कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका जिल्लाकै उत्कृष्ट

कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका जिल्लाकै उत्कृष्ट

फागुन ९,सल्यान 

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा शारदा नगरपालिका यस वर्ष जिल्लामा उत्कृष्ट भएको छ । १० स्थानीय तहमध्ये शारदा नगरपालिकाले सबैभन्दा बढी अङ्क ६२ दशमलव ९२ प्राप्त गरी जिल्लामा उत्कृष्ट भएको हो । शारदा नगरपालिका उत्कृष्ट हुँदा बागचौर नगरपालिका भने पुछारमा रहेको छ । बागचौरले सबैभन्दा कम ३९ दशमलव ०९ प्रतिशत अङ्क मात्र प्राप्त गर्न सफल भएको छ ।

जिल्लामा ३ नगरपालिका र ७ गाउँपालिका रहेका छन् ।  कालीमाटी गाउँपालिकाले ५१ दशमलव  ८६, त्रिवेणी गाउँपालिकाले ५१ दशमलव ०८ प्रतिशत, अङ्क ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् । यस्तै दार्मा गाउँपालिकाले ५० दशमलव ६७, कुमाख गाउँपालिकाले ४९ दशमलव ०३, बनगाड कुपिण्डे नगरपालिकाले ४५ दशमलव १०, सिद्ध कुमाख गाउँपालिकाले ४६ दशमलव ५३, छत्रेश्वरी गाउँपालिकाले ४८ दशमलव ७८, र कपुरकोट गाउँपालिकाले ४६ दशमलव २२ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १९ सूचकलाई मध्यनजर गर्दै प्रदेशको समेत कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।

सोही अनुसार कर्णाली प्रदेशले भने २५ दशमलव ९ अङ्क प्राप्त गरेको हो । यसमा लेखा परीक्षण, बेरुजु फर्छ्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रूपमा राखिएको छ ।

‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मूल्याङ्कन गरेर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा प्रदेश तथा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता