सल्यान ईतिहासः तस्वीरमा सिमीत फालावाङ दरवार

सल्यान ईतिहासः तस्वीरमा सिमीत फालावाङ दरवार

माघ ७ सल्यान

फोटो पत्रकार बामदेव केसी ।

सल्यान जिल्लाको साबिक फालाबाङ गा.वि.स. र हालको त्रिवेणी गाउँपालिकामा यो पर्दछ । वाइसे चौविसे राजाहरुको पालामा निर्माण भएका कोट,दरबार,किल्लाहरु राज्यबाट संरक्षण पाउन नसक्दा अस्थित्वनै मेटिएको छ ।

वि.सं.१८८५मा निर्मित यो ऐतिहासिक महत्वको फालाबाङ दरवार पनि उचित संरक्षणको अभावमा अहिले तस्वीरमा मात्र सिमित हुन पुगेको छ ।बाइसे राज्यमा पर्ने सल्यानको इतिहास लामो छ । नेपाल एकिकरणको बेला वि.सं.१८४३ मा दाङका राजा नबल सिंह लडाइमा मारिएपछी उत्तराधिकारी दिलेर सिंहले पुरा दाङको राज्य सञ्चालन गर्न सकेनन् । वि.सं.१८६५ मा सल्यान राज्य नेपालमा एकिकरण हुदा दाङ पनि नेपालमा नै मिल्न गयो ।

वि.सं.१८९४ मा सल्यानी राजाको वंशज तेज वहादुर शाहलाई राजाको पद र पश्चिम दाङ फालाबाङको राज्य प्रदान गरियो । त्यसपछि पश्चिम दाङ र फालावाङ क्षेत्रको शासन फालाबाङ बाट सुरुहुन थाल्यो । नेपाल भारत असमान सुगौली सन्धि हुनुपूर्व फलाबाङ्गी राजाको प्रशासनिक क्षेत्र विशाल थियो । फालाबाङ राजाहरु रत्ननाथका भक्त थिए ।

सिद्ध रत्ननाथलाई उनिहरुले कुल देवताको रुपमा पुजा गर्दथिए । त्यसैले फालाबाङ दरबारमा पनि रत्ननाथको मन्दिर बनाएका थिए । त्यतिबेला फालाबाङ राजाहरु भारतको बलरामपुर स्थित पाटनदेवी मन्दिरको पनि दर्शन गर्न जाने गर्दथिए । दाङ घोराही स्थित चौघेरा रत्ननाथ र पाटनदेवी दाजु बहिनीको सम्बन्ध रहेको छ भन्ने विस्वास गरिन्छ ।

त्यसैले गर्दा फालाबाङ राजाहरुले आफ्नो प्रशासन चलाउन सजिलो होस भन्नाको लागी फालाबाङ पुरानो दरबार,माझ दरबार र नयाँ दरबार समेतगरी पाँचवटा दरबार निर्माण गरेका थिए । तस्वीरमा देखिएको संरचना वि.स १९५७ मा निर्माण सुरु गरी वि.सं. १९६९ मा सम्पन्न भएको थियो । कलात्मक स्वरुप निर्माण गरिएको यो दरबार छाउनको लागी जस्तापाता बेलायत बाट ल्याईएको थियो ।

१५५ झ्याल र ५५ कोठाको बेलायती शैलिको यो दरवारमा गद्दी बैठक, कचहरी बैठक, पुजा कोठा, मोठ कोठा आदी पनि छुट्टा-छुट्टै व्यवस्था गरिएका थिए । दरबार परिसरमा वि.सं. १९६१ देखी कालिका मन्दिर र शिवालय पनि निर्माण गरिएको थियो ।

पुरातात्वीक हिसावले पनि फालावाङ र थर्कोटको पहाड महत्वपूर्ण मानिन्छ । एशियाकै ठूलो उपत्यका दाङको गहनाको स्वरुप देखिने थर्कोट आसपासका ऐतिहासिक सम्पदाको बारेमा अध्यन अनुसंन्धान हुन सकेको छैन ।

फालाबाङका राजाहरु भारतमा वि.सं. १९६२ साल देखि कोइलाबास नजिक जरुवा भन्ने स्थानसम्म रेलको यातायात संचालन भएदेखि काठमाडौं अथवा भारतिय अन्य भूमिमा जादा फालाबाङ, दाङ तुलसिपुर हुदै भारतको बलरामपुर स्थित पाटनदेवी मन्दिरमा बास बस्दै यात्रा गर्नेक्रम सुरु भयो ।

राज्य सञ्चालनको क्रममा ६-६ महिना दाङ र फालाबाङ गर्नुपर्ने हुदा वि.सं. १९८८–९१ को बिचमा हाल अञ्चल अस्पताल रहेको स्थान तुलसिपुरमा ३५ कोठाको दुईतले पक्की दरवार पनि बनाएका थिए ।

पछि राज्य रजौटा ऐन उन्मूलन भएपछि २०२१ सालमा ५ विघा ६ कट्ठा १२ धुर जमिन भित्रको तुलसिपुरको दरबार १ लाख ६५ हजार मा फालाबाङ राजा गेहेन्द्र बहादुर शाहले सरकारलाई विक्री गरेका थिए । जनयुद्ध ताका दरबार रेखदेखको जिम्मा पाएका स्थानिय व्यक्तिहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेका कारण बेवारिसे बन्न पुगेको यो दरबारले आफ्नो अस्तित्व गुमाउन गयो ।

श्रोतः सल्यान दस्तावेज

सामाजिक न्याय र दलित मानवअधिकारकाे लागि हाम्रो पत्रकारिता