ताजा अपडेट
ताजा अपडेट ×
ePratibimba YT
पत्रकारिता  र सूचनाको हकसँग देखिएका विकृतिका विरुद्ध महासंघ सल्यानले गर्याे खबरदारी

पत्रकारिता र सूचनाको हकसँग देखिएका विकृतिका विरुद्ध महासंघ सल्यानले गर्याे खबरदारी

बैशाख २० सल्यान

 

विज्ञापन

नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानले पछिल्लो समय जिल्लामा पत्रकारिता क्षेत्र र सूचनाको हकसँग सम्बन्धित रूपमा देखिएका विभिन्न विकृति, विसंगति र लापरवाहीहरूप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

महासंघले एक सार्वजनिक अपिल जारी गर्दै जनताको सूचना पाउने संवैधानिक अधिकारको संरक्षण, पत्रकारिताको मर्यादा र सञ्चारमाध्यमको दिगो विकासप्रति आफ्नो स्पष्ट प्रतिबद्धता व्यक्त गरेको हो ।

नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतद्वारा शनिवार जारी सार्वजनिक अपिलमा भनिएको छ, ‘जिल्लामा पछिल्लो समय केही व्यक्तिहरूले पत्रकारिताको नाममा अनधिकृत रूपमा सरकारी तथा गैरसरकारी निकायहरूमा विज्ञापन माग्ने, धम्की दिने, र अनावश्यक विल प्रस्तुत गर्ने कार्यहरू बढ्दै गएका छन्,

यस्ता कार्यले सम्पूर्ण पत्रकारिता क्षेत्रको गरिमा, विश्वसनीयता र नैतिकता माथि प्रश्न उठाएको छ, महासंघ यस्ता गैर–पेशागत प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउँछ र सबै सम्बन्धित पक्षहरूलाई यस्ता गतिविधिबाट टाढा रहन कडा आग्रह गर्दछ ।’ सार्वजनिक अपिलमा सूचनाको हकको कार्यान्वयनमा देखिएको लापरवाहीप्रति पनि गम्भीर ध्यानाकर्षण गराइएको छ। अपिलमा भनिएको छ, ‘सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार सबै नागरिकलाई सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको भए तापनि सल्यानका धेरैजसो सरकारी कार्यालयहरूले सूचना प्रकाशन तथा प्रवाहमा लापरवाही देखाइरहेका छन्। धेरै कार्यालयको वेबसाइट अद्यावधिक छैन, सूचना बोर्डहरूको प्रयोग नगर्ने प्रवृत्ति छ, सार्वजनिक सुनुवाइ नगर्ने र नागरिकले मागेको सूचना दिनबाट जोगिने प्रवृत्तिले नागरिक अधिकार कुण्ठित भइरहेको छ ।

Open photo

’साथै, पत्रकार महासंघले सामाजिक सञ्जालमा सार्वजनिक पदमा बसेका केही व्यक्तिहरूबाट पत्रकारविरुद्ध अभद्र र तथ्यहीन टिप्पणीहरू गरिने क्रम बढेकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ । पत्रकारिताको चरित्र हत्या गर्ने, अपमान गर्ने र समाजमा भ्रम फैलाउने यस्ता कार्यहरूको तत्काल अन्त्य हुनुपर्ने महासंघको भनाइ छ ।

अपिलमा लोककल्याणकारी विज्ञापनको पहुँचमा देखिएको असमानता र अपारदर्शिताप्रति पनि चिन्ता व्यक्त गरिएको छ ।
‘जिल्लामा सञ्चालित स्थानीय एफएम, पत्रिका र अनलाइन सञ्चारमाध्यमहरू स्वरोजगारको आधारमा सञ्चालन भइरहेका छन्, तर, पारदर्शी मापदण्डको अभावमा ती सञ्चारमाध्यमहरू पर्याप्त विज्ञापन नपाएर आर्थिक संकटमा छन्, विज्ञापन वितरणमा स्पष्ट कार्यविधि नहुनु नै यस समस्याको मूल कारण हो’ अध्यक्ष रावतको भनाइ छ ।

महासंघले श्रमजीवी पत्रकारहरूको श्रम अधिकार र पेशागत सुरक्षाको सुनिश्चितता, जनताको सूचना पाउने अधिकारको संरक्षण, र पत्रकारिता क्षेत्रभित्र व्याप्त विकृति–विसंगतिको अन्त्यका लागि सबै सरोकारवाला पक्षलाई जिम्मेवार, संवेदनशील र सक्रिय बन्न आह्वान गरेको छ ।

‘हामी विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सुचनाको हकको संवैधानिक मर्मअनुसार पत्रकारिताको मर्यादा जोगाउन प्रतिबद्ध छौं’ सार्वजनिक अपिलमा उल्लेख भनिएको छ । यसैविच ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा दीप प्रज्ज्वलन गरिएको छ । सल्यानको खलंगास्थित नेपाल पत्रकार महासंघमा जिल्ला अध्यक्ष डिल्लीराज रावत, सचिव बुद्धि पुन लगाएतका पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागितमा दिउँसो सरसफाई तथा बेलुका दीप प्रज्ज्वलन गरिएको हो ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता