जनयुद्धको त्यो दुःखद घटना : जूनताराहरु पनि रोएको जुनेली रातमा

जनयुद्धको त्यो दुःखद घटना : जूनताराहरु पनि रोएको जुनेली रातमा

मंसिर१४ सल्यान  डिल्ली मल्ल  

माओवादी जनमुक्ति सेनाका डिजिभन कमाण्डर रोल्पाका किमबहादुर थापा (सुनिल) र सल्यानका बटालियन कमाण्डर झक्क प्रसाद पुन (निर्मम) सहिद भएको आज १७ वर्ष पुगेको छ।

विज्ञापन

१७ वर्षअघि आजकै दिन २०६२ मंसिर १४ गते बेलुकी सल्यान र रोल्पाको सिमाना जिनाबाङको मनिमारेमा तत्कालीन शाही सेनाको हवाइ हमलामा परी माओवादी जनसेनाका माथिल्लो तहका दुई जना कमाण्डर मारिएको त्यो पहिलो घटना थियो।

त्यही घटनामा प्रत्यक्ष सहभागी तत्कालीन माओवादीसम्बद्ध साास्कृतिक मोर्चाको सदस्य डिल्ली मल्लले घटना भएको केही समयपछि लेखेको यो संस्मरण सम्पादन नगरी जस्ताको तस्तै प्रकाशन गरिएको छ। –सम्पादक

हिउँदयामको ठिहिर्‍याई, बुँरासेको लेक! नाङ्गा खुट्टाले तुसारो छिचोल्दै सेन्ट्री पोष्टकै छेऊमा छोटो भलाकुसारी गरेको त्यो बिहान नै उनीसँगको अन्तिम भेट भयो। थाहा त थियो मलाई– हामी सबैलाई। एक न एकदिन जरुर छुट्टिनु पर्नेछ। पृथ्वीको भार भए पनि, प्रकृतिको उपहार भए नि, जसले जे भने पनि यो धर्तीमा पाइला टेकिसकेपछि एक न एकदिन जरुर जानुपर्छ नै– सांसारिक झमेलाबाट मुक्त भएर। तर, यति छिट्टै, यति सजिलै र यति आकस्मिक छुट्टिनुपर्ला भन्ने मैले सोचेकै थिइँन।

आखिर किन त्यसदिन उनले थोरै भए पनि मसँग सुख दु:खका कुराकानी गरे होलान्? किन काँधमा धाप मार्दै उज्वल भविष्य र सफलताको कामना गरे होलान्? साँच्ची! भोलिको बिहान नउदाउँदै उनी सांसारिक झमेलाबाट दूर भैसक्नेछन् भन्ने थाहा भैदिएको भए…..? खैर, यो त फगत कल्पना मात्र हो।

०६२ मंसिर १४ को त्यो बिहान! अस्थायी सेन्ट्री पोष्टकै छेऊ बाँझको बोटमुनि ओभानो ठाउँ खोजेर गफिएका थियौं हामी– कमरेड निर्मम र म। थोरै गाउँघरका बारेमा, अलिकति साहित्य र साँस्कृतिक आन्दोलनका बारेमा अनि केही सैन्य जीवनका दिनचर्या र प्रत्याक्रमणको दोस्रो योजनाका बारेमा।

घाम उदाउनुपूर्व नै भएको त्यो भेटमा उनले मलाई धेरै हौस्याएका थिए, कलम चलाइरहन प्रेरणा दिएका थिए, केही सल्लाह सुझाव र निरन्तर क्रियाशीलताको आग्रह पनि। भेटमा उनले आफ्नो भर्खरै प्रकाशित कथा संग्रह ‘अभ्यस्त सिपाही’ मलाई दिने वाचा पनि गरेका थिए। तर, उनीसँगको त्यो भलाकुसारीपछि अर्को बिहान नउदाउँदै उनको सहादत भयो। र, सहादतसँगै उनको कृति पनि गुमनामजस्तै बनेको छ अहिलेसम्म।

३/४ दिनदेखि हामी बुँरासेमै थियौं– सल्यान दमाचौरको बुँरासे गाउँमा। विशाल जमघट थियो माओवादी नेता, कार्यकर्ता, जनसेना र साँस्कृतिक कर्मीहरुको– करिब ४ हजारको संख्यामा। कार्यक्रम थियो, केन्द्रीय आधारइलाकामा कार्यरत जनमुक्ति सेना नेपाल पाँचौं डिभिजनको घोषणा तथा रणनीतिक प्रत्याक्रमणको दोस्रो चरणको योजना सम्प्रेषण।

ठाउँ–ठाउँमा त्रिपाल टाँगेर मेष चलाइएको थियो भने गाउँकै छेऊमा रहेको खुल्ला चौरमा ठूलो हल बनाइएको थियो– कार्यक्रमका लागि। त्रिपालले ढाकेर बनाइएको उक्त हलको माथिबाट खर्सु, बाँझ र अरु स्याउलाले छोपिएको थियो– कार्यक्रम ‘एक्सपोज’ हुनबाट जोगाउन र दुश्मनको सम्भावित आक्रमणबाट बच्न।

चिसो निकै बढेको थियो। एकातिर शाहीकालको संकटलकाल– अमेरिकी सरकारको सहयोगप्राप्त विशेष जासुसी विमानको दिनदिनैको निगरानी, हेलिकोप्टरको हवाई गस्ती, अर्कोतिर पहाडको टाकुरो, हिउँदयामको ठिहिर्‍याइमा लत्ताकपडाको अभाव। जेनतेन गाउँलेहरुको सहयोग, माया ममता र स्नेह, आफैले बोकेका केही कम्बल र स्लीपिङ ब्याक अनि खर्सु र बाँझका पातको ओछ्यानले २/४ रात सन्तोषपूर्वक नै बिताइयो बुँरासेमा। तर, विडम्बना ! जुन दिन हामी हिड्नु थियो त्यहाँबाट, त्यही दिन अर्थात् २०६२ मंसिर १४ को त्यो साँझ! बडो दुर्भाग्यपूर्ण, बडो दुर्दशापूर्ण र अत्यन्तै पीडादायक बन्न पुग्यो।

भन्छन्– ‘दिनको संकेत बिहानीले गर्छ।’ त्यसदिन बिहानैदेखि निको चाला त देखिएको थिएन। अघिल्लो दिन साँझ एकैछिन बुँरासेको आकाशमा उडेको जासुसी विमान त्यसदिन बिहानै दुइटा हेलिकोप्टरसहित हामीलाई ओछ्यानमै भेट्ने गरी आइपुगेको थियो।

बिहान दश नबज्दै जासुसी विमान र दुईवटा हेलिकोप्टरले डल्सिङ्गेदेखि पाथीहाल्ना, बुँरासे, जथाक एवं झिम्पे लेकको जंगल क्षेत्र र आसपासको आकाशमा दशौंपटक हवाई गस्ती गरिसकेका थिए।

यता बुँरासे गाउँमा भने हलभित्रको कार्यक्रम सकिइसकेको थियो र खुल्ला सभामा जनमुक्ति सेनाको डिभिजन घोषणा गर्ने कार्यक्रम बाँकी थियो। आधिकारिक रुपमा ब्रिगेडस्तरको सैन्य संरचनामा रहेको माओवादीले आजैदेखि देशभर पाँच वटा डिभिजनको घोषणा गर्ने कार्यक्रम थियो। जसले गर्दा शाही सत्तालाई ठूलो संकट र आतंक आइलागेको थियो।

बिहान दश बजेतिर खाना खाइवरी खुला सभाका लागि कार्यक्रम स्थल सल्यान र रोल्पाको सिमाना मनिमारेतर्फ लागियो। जनसेना, कार्यकर्ता र स्थानीय सर्वसाधारणको ठूलो फौज मनिमारेतिर लागिरहँदा आकाशमा जासुसी विमान र हेलिकोप्टरको हवाई गस्ती जारी थियो।

स–साना खर्सु, गुराँस र बाँझका बुट्यानहरुको पातलो जंगलमा त्यति धेरै मान्छेहरु चाहेर पनि छिप्न सक्ने अवस्था थिएन। हामी जति मनिमारेको नजिक पुग्दै थियौं, हेलिकोप्टर र विमान हाम्रो थाप्लै माथि–माथि पो उड्न थाले।

कार्यक्रमस्थल नजिकको टाकुरामै हेलिकोप्टर ल्याण्ड गर्न खोजेपछि जनसेनाले आक्रमण गरिहाल्यो। जनसेनाको आक्रमणबाट क्षतिग्रस्त हेलिकोप्टर हतार–हतारमा सल्यान खलंगातिर हुाइकियो। बाँकी लडाकु हेलि र जासुस विमान पनि एकैपटक फर्किए।

शाही सेनाको हवाई गस्ती र जनसेनाको जवाफी आक्रमणपछिको स्थितिको मूल्याङ्कन गर्दै कमाण्डर र नेतृत्वले तत्कालै दिउँसो ११ बजे गर्ने भनिएको कार्यक्रम साँझ ३ बजे गर्ने निर्णय गरी सबैलाई उच्च सतर्कताका साथ जंगल, टाकुरा र घरभित्र बस्न निर्देशन जारी गरे।

दिउँसो ३ बजेतिर चारैतिरबाट मनिमारेको फिल्डमा जनसेनाहरुको ओइरो लाग्ने क्रम शुरु भइसकेको थियो। कमिलाको ताँतीजस्तै निस्किएको जनसेनाहरुको लहरले एकैछिनमा मनिमारेको चौर पूरै भरियो। र, कार्यक्रम शुरु भयो। जनसेनाहरुलाई रोलकल गराउँदै डिभिजन कमाण्डर किमबहादुर थापा ‘सुनिल’ले पाँचौं डिभिजनको विधिवत् घोषणा गर्नुभयो।

कार्यक्रममा तत्कालीन केन्द्रीय आधारइलाका ‘राप्ती क्षेत्र’का ईन्चार्ज नेत्रविक्रम चन्द ‘विप्लव’, जनमुक्ति सेनाका डेपुटी कमाण्डर नन्दकिशोर पुन ‘पासाङ’, तत्कालिन पाँचौं डिभिजनका राजनैतिक कमिस्नर हेमन्तप्रकाश ओली ‘सुदर्शन’लगायतका नेताहरुको उपस्थिति रहेको थियो। कार्यक्रम अबेर शुरु भएकोले चिसो बढिसकेको थियो। तैपनि पहिलो पटक डिभिजनस्तरको फर्मेशन घोषणा गर्न पाउँदाको गर्व, जोश, जाँगर र उत्साहले चिसोको पर्वाह नै नगरेको जस्तो भान हुन्थ्यो।

आधारइलाकामा कार्यरत प्रतिरोध साँस्कृतिक परिवारका कलाकारहरुको क्रान्तिकारी र विद्रोही भावका गीतसंगीत एवं डिभिजन कमाण्डर सुनिलको जोडदार कासन अनि युवा नेता विप्लवको सान्दार भाषणले सायद जनसेनाका प्रत्येक सदस्यहरुको नसा–नसामा रक्तप्रवाह तीव्र भइरहेको थियो।

बिस्तारै सूर्य हराउन खोज्दै थिए– पश्चिमी क्षितिजमा। सम्मुखमै उभिएको जथाक र पारि–पारि क्षितिजमा आकाशै छोएझैं देखिने सिस्ने, च्याखुरे, रमका र बल्लजुरे हिमालमा थोरै मात्र रातो घाम बाँकी थियो। निलो आकाशमा अब त घामका राता किरणहरु प्रष्टै देखिन थालिसकेका थिए। गोधूली साँझको पश्चिमी क्षितिज झन् रातो देखिन्थ्यो। पश्चिमतिर चार/पाँचवटा घर र गोठहरुबाहेक सबैतिर जंगलले घेरिएको मनिमारेको फिल्ड खचाखच भरिएको थियो– जनसेना र जनसमुदायको फौजले।

