फुल खेतीबाट आत्मनिर्भर बन्दै महिलाहरु
बुटवल - घरमा केही काम भएन भनेर बस्ने महिला दिदीबहिनीका लागि सैनामैना १ रानीबगिया, तिनकुनेचोककी पेमा खनाल उदाहरणीय पात्र हुन् । गृहणीकै रुपमा दिनचर्या विताउने गरेकी खनाललाई सैनामैना नगरपालीकाले आज भन्दा ५ बर्ष अगाडि निशुल्क वितरण गरेको फुलको विउबाट आफनो १ कठ्ठा जमिनमा २० हजारको लगानीमा फुल लगाउन शुरु गरेकी हुन् । एक्लो प्रयासमा शुरु गरेको भएता पनि अहिले उनको काममा परिवारका सबै सदस्यहरुको साथ र सहयोग रहेको छ । निरन्तर काम प्रतिको लगावका कारण बोलवम कृषि फर्म ( नर्सरी तथा पुष्प व्यबसाय ) दर्ता गरि तिन कठ्ठामअगाडी बेमौसमी पुष्प खेती तथा तरकारीको नर्सरीको व्यबसाय गरिरहेकी छिन् ।
विगतको वर्षको तुलनामा यस वर्ष फूलको उत्पादन बढी भएकाले स्थानीय बजारका साथै जिल्ला बाहिरबाट समेत माग आएको उनले भनाई छ । उनि भन्छन् ‘बारीमा ढकमक्क फूल फुलेको छ, तिहार भर्खरै सुरु भएको छ, तिहारको अवधिमा यहाँको सबै फूल खपत हुनेमा विश्वस्त छु । तिहारका लागि फूलको माग आइरहेको छ, उत्पादन गरेको फूल स्थानीय पालीका ,बुटवल, भैरहवा ,कपिलबस्तु पोखरा, चितवन, दाङ, काठमाण्डौ सम्म पुग्छ। बजार नपाएर फुल खेर गयो भन्ने अहिले सम्म छैन ।’
बिउमा अनुदान तथा फूलमा रोगकीरा लागेमा सोको व्यवस्थापनका लागि नगरपालिकाले प्राविधिक सहयोग गरिरहेको भन्दै फूलखेती गर्न मेहनत धेरै गर्नुपर्ने भए पनि फूल बिक्री हुँदा नोक्सानी नहुने उनको भनाई छ । सैनामैनामा उत्पादन भएको सयपत्री फूलको माला प्रतिगोटा रु. १सय देखि रु. १ सय ५० रुपिया सम्म तथा फूल प्रतिकिलो रु. ४ सय देखि ६ सय सम्ममा बिक्री हुने गरेको खनालले बताईन । खनाल हिजोआज नगरपालीका भित्र सफल महिला उद्यमीका रुपमा परिचित छिन् । उनलाई विभिन्न संघसंस्था संगै पुष्प खेती र तरकारी नर्सरीमा भ्याइनभ्याई छ । पहिले धान रोप्ने खेतमा फुल राप्ने भनेर कुरा काट्ने छिमेकीहरु अहिले उनको प्रशंसा गरेको देख्दा भने प्रफुल्लीत हुने गरेको बताईन ।
बेमौसमी फुल खेती गर्ने भएकाले स्थानीय सरकारले फुलहरु राख्न कोलस्टोरको स्थापना तथा तालिमको व्यबस्था गरिदिए आफ जस्ता उद्यमी बन्न चाहाने महिलाहरुका लागि अझ धेरै प्रोत्साहन मिल्ने उनको दावी छ ।
यता रुपन्देही तिलोत्तमा ३ जानकीनगरकी सुनिता रेग्मिले आज भन्दा ६ बर्ष अघि सुरभी कृषि फर्म ( पुष्प खेती ) दर्ता गरि आफ्नो १ कठ्ठा जमिनमा १५ हजार लगानीमा पुष्प खेती शुरु गरेकी हुन् ।
श्रीमान् गैरसरकारी संस्थाको जागिरे भएकाले आधारभूत आवश्यकताका लागि कुनै उद्यम वा काम गर्नुपर्ने बाध्यता उनलाई थिएन । श्रीमानको जागिरकै सिलसिलामा देशका विभिन्न स्थानको भ्रमण गर्ने मौका मिल्यो । छोराछोरी पढाउनका लागि लामो समय काठमाडौँ बसिन्। तर देशका विभिन्न स्थानमा गरेको भ्रमणका क्रममा देखेका हरेक घटनाहरु कारण उनि आफ्नै घर जानकीनगर फर्केर सुनिताले फूलखेती (पुष्प व्यवसाय) गर्न थालेकी हुन्।
शुरुवाती समयको एक सिजनमा तिहार लक्षित गरेर फूलखेती गरेकी सुनिताले त्यस पछि भने १० कठ्ठामा बाह्रै महिना निरन्तर फूलखेती व्यावसायिक रूपमा गर्दैै आएकी छन् भने अहिले बजार माग अनुसार नै पुख्यौली घर अर्घाखाचीमा समेत पुष्प खेती गरेकी छन् । फूलखेती बाट सबै खर्च कटाएर वार्षिक चारदेखि पाँच लाख सम्म आम्दानी गर्ने गरेको सुनिता बताउँछिन्।
सुनिता भन्छिन् ‘आफ्नै पौरखमा बाँच्नुपर्छ, केही न केही उद्यम काम गर्दा आफूसँगै अन्यले पनि रोजगारी पाउन सक्छन त्यसैका लागि पनि फूलखेती गर्न प्रेरणा मिलेको छ ।’
सुरुवाती समयमा परिवार र समाजका अगुवाले माटोधुलोसँग किन खेलेको भनेर भन्ने प्रश्न गर्ने गरेको उनले बताइन् । कतिपयले जति पैसा भए पनि नभए जस्तो गर्ने भनेर खिसिटिउरी गर्ने गरेको गुनासो समेत गरिन । त्यतिबेला अरुका कुरा नसुनी काममा लागि परेका कारण अहिले आफू मात्रै होइन, दुई जनालाई नियमित रोजगारी दिएकी छन्। फूल टिप्न र रेखदेखका लागि एक जना र नियमित माला बनाउन एक जना खटिएका छन्। मालाको माग भएका बेला छिमेकीका अन्य चार÷पाँच जना महिलालाई काम दिने गरेकी छिन ।
उत्पादन भएको फुल बिक्रि गर्न बजारको समस्या नभएको तर स्थानीय सरकारले मल, बिउको व्यवस्थापन गर्ने र महिला उद्यमीलाई प्रोत्साहन गर्न सके महिलाका लागि फूलखेती निकै राम्रो हुने उनको अनुभव छ। उनी फूलखेतीले आफूलाई सन्तुष्टि दिएको बताउछिन्।
त्यसो त एकल प्रयासमा मात्र हाईन ,समुह बनाएर फुल खेती गर्नेहरुलाई पनि यतिबेला फुल टिप्न र माला बनाएर बेच्न भ्याइनभ्याई छ , क्षितिज नमुना कृषि समुह तिलोत्तमा ४ डिङगनगरकी नविना भण्डारीको समुहले फुल खेती संगै तरकारी नर्सरी र भान खेती गर्दै आएको छ ।६ बर्ष अघि देखि करिव १ विगाहा क्षेत्रफल जग्गा भाडामा लिएर पानी नजम्ने जग्गामा बाह्रै महिना फुलखेती गर्दै आएका छन् । नविनाका अनुसार अहिले रुपन्देहीका विभिन्न संघसंस्थाका सभा समारोह तथा विवाह, व्रतबन्ध ,पुजाहरुमा फुलको माला पु¥र्याउन निकै दौडधुप गर्नुपर्छ ।स्थानिय बजार संगै छिमेकी जिल्लाहरुमा समेत फुल तथा मालाको माग हुने गरेका कारण बजारको कुनै समस्या छैन ।
भण्डारी भन्छिन् ‘पहिले रहरै रहरमा कृषि संगै फुल खेती गरेको भए पनि अहिले भने समुहका सबैको घर खर्च चलाउने आम्दानीको स्रोत भएको छ । अहिले तिहारका लागि माला तयार भइरहेको छ। फूल आवश्यक पर्ने व्यक्ति तथा संस्थाले आफूहरूलाई सम्पर्क गरेर माग गर्ने गरेका भन्दै आमउपभोक्तालाई लक्षित गरी फूल टिप्न सुरु गरिएको छ ।’
घरमा केहि काम भएन, के गरेर दैनिकी कटाउने होला भन्ने दिदीबहिनीहरुलाई कृषि व्यबसाय मात्र होइन,बत्ति काट्ने धुप बाट्ने चुरा डोरी र पोतेमाला बनाएर बजार सम्म पु¥र्याउन उनको सुझाव छ । आफनो सामान्य खर्च चलाउन श्रीमान संग हात फिजाउन नर्पने भएकाले काम ठुलो सानो हुदैन मात्र काम प्रति इमान्दारिता र मेहनत हुन जरुरी रहेको उनको बुझाई छ ।
फूल उत्पादन राम्रै हुन्छ तर गुणस्तरी बिउ नपाउँदा कहिलेकाहीँ उत्पादन कम हुन्छ भने तालिम अभावले पनि कहिलेकाही अलि ओचे भन्दा कम उत्पादन हुने गरेको उनको अनुभव छ । स्थानीय सरकारले मल, बिउको व्यवस्थापन गर्ने र महिला उद्यमीलाई प्रोत्साहन गर्न सके महिलाका लागि फूलखेती निकै राम्रो हुने उनको तर्क छ । सरकारले नेपालमै उत्पादन हुने फूलका मालाको खपत गर्ने नीति लिनुपर्ने उनको माग छ ।
त्यसो त फ्लोरिकल्चर एसोसिएसनले यसपालीको तिहारमा देशभर ३८ करोड रुपैयाँ बराबरको फूलको माला खपत हुने अनुमान गरेको छ । सयपत्री, मखमली र गोदावरी गरेर उक्त मूल्य बराबरको माला खपत हुने अनुमान गरिएको हो । एसोसिएसनका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङले तिहारबेला प्रत्येक वर्ष फूल र मालाको माग १० प्रतिशतले बढ्दै गएको बताउछन् । यसबर्ष ४५ लाख माला खपत हुने उल्लेख गर्दै उनले तिहारमा काठमाडौं उपत्यकाभित्र ६० प्रतिशत र बाहिरी जिल्लामा ४० प्रतिशत माला खपत हुने साथै ४० प्रतिशत विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको जानकारी दिए । पुष्प व्यवसायमा नेपाल ९० प्रतिशत आत्मनिर्भर भए पनि तिहारका बेला बजारमा बढी माला खपत हुँदा आयात हुने गर्छ ।
प्रतिकृया दिनुहोस्