपमा उत्पादन भएको पालिकाले जनाएको छ ।