सायद घडिमा त्यस्तै ५ बजेको हुनुपर्छ, यता कार्यक्रम चलिरहेको थियो– मञ्चमा जनसेनाका डेपुटी कमाण्डर पासाङ बोलिरहनुभएको थियो। एक्कासी मनिमारेको आकाशमा जासुसी विमान देखियो, सँगसँगै लडाकु हेलि पनि। बिहान जनसेनाको आक्रमणपछि पत्तासाफ भएको विमान एकैपटक साँझ पो देखियो। आकाशमा विमान र हेलिले चक्कर काट्न थालेपछि आक्रमण गर्ने करिब–करिब निश्चितजस्तै भइसकेको थियो। दुश्मनले विमान र हेलीबीच एकआपसमा कुरा गरेको हामीले रेडियो सेटमा स्पष्टसँग सुनिरहेका थियौं। विमानबाट हेलिलाई बारम्बार ‘छिटो आक्रमण गर’ भनेर निर्देशन दिइरहेको थियो भने हेलिबाट ‘ख्वैं कहाँ छन्, त्यहाँ चौरमा त रातो झण्डाबाहेक केही छैन’ भनिरहेको थियो।

दुश्मनको योजना खुलिसकेपछि डिभिजन कमाण्डर सुनिलले सबैलाई आ–आफ्नो आर्क र जंगलतिर जान निर्देशन दिनुभयो र जनसेनाहरु निर्देशनबमोजिम आ–आफ्नो आर्क र जंगलतिर दौडिए।

मञ्चमा केही साथीहरु सामान राख्दै हुनुहुन्थ्यो, त्यत्तिखेरै हेलिले एचएमजी, जीपीएमजी, मोर्टारलगायतका अत्याधुनिक हतियारबाट अन्धाधुन्ध हमला गरिहाल्यो। एकैछिन अघिसम्म शान्त मनिमारे, बुँरासे, जथाक र आसपासको क्षेत्र बमगोलाको गर्जनले थर्किन थाल्यो।

यता जनसेनाहरु बाँझ, ओखर, खर्सु र गुराँसका बोटहरुको कभर लिदै जंगलैभरि छ्याप्छ्याप्ती भरिए।

त्यसपछिको स्थिति, ख्वैं? मैले कुन शब्दमा लेखुँ युद्धमैदानको सघन अनुभूति? खुट्टामुनिको जमीन जोत्दै पड्किने मोर्टार र कानैनिरबाट सुइकिने गोलीका पर्राहरुको बीचमा बाँचिरहदाको असीमित आतंक र आक्रोश। गोलीका पर्राहरुले भाँचिएका रुखका हाँगाहरु टाउकैमाथि खस्दा लाग्थ्यो, हामी पनि पालो पर्खिरहेका छौं।

अरु कता–कता दौडिए? के–के सामान लिएर गए? थाहा नै भएन। आफू त झोला र मेण्डुलियन बोकेर व्यानर तान्दै थिए, छेऊमै गोलीले धूलो उडाउन थाल्यो, त्यसपछि जंगलतिर टाप कसें। बडो विडम्बना त यो भयो कि साथमा भिडियो क्यामेरा हुँदाहुँदै हवाई हमलाको दृश्य लिन सकिएन। कारण– ब्याट्रीको चार्ज सकिएको थियो। हुन त ब्याट्री चार्ज गर्नलाई हामी विद्युत् सुविधा भएको ठाउँमा कहिल्यै जान पाएनौं, जाने अवस्था पनि थिएन। एउटा मात्रै ब्याट्री, सधैं सोलार ब्याट्रीबाट चार्ज गर्ने हो त्यो पनि जहाँतहीं आजभोलिको जस्तो सम्भव थिएन। त्यसदिन झनै चार्ज गर्न नै पाइएको थिएन।

एकतर्फी हवाई हमला जारी थियो। केही जनसेनाहरु र हामी चौरदेखि त्यस्तै डेढ सय मिटर तल स–साना बुट्यान र झाडीमुनि घुस्रिएर बसेका थियौं। बाँझ र खर्सुका पातले गोली त छल्दैनथे। तर, हामी कस्ता हुस्सु ! त्यही दृष्टिकभरमा लुकेर सुरक्षित ठानिरहेका थियौं। र, अरुलाई के भयो? भनेर चिन्ता गरिरहेका थियौं। करिब २० मिनेटजतिको लगातार हमलापछि विमान र हेलि दुवै फर्किए। उनीहरुको फर्काईसँगै एकमनले ढुक्क हुँदै झाडीबाट त बाहिर निस्कियौं तर कसलाई के भयो? भन्ने भयानक सन्त्रास, आशंका र चिन्ताले छट्पटाउँदै हतार–हतार पहिलेकै फिल्डमा आइयो।

त्यसपछि…..

हामी चौरमा निस्किदै गर्दा कोही रोएको आवाज सुनियो। चौरको डिलबाट देख्यौं– चार/पाँच जना साथीहरुले कसैलाई उचालेर जंगलतिर लिदै थिए। पछि कसैले यतिमात्र भन्यो– ‘डिभिजन कमाण्डर सुनिललाई टाउकोमा गोली लागेको छ।’ उसको बोलीमा धर्मराहट थियो, त्यो भन्दा बढी सन्त्रस्त थिए उसका आँखाहरु। लाग्थ्यो– ‘कमाण्डर कमरेड सायद अब बाँच्नुहुने छैन।’ उसका आँखाहरु यस्तै बोलिरहेका थिए।

हामी जति थियौं चौरमा– त्यस्तै ४/५ जना । सन्त्रस्त, भयभीत र आतंकित आँखाले एक अर्कालाई हेर्नुसिवाय अरु केही बोल्न नै सकेनौं। एउटा भयानक सन्त्रास, कमाण्डर कमरेडको सम्भावित सहादतको आतंकले आधा चेत नै गुमेजस्तो भयो।

अब त अँध्यारो भइसकेको थियो– गाढा रातो गोधूली साँझको पश्चिमी क्षितिजबाहेक। नजिककै साथीको अनुहार ठम्याउन पनि नसकिने बेला भइसकेको थियो। अलि–अलि गर्दै तितरवितर भएको टोली चौरमा जम्मा हुन थाल्यो। अस्पष्ट, अपुष्ट खबरले सबैतिर आतंकित बनाइरहेको थियो, खासखुस चलिरह्यो– करिब १५/२० मिनेटजति। केही समयपछि तल जंगलको छेऊबाट आएको चर्को रुवाई र कोलाहलले मुटु नै छेडेर गयो। त्यतिञ्जेलसम्मको सन्त्रास, भय र आतंक यथार्थतामा पुष्टि भइसकेको थियो।

डिभिजन घोषणा भएकै दिन पाँचौं डिभिजनले कमाण्डर गुमाएर टुहुरो भइसकेछ। कमाण्डर सुनिलको सहादत भइसकेछ। त्यतिखेरै अर्को सनसनी फैलियो चौरमा– ‘बटालियन सहायक कमाण्डर निर्ममको पनि सहादत भयो।’ कसैले सुनाउँदै थियो अरु कमरेडहरुलाई– ‘तल खोलामा पछाडिबाट लागेको गोलीले उत्तिबेलै निर्ममजीको पनि सहादत……।’

मैले शब्दमा लेख्न सक्तिनँ, शोकाकूल परिवेशको त्यो सघन अनुभूति। युद्धमैदानमा आफ्नै आँखाअगाडि जीवनसंगी गुमाउनुपर्दाको पीडा बाग्मती थापाले कसरी सहनुभयो ? छोरा विजय र छोरी दिव्यज्योती पनि त्यही थिए। दुई/दुई जना होनहार प्रतिभा, बहादुर, क्षमतावान् कमाण्डर र सहयोद्धाको अप्रत्याशित क्षति, खै? कुन शब्दमा लेख्ने पूरै स्तब्धता र शोकमा डुबेको त्यो विशाल फौजको असीमित पीडा?

जनमुक्ति अभियानका राता सिपाहीको त्यो विशाल फौज फेरि पनि मनिमारेको त्यही चौरमा जम्मा भएको छ– बिल्कुलै फरक परिवेशमा। दिउँसोको त्यो उत्साह, खुसीयाली र हर्षोल्लास पूरै फेरिएको छ– स्तब्धता, भयानक सन्त्रास र वर्गवैरीप्रतिको तीव्र घृणा एवं आक्रोशमा।

रात क्रमश: बितिरहेछ– सँगसँगै बढिरहेछ हिउँदयामको ठिहिर्‍याई पनि। जूनको धिमा प्रकाश धर्तीमा असरल्ल पोखिएको छ। लाग्छ, जून पनि रोइरहेछ। र, रोइरहेछन् लाखौं लाख ताराहरु पनि– क्रान्तियात्राका दुई धु्रवताराको आकस्मिक मृत्युवरणमा।

पूर्वी क्षितिजमा लस्करै देखिन्छन् काला–काला ढिस्काहरुजस्तै सिस्ने, च्याखुरे, रमका र बल्लजुरेहरु– लाग्छ, वीरयोद्धाहरुको बलिदानीमा उनीहरु पनि शोकमग्न भई मौनधारण गरिरहेछन्। हिउँदयामको ठिहिर्‍याई, चिसो–चिसो सिरेटो र शरीरै भिजाउने शीतलहर पनि निष्प्रभावी भइरहेछ– वियोगको यो सघन पीडाबीच।

जून पनि रोएको यो जूनेली रातमा काला–काला देखिने सयौं मानवाकृतिले मनिमारे पूरै ढाकिएको छ। झुण्ड–झुण्डबाट सुक्क–सुक्कसँगै निस्किएको हृदयविदारक चित्कार र टाढा कतै भुकिरहेका कुकुरको मधुरो भुकाइबाहेक सुनसान– पूरै सुनसान छ चारैतिर।

पूरै निस्तब्ध, पूरै शोकाकूल छ परिवेश। लाग्छ, पीडाको यस घडिबीच हावा पनि शोकमग्न भई मन्द–मन्द बहिरहेछ।

उनीहरु– क्रान्तियात्राका बहादुर सिपाहीहरु कमरेड सुनिल, कमरेड निर्मम हँसिया हथौडाअंकित रातो झण्डा ओढेर चुपचाप सुतिरहेछन्– चीर निन्द्रामा।

दिनभर सुदूर भविष्यको लक्ष्य देखाउँदै हेरिरहेका आँखाहरु अहिले पूरै एकोहोरिएका छन्, टोलाइरहेका छन्, अहँ कहिल्यै नचिम्लिने गरी। हाँस्दै, रमाउँदै चल्मलाउने ओठहरु मौन छन्, स्थीर छन्– पूरै मौन, पूरै अविचल।

मान्छे भएर जन्म लिइसकेपछि मन, मुटु र मानवता बोक्नै पर्दोरहेछ– चाहेर/नचाहेर पनि। अनि विछोडमा रुँदोरहेछ मन, घोच्दोरहेछ मुटु र दुख्दोरहेछ मानवता। तर, खै के गर्नु र निष्ठूर समयको नियतिसँग? जतिसुकै पीडाको पहाडले थिचे पनि। युद्धको यो अपरिहार्यता, बाध्यता र निर्ममता सहनै पर्दोरहेछ– आशावादले बाँधेर मन।

………..जबर्जस्त सह्यौं त्यसैगरि।

र, त्यसपछि…….

जूनको त्यो धिमा प्रकाशमा ती ओजस्वी वीरहरूका अविचल शरीरलाई आफ्नै हातले मनिमारेकै माटोमुनि पुर्‍यौं। र, चिहानमाथि रातो झण्डा गाडेर अन्तिम सलामीसहित गन्तव्यका लागि बाटो लाग्यौं– असह्य पीडा, गह्रौँ जिम्मेवारी र वर्गवैरीप्रतिको तीव्र घृणा अनि आक्रोश बोकेर।

अन्तिम गन्तव्यका निम्ति थालिएको त्यो महान् यात्रा अझैं जारी छ।

श्रोत हल्कारा न्युज 

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